Everest Times

स्वाइनफ्लुले एकजनाको मृत्यु, सचेत रहन अाग्रह

स्वाइनफ्लु (इन्फ्लुएन्जा एच१एन१ भाइरस) का कारण काठमाडौंमा एकजनाको मृत्यु भएको छ । ललितपुर छम्पी निवासी ५२ वर्षीया नारायणी थापाकोे स्वाइनफ्लुका कारण गत २० चैतमा मृत्यु भएको हो । सरकारले नेपालमा स्वाइनफ्लुका बिरामी नभएको बताएका वेला ललितपुरको सुमेरु अस्पतालमा उपचार गराइरहेकी थापाको मृत्यु भएको अस्पताल प्रशासन प्रमुख दिनेश आचार्यले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई १६ चैतमा सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । ‘आमा र छोरी दुवै बिरामी भएर अस्पताल आउनुभएको थियो,’ आचार्यले नयाँ पत्रिकासँग भने, ‘आमाको अवस्था गम्भीर भएका कारण तत्काल भेन्टिलेटरमा राखेर उपचार थाल्यौँ । छोरीलाई सामान्य समस्या भएकाले सामान्य बेडमा राखेर उपचार सुरु गर्यौँ । तर, आमालाई औषधिले काम नगरेपछि रोग पत्ता लगाउन विभिन्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायौँ । स्वाइनफ्लु पोजेटिभ देखिएपछि सोहीअनुसार उपचार सुरु गरेका हौँ ।’ स्वाइनफ्लुको पर्याप्त औषधि नभएकाले थापाकोे स्वास्थ्य अवस्था कमजोर बन्दै मृत्यु भएको उनले बताए । छोरी विजेता थापालाई पनि आमाबाट स्वाइनफ्लु भाइरस सरेको आचार्यले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्