पाँहा चह्रे (घोडे जात्रा)

April 19, 2019

अजय छोचूँ-

भानुभक्तले देखेको अलकापुरी कान्तिपुरी नगरीको श्रेय तत्कालीन नेवा समुदायलाई जान्छ । नेवा कुनै जाति विशेष होइन एक सुसंस्कृत, सभ्य र परिश्रमी समुदाय थियो र हो भन्ने थुप्रै उदाहरण छन् ।

काठमाडौँ खाल्डो मुख्य तः काठमाडौँ, ललितपुर र भक्तपुरलाई नेपा तथा नेपा गा (नेपाल मण्डल) भनिन्थ्यो । तत्कालीन बाइसे चौबिसे राज्यहरु र कतिपय सीमा नजिकका भारतीय राज्यहरुले नेपाल भन्थे । मल्ल कालमा बाइसे चौबिसे राज्यहरुमा विनिमयका लागि नेवा टक (मुद्रा) प्रचलनमा थियो । मल्ल कालको उत्तराद्र्धमा गोरखाले नुवाकोट जितेपछि नेवाको सहयोगमा गोरखाका राजाको पहिलो टक(मुद्रा) छापियो ।

सामाजिक, आर्थिक तथा प्रशासनिक दक्ष नेपाको निपूर्ण राज्य व्यवस्थालाई तत्कालीन विदेशी यात्रीहरु तथा लेखकहरुले उद्धृत गरेको पाइन्छ । बाइसे, चौबिसे तथा अन्य राज्यहरुमा नेपाबाट सामाजिक, आर्थिक, प्रशासनिक सुशानका लागि सहयोगी टोलीहरु पठाइन्थ्यो ।
राजा जयस्थिति मल्लको पालामा कामका आधारमा वर्गीकृत जातीय व्यवस्थालाई उन्नत समुदायको ज्वलन्त उदाहरण मान्न सकिन्छ । नेवाहरु व्यवहारिक ज्ञानमा जोड दिने गरेको कुरा मनाइने चाडहरुबाट थाहा पाइन्छ । नेवा (नख) चाडपर्वहरु क्रतु, सामाजिक तथा आर्थिक उद्देश्य तथा परिणाममूलक छन् । हरेक चाड (नख) स्वास्थ्यदेखि लिएर सांस्कृतिक, सामाजिक तथा आर्थिक पक्षलाई बलियो बनाउनेतर्फ इंगित गर्दछ । सरदर महिनाको एउटा चाड नेवाहरुले मनाउने गरेका छन् । हरेक चाड व्यक्ति, समुदाय, राज्य अनि धर्मसँग गाँसिएको पाइन्छ । हिन्दु र बौद्ध धर्मको एकबद्ध समिश्रण नेवा समुदाय हो वा भनौँ धार्मिक सहिष्णुता नेवा समुदायको आदर्श हो । बसाइ सराइको साथै नेवा समुदायले आफ्ना चाडपर्वलाई सँगै लगेको पाइन्छ । देशका विभिन्न ठाउँमा मात्र होइन विदेशमा पनि नेवा चाडपर्वहरु विस्तारित हुँदै छन् । कतिपय अन्य जाति तथा देशलाई नेवा चाडपर्वहरुप्रति चाख बढेको पाइन्छ । यसबारे कतिपय अध्ययन तथा अनुसन्धानमा पनि गरिएका छन् ।

अमेरिकामा नेवा समुदाय ३०÷३५ वर्षदेखि बसाइ सराइ गर्दै आएको पाइन्छ । अमेरिकाको विभिन्न भागमा छरिएका नेवाहरुमा जनघनत्वका आधारमा हजारौंको संख्यामा नेवाहरु न्युयोर्क सहरमा छन् । न्युयोर्कमा नेवा समुदायको उत्थान तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले दुईवटा नेवा संस्था कार्यरत छन् । ती दुईमध्ये एक नेवा नख हो । सन् २०११ देखि नेवा नख नेवा चाडपर्वहरु तथा रितिरिवाज संरक्षण तथा सम्बद्र्धनमा अथकरुपमा लागिपरेको छ । हरेक वर्ष इही, म्हःपूजा, नेपाल संवत् क्यालेन्डर प्रकाशन साथै सबैजसो चाडपर्वहरु मनाउँदै आएको छ । नखहरु मनाउने क्रममा ससाना केटाकेटीहरुमा उक्त नखको अर्थ, महत्व तथा सामान्य जीवनमा उक्त नखबाट पर्ने अनुकूल प्रभावबारे व्याख्या गरिन्छ । साथै नेवा नखले चाडहरुमा खाइने विशेष तथा विभिन्न परिकारका खानाहरु किन खाइन्छ भन्नेबारे पनि भोलिका पिढीलाई जानकारी दिँदै आएको छ ।

नेवाहरुले मनाउने चाडहरुमध्ये एउटा महत्वपूर्ण चाड हो पाँहा चह्रे हो । हालै नेवा नखले न्युयोर्कको क्विन्समा यो चाड मनाएको छ । पाँहा चह्रे पिशाच चतुर्दशीका दिन पर्छ । पाँहा भनेको पाहुना र चह्रे भनेको चतुर्दशीपर्व हो । यस दिन लुकु महादेव अर्थात् लुकेर बसेको महादेवको पूजा गरिन्छ । सामान्यतया लुकु माहाद्य रछ्यान फाल्ने ठाउँ वरिपरि तथा चोक ढल पर्ने कुनातिर हुने गर्दछ । लुकेर बसेको महादेवको स्थानलाई खाल्डो पारी शिवलिंग आधी जमिन मुनि आधी जमिनमाथि राखी लुहवु वहवु अर्थात विशेष प्रकारको पहेंलो र सेतो फूल सजाइ पाला बालेर चटामरी, मासु तथा हरियो लसुनसहित अन्य परिकार चढाइ पूजा गरिन्छ । भनिन्छ यस दिन लुकु महाद्योलाई पूजा गर्दा वरिपरिका दुष्टआत्माहरु भाग्दछन् । पाँहा चह्रेलाई लिएर अन्य किम्वदन्तीहरु पनि छन् । महादेव मासु खानका लागि पिशास रुप लिई लुकिबसेको पनि भनिन्छ । यो दिन महादेवले मासुका विभिन्न परिकार खान्छन् ।

त्यस्तै एउटा रोचक कथा छ । धेरै वर्ष पहिले एक असुरले तपस्या गरेपछि महादेव प्रसन्न भई बरदान लिन भने । असुरले जो कोहीलाइ छोए पनि भष्म हुने बर मागे । महादेवले तथास्तु भनी बरदान दिए । असुर तत्काल महादेवलाई छुन दौडे । महादेव भाग्दै जमिनमुनि लुक्न पुगे । विष्णुले चाल पाई असुर सामु प्रकट भई असुरलाई बरदान सत्य हो कि होइन भनी आफ्नो शिरमा हात राखी जाँच गर्न भने । नभन्दै असुरले हात राखे र भष्म भए । त्यसपछि उक्त असुरलाई भष्मासुर भनियो । अनि पूजाआजा गरी महादेवलाई लुकेको ठाउँबाट बाहिर ल्याएको भनिन्छ । पाँहा चह्रे कान्तिपुरमा मात्र मनाइने हुँदा यस दिन आफन्त तथा साथीभाइलाई बोलाइन्छ । पाटनका वासिन्दाहरु पाटनका राजाले बन्देज गरेका हुँदा सहभागी हुँदैनन् । भक्तपुर तथा बनेपा अन्य ठाउँबाट यस चाडमा कान्तिपुर आउँछन् । यो चाड तीनदिनसम्म मनाइने हुँदा पाहुनाहरु तीन दिन कान्तिपुर बस्ने पुरानो चलन छ । पाहुनाहरु तथा आफन्तहरु बोलाउने चलन अझै छ ।

पाँहा चह्रेको दिन साँझपख लुकुमहोद्योको पूजा चोक बहाल अनि टोलहरुमा गरिन्छ । सोही दिन राति नरदेवीमा न्युतमरु अजिमा अर्थात श्वेतकालीको नाच हुन्छ । दोस्रो दिनमा पनि अजिमा देवीहरुको भेट गराउने तथा नाच हुन्छ । पाँहा चह्रेको तेस्रो दिन असनमा तीन अजिमाहरुको भेट हुन्छ । यसलाई द्यो ल्वाकेगु भनिन्छ । यो बेलामा पानसको दियो साट्ने चलन छ । तीनै अजिमालाई चटामरी तथा अन्य परिकारले स्वागत गरिन्छ ।

पाँहा चह्रेको दोस्रो दिन घोडेजात्रा हो । यसको चलन नेपाल संवत् ५०० तिरबाट सुरु भएको देखिन्छ । यसमा विभिन्न किम्वदन्ती छन् । भनिन्छ कुनै परापूर्व कालमा टुँडी नामको दानवको आत्मालाई जमिनमुनि दवाउन घोडाको टापले चोट पु¥याउने गरिन्थ्यो । जति जति घोडा दौडन्छ टापको जोडले आत्मा दविन्थ्यो । यस्तैगरी गुरुमापा राक्षसको आत्मालाई घोडाको टापले दवाउने अर्को किम्बदन्ती छ । जे होस् दानवमाथि मानवको विजयको हर्षोल्लासमा घोडेजात्रा मनाउने गरिन्छ ।

सम्बन्धित समाचार