वृद्धाश्रममा बाच्नु परेकाहरुको कथा ‘पाहुना घर’ सार्वजनिक

February 24, 2018

काठमाडौं । साहित्यकार लक्ष्मण तिवारीको उपन्यास पाहुनाघर सार्वजनिक भएको छ ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, समालोचक महेश पौडेल र उपन्यासकार जितेन्द्र रसिक र इटर्नल प्रकाशन प्रालिका प्रवन्ध निर्देशक यमुना पराजुलीले संयुक्त रुपमा सार्वजिनक गरेका हुन् ।

गोरखाका स्रष्टा तिवारीको उपन्यास पाहुना घरमा वर्तमान समयका छोराछोरी आफ्ना बाबुआमा प्रति गैर जिम्मेवार बन्दै गएको समस्यालाई उपन्यासमा उठान गरेकाले पनि नेपाली समाज र परिवार कुन अवस्थामा छ भन्ने बुझ्न उपन्यासले सजिलो बनाएको लेखक रसिकले बताए ।
पाहुना आफूलाई जन्म दिएर मार्ग देखाउने बाबुआमालाई वृद्धाश्रममा राखेर आफु एस आरामको जिन्दगी बाँचिरहेका मेसिन म्यान का साथै संवेदनहिन छोराछोरी र बुढेसकालमा सक्षम सन्तान भएर पनि बेवारिसे मृत्युवरण गर्नु परेका आमाबाबुहरुको दर्दनाक कथा उनिएको रसिकको भनाइ छ ।

त्यस्तै समालोचक महेश पौडेलले उपन्यास पाहुना घर को समालोचना गर्दै नेपाली समाज र परिवार र सम्वन्धमा देखिदै गएको पर्खाल भत्काउन उपन्यासले काम गर्ने बताए । लघु आकारको भएर पनि नेपाली समाज र परिवार विच नै हराउँदै गरेको आत्मियता मान्छे भित्रको मान्छे र मर्दै गएको वर्तमान युगको विषयमा लेखिएको उपन्यास पाहुनाघर नेपाली समाजमा रहेका परिवारहरुको एना भएको बताए ।

विमोचन समारोहमा अतिथि गीतकार संघका अध्यक्षले स्रष्टा तिवारी गजल लेखनमा सक्रिय रहेकाले तिवारीले आख्यानमा पनि कलम चलाउनु राम्रो पक्ष भएको तर तिवारीलाई गजल लेखन नै सुहाउने भन्दै टिप्पणी गरे । उपन्यास इटर्नल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । उपन्यासको मुल्य २ सय २५ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार