जम्बो टोलीका साथ प्रधानमन्त्री ओली चीन प्रस्थान

June 19, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोलीकासाथ चीन भ्रमणमा निस्केका छन्। प्रधानमन्त्री ओलीको टोली एक सय १९ सदस्यीय रहेको छ ।

 चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहान ९ बजे हिमालयन एयरलाइन्सको जहाजबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन्।

मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

चीन भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य, रेलमार्ग निर्माण लगायत महत्वपूर्ण सम्झौता हुने श्रोतले जनाएको छ। केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ।

त्यस्तै भ्रमणमा नेपाल–चीनबीच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाईन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ।

प्रधानमन्त्री ओलीले चिनियाँ समयअनुसार बुधबार अपराह्न ४ बजे चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको भ्रमण दलका पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापामगर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली, परराष्ट्रविद् डा। राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा। राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्यसचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राजदूत लीलामणि पौड्याल, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणासहितका उद्योगी व्यवसायी, पत्रकार लगायत सहभागी छन्।

सम्बन्धित समाचार