नयाँ मुलुकी एेन सच्याउन माग गर्दै पत्रकार महासंघ सरकारविरुद्ध उत्रिँदै

September 6, 2018

काठमाडौं। नेपाल पत्रकार महासंघले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।  भदौ १ बाट लागु भएको मुलुकी एेन पत्रकारिताविरुद्ध रहेको भन्दै महासंघले भोलि काठमाडौंको नयाँ बानेश्वर प्रदर्शन गर्न लागेको हो।

बिहिवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रदर्शन गर्न लागेको जानकारी दिएका हुन्।पत्रकारहरुले भोलि बानेश्वरमा कलम, क्यामेरालगायत लिएर सांकेतिक विरोध जुलुश निकाल्ने उनले बताए ।

अध्यक्ष आचार्यले नयाँ मुलुकी एेन पत्रकारिता जगतविरुद्ध रहेको आरोप लगाउँदै सरकार पञ्चायती शैलीमा चल्न थालेको बताए । वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने  कानुनलाई सच्याउनको आफूहरुले सरकारसँग माग गरिसकेको उनले बताए ।

आचार्यले ऐन नसच्चिए आफूहरु सरकारविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिए

प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले मुलुकी अपराध संहिता साधारण कानुन भएकोले यसको घेराभित्र मिडिया र पत्रकारलाई राख्नु गलत भएको बताए।  उनले भने, ‘पत्रकार महासंघले पनि प्रेसको लागि छुट्टै विशेष कानुन बनाउनुपर्छ भनेर माग्नुपर्ने हो ।’

सम्बन्धित समाचार