चुनावसँगसँगै सीमा फेरबदल लोकतन्त्रकै उपहास – ओली

June 28, 2017

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव भइरहँदा सीमा परिवर्तन गर्न खोज्नु लोकतन्त्रको उपहास भएको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रको सुदृढीकरणमा बल नपुग्ने बताए ।

जनादेशको सम्मानका लागि निष्पक्ष चुनाव हुनुपर्नेमा जोड दिँँदै अध्यक्ष ओलीले जननेता भण्डारीद्वारा प्रतिपादित जनताको ‘बहुदलीय जनवाद’ मा स्थानीय सरकार स्वायत्त र सुशासनयुक्त भएमा मात्र जनताको आर्थिक–सामाजिक रुपान्तरण हुनसक्ने विचार समेटिएको बताए ।

नेपाली काँग्रेसका डा रामशरण महतले भण्डारीको दूरदर्शीताको सराहना गर्दै स्थानीय तहलाई जति धेरै अधिकार प्रत्यायोजन गर्न सकिन्छ त्यति धेरै जनता सबल हुने धारणा राखे ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले स्वायत्त स्थानीय तथा प्रदेशका संरचना सामाजिक न्याययुक्त समृद्ध नेपाल निर्माणको आधार भएको बताए ।

सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक डा शिवजी यादवले शक्ति केन्द्रका रुपमा जनतालाई स्थापित गर्न देशमा निर्वाचनको खाँचो रहेको बताए ।

फाउन्डेसनले धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । यो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

सम्बन्धित समाचार