सरिफपछिको पाकिस्तानको राजनीति

September 3, 2017

बीके नेवा

नवाज सरिफले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै पाकिस्तानको राजनीतिले अर्कै मोड लिएको छ । पनामा पेपर्स प्रकरणलाई लिएर त्यहाँको सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि सरिफले राजीनामा दिएका हुन् । पाकिस्तान स्वतन्त्र मुलुक बनेयताको सात दशकको इतिहासमा एक पटकमात्र सरकार र संसद्ले पूर्ण कार्यकाल सम्पन्न गर्यो अरु समय अस्थिरता, अल्प कार्यकाल, सैन्य शासनमै बित्यो । यसै कारण पाकिस्तानको प्रजातन्त्रको जग बलियो बन्न सकेन । राजनीतिक दल, नेता र नेतृत्वले सही ढङ्गले काम गर्न नपाउँदा अस्थिर राजनीति नै पाकिस्तानको विशेषता बन्न पुगेको छ । राजनीतिक अस्थिरता,जातीय तथा धार्मिक विवाद, आतङ्वादी समस्या र छिमेकी भारतसँगको कटुता प्रमुख चुनौती रहेको पाकिस्तानमा सरिफपछिको राजनीति कता जाने हो ? गम्भीर प्रश्न खडा भएको छ ।

दुई वर्षअघि सन् २०१५ मा पनामा पेपर्स प्रकरणमा सरिफ र उनको परिवारको नाम मुछियो । विदेशमा अवैधरुपमा कारोबार गरी कर छलेको र भ्रष्टाचार गरेको भन्ने आरोपमा गठित छानविन समितिले सरकारलाई प्रतिवेदन बुझायो । सोही प्रतिवेदनको आधारमा सरिफविरुद्ध कारबाहीको माग गर्दै पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । इजाज हसन, एजाज अफजल, सइद शोख, असिफ सइद खोसा र गुलजार अहमत सम्मिलित पाँच सदस्यीय सर्वोच्चको संयुक्त इजलासले सरिफलाई सार्वजनिक पदमा बस्न अयोग्य भन्दै दोषी ठहर गर्यो । अदालतले सरिफलगायत उनकी छोरी मर्यम, ज्वाईं सफदर, अर्थमन्त्री इसाक दर लगायत थुप्रै पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउनुपर्ने निर्देश गरेको छ । अदालतको फैसलालगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिएका सरिफको सांसद पदमात्रै होइन राजनीतिक भविष्यसमेत धरापमा परेको छ । एउटा राजनीतिक नेताका लागि यो भन्दा दुःखद् घटना अरु के हुनसक्छ ? यो प्रकरणले सरिफको राजनीतिक भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ ।

पञ्जावका सफल उद्योगपति सरिफ सन् १९७० को दशकमा राजनीतिमा लागे । सन् १९८० को दशकदेखि नै उनीमाथि भ्रष्टाचारको आरोप लाग्यो तर उनले ती आरोप अस्वीकार गर्दै आएका । सरिफ तीन—तीन पटकसम्म मुलुकको प्रधानमन्त्री बने पनि तर सफल प्रधानमन्त्री बन्न सकेनन् । सन् १९९० मा पहिलोपटक प्रधानमन्त्री बनेका उनी तीन वर्षमै पद त्याग्नु पर्यो । दोस्रो पटक सन् १९९७ मा प्रधानमन्त्री बनेको सरिफ सन् १९९९ मा सैन्य कु गरी पर्वेज मुसर्रफले सत्ता हातमा लिएपछि मृत्युदण्डको सजायसम्म सुनाइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट व्यापक दबाब परेपछि मृत्युदण्डको मुखबाट जोगिए र आठ वर्ष निर्वासनमा बिताए। साउदी अरबमा निर्वासनमा गएका उनी सन् २००८ मा स्वदेश फर्के र फेरि राजनीतिमा सक्रिय भए । सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग —नवाजले सन् २०१३ को संसदीय आमनिर्वाचनमा बहुमत ल्याएपछि उनी तेस्रो पटक प्रधानमन्त्री बने । तेस्रो कार्यकालमा उहाँले तालिवान विद्रोहीसित वार्ता गर्नेदेखि लिएर भारतसँगको सम्बन्ध सुधारका लागि प्रयास गरे तर सफल भएनन् । अन्ततः कार्यकाल पूरा नगर्दै भ्रष्टाचार प्रकरणले राजनीतिबाटै हात धुनुपर्ने अवस्था सिर्जना भयो । यो प्रकरणले आगामी वर्ष हुने संसदीय आमनिर्वाचनमा उनको पार्टीलाई धक्का लाग्नसक्ने सम्भावना बढ्दै छ ।

सरिफले राजीनामा दिएपछि सत्तारुढ दल पाकिस्तान म्ुस्लिम लिग नवाजले पूर्व पेट्रोलियममन्त्री साहिद खकान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीरुपमा प्रस्तुत गर्यो । त्यहाँको ३४२ सदस्यीय संसद्मा उहाँ २२१ मत ल्याएर प्रधानमन्त्री निर्वाचित भए । उनी अन्तरिम प्रधानमन्त्री मात्रै हुन् । उनलाई प्रतिस्थापन गर्न सत्तारुढ दलले सरिफका भाइ साहबाज सरिफलाई ल्याउने भएको छ ।

तत्काल काम चलाउन निर्वाचित प्रधानमन्त्री अब्बासले आफूलाई पदको लोभ नभएको जति दिन कुर्चीमा बसे पनि देश र जनतको पक्षमा काम गर्ने र मुलुकलाई सही मार्गमा लैजाने बताएका छन् । तर, उनलाई पनि काम गर्न सजिलो छैन । अस्तव्यस्त अवस्थामा रहेको मुलुक आन्तरिक र बाह्य दुवै दुवै कारणले गम्भीर मोडमा छ । कमजोर शान्तिसुरक्षा, राहत नपाएका सर्वसाधारण जनता, अनियन्त्रित भ्रष्टाचार , छिमेकी भारतसँग झन् चिसिएको सम्बन्ध, मौका खोजिरहेको सैनिक नेतृत्व, कठोर बन्दै गएको न्यायालय, बढ्दो आतङ्कवादी गतिविधिजस्ता यावत् समस्यासँग जुध्नुपर्ने चुनौतीबीच आउनुभएका अब्बासीले जनविश्वास जित्न निकै मिहिनेत गर्नुपर्ने अवस्था छ । संसद्मा प्रमुख विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी (जसले यसअघिको संसदीय आमनिर्वाचनमा बहुमत ल्याएर इतिहासमै पहिलो पटक पूर्ण कार्यकाल सरकार चलायो)सँग मिलेर काम गर्नुपर्ने बेला आएकाले पनि अब्बासले लचिलो नीति लिनुपर्ने भएको छ । सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच राष्ट्रिय हित र जनसरोकारका विषयमा साझा सहमति हुन सकेन साथै अस्वस्थ प्रतिस्पर्धा भयो, बेमेल भयो भने प्रजातन्त्रकै भविष्य खतरामा पर्नसक्छ किनभने राजनीतिक दलहरु कमजोर भएकै अवसरमा सैनिक विद्रोह गरी सत्ता हातमा लिने इतिहास छ । राजनीतिक दलहरुप्रति न्यायालय र सैन्य नेतृत्व कठोर बन्ने अवस्था अन्त्य नभएकोले प्रजातन्त्र जोगाउन दलहरु मिल्नुको विकल्प छैन ।

आन्तरिक राजनीति परिपक्व नभएको पाकिस्तानले छिमेकी भारतसँग सम्बन्ध सुधार गर्नै सकेन । सन् १९४७ मा बेलायती उपनिवेशबाट भारतको मुक्तिसँगै चरम जातीय र धार्मिक हिंसाबीच टुक्रिएको यो मुलुकले ७० वर्षको इतिहासमा भारतसँगै तीनवटा युद्ध लडेको छ । दुवै देशबीच शत्रुवत् व्यवहार छ । भारतबाट पाकिस्तान टुक्रिने क्रममा भएको जातीय तथा धार्मिक नरसंहारमा १० लाखभन्दा बढी मानिस मारिए , एक करोड २० लाखभन्दा बढी मानिस शरणार्थी बने । सन् १९७१ मा पाकिस्तानबाट बंगालादेश टुक्रियो । यस घटनमा पनि ठूलो नरसंहार भयोे । करिब ३० लाख मानिसको ज्यान गयो । पाकिस्तान टुक्र्याउन भारतले खेल खेल्यो भन्दै पाकिस्तानले आरोप लगाउँदै आएको छ । अविश्वास कतिसम्म छ भने नयाँदिल्ली र इस्लामावादबीचको दुरी ७०० किलोमिटर पनि छैन तर सिधा हवाई उडानसम्म छैन । दुवै मु्ुलुक क्रिकेटप्रेमी छन् तर एकआपसमा भारत र पाकिस्तानमा क्रिकेटसम्म खेल्दैनन् । विश्वकै लामो भूराजनीतिक तनाव झेलिरहेका यीदुवै मुुलुकका लागि कास्मिर विवाद नै सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । दक्षिण एसियाका ठूला र आणविक शक्ति सम्पन्न यी दुई मुलुकबीचको द्वन्द्वले दक्षिण एसियाको क्षेत्रीय सुरक्षा र शान्ति कमजोर भएको छ ।

सम्बन्धित समाचार