अभाव [कविता]

June 23, 2019

  • पदमा लिंखा मगर-

म एउटा पात्र
अभावै अभावमा बाँचिरहेको
हो जब म सानो थिएँ
मेरो वरिपरि अभावै अभाव थिए
आफ्नो पाखोबारीमा उब्जेको मकै गहूँको ढिंडो
अनि जंगलको तरुल, गिट्ठा भ्याकुर, साग सिस्नो
आदि इत्यादि खाएर
आमाको न्यानो काखमा खेल्दै
चुहिने झुपडीमा हुर्केको म

फाटेका लुगाहरू
मिल्ने गरी अझ च्यातेर
अनि कतै टालेर लगाउनु पर्थ्यो
खाली खुट्टाले चिसोमा हिंड्नु पर्थ्यो
खेल्ने साधन थिएन
नजिकको खोलामा पौडी खेल्ने
अनि रुखतिर झुन्डिएर पिङ खेल्ने गर्थें
डाँडाभरि परेका सेताम्य हिउँमा
खाली खुट्टा गाह्रो मान्दै हिंड्ने गर्थें

म कति सपना देख्थें
शहरका ठूला ठूला महल
चिल्ला सडकमा पाइला राख्न र
गुडने बस कारहरू एकपटक
छुन मात्र पाए पनि हुन्थ्यो
मेरा बाल्यकालका यी अनगिन्ति सपनाहरू
पटक्कै पूरा गर्न सकिन
यतिकै ओइलाएर गए
सोच्थें यो मनमा कति चिन्ता छ
अभावै अभावको
यी सब बाहेक मेरो मनमा
अरु कुनै चिन्ता थिएन

दिन बित्दै गए म पनि हुर्किंदै गएँ
पढाइको शिलशिलामा बिस्तारै
सहरको बसाइ हुन थाल्यो
मेरो अभाव अझ बढेर गयो
गाउँको खोला झरनाको अभाव
घरको साग सिस्नोको अभाव
आमाको न्यानो काखको अभाव
हिउँ हेर्नको लागि पैसा र समय खर्च गरेर
चोभार अनि नगरकोटसम्म पुग्नु पर्थ्यो

ती सारा अभावहरूलाई पनि थाँती राखेर
आज ठूलै सहरमा बसाईं सरेको छु
अहिले मेरो राम्रै कमाइ हुन्छ
आफ्नो कमाइले
राम्रो लाउन मिठो खान सक्छु
साथमा पैसा नभएको खण्डमा पनि
सोच्नसाथ जे चाह्यो
क्रेडिट कार्ड घोटेर नै भएपनि किन्न सक्छु
पहिले मसँग भएको
कुनै अभाव भनाउँदो अहिले छैन
तर अहिले त छुट्टै यति भयंकार अभाव छ कि
मलाई खाली खुट्टा हरियो चौरमा हिंड्न मन पर्छ
तर मसँग घर नजिक त्यो चौर छैन
त्यसैले त चिल्लो गाडी चढेर
टाढाको हरियो चौरमा पुग्छु
रमाउँदै शीतमा खाली खुट्टा हिंड्छु
धित मरुन्जेल अर्ग्यानिक साग सिस्नो खान मन छ
कन्दमूल खान मन छ
तर त्यो क्षमता अहिले ममा पटक्कै छैन
त्यसैले त ममा अभाव छ

हो म आजकल सद्दे लुगालाई
काटेर चिथोरेर, च्यातेर
अनि टालेर लगाउँछु
पहिलेको वाध्यता अहिले
रहर र फेशन भएर फर्केको छ
चिल्लो सडक आलिशन महल महँगो गाडी
सबथोक मेरो वरिपरि छ
तर अझै म अभावमा छु
चिल्लो सडकको छेउमा
कतै हरियो घाँस देख्यो कि
उही टालेको च्यातेको लुगा र खाली खुट्टासँग
नयाँ मोडेलको फोन तेर्स्याएर
शानदार सेल्फी लिन थाल्छु

छङ्छङ् खस्ने छाहरामा भिज्न मन छ
कलकल बगेको खोलामा
पौडी खेल्न मन छ
बाँसको टुप्पो समातेर चचहुईं खेल्न मन छ
तर म यी सब चिज कहाँ पाउँछु र
यसको मलाई अभाव छ
कामले थाकेर घर आइ
आमाको न्यानो काखलाई सिरानी बनाएर
एकछिन् बिश्राम गर्न मन छ
यी यावत कुराको मलाई अभाव छ

पहिले खड्किएका सबै सबै कुरा पाएर पनि
म फेरि अभावै अभावमा गुज्रिरहेको छु
हो मसँग जे छ त्यो कहिल्यै देख्दिन
जे छैन त्यसैको अभावलाई सधैं नियालिरहन्छु
त्यसैले त म सधैं
अभावै अभावमा बाँचिरहेको छु
मसँग भएका करोडौंमा नपाइने
महत्वपूर्ण चिजको कहिल्यै मूल्यांकन गरिन
मानौं आफूसित भएको एउटा मात्र अंग गुमेको भए
कति रकम बराबरको नोक्सान हुने थियो होला
मेरो एउटै मात्र अभावले
यी सारा अभावहरू खड्काइदियो
हो एउटै अभाव
‘सन्तुष्टि’ को अभाव !
अभावले मलाई गाँजेको होइन
मैले पो अभावलाई गाँजेको रहेछु
मलाई चाहिं भ्रमले गाँजेको रहेछ
त्यसैले त म अहिलेसम्म
अभावै अभावमा बाँचिरहेको छु

अब मात्र एउटा प्राप्ति पाए
जुन कहीं खोज्नू पर्दैन
मेरो मनभित्रै छ
त्यो हो ‘सन्तुष्टि’
यसले सारा अभावलाई
हुरीले कागज उडाए झैं उडाइदिनेछ
यति भए म कहिल्यै अभावमा बाँच्नु पर्दैन
मभित्र यो ‘अभाव’ शब्दको सधैं अभाव रहनेछ
अभाव मबाट सधैं सधैंका लागि
कहिल्यै नफर्किने गरि धेरै टाढा वसाईं सर्नेछ
त्यसपछि त म सधैं सम्पन्न बन्नेछु ।

सम्बन्धित समाचार