अमेरिकामा संघर्ष गर्दै नर्स बनिन् पेमा तामाङ, ‘बुवाले बिरामीका घाउखटिरा सफा गरेको देखेदेखि लक्ष्य पक्रें’

May 22, 2019

एभरेस्ट टाइम्स/न्युयोर्क

नर्स बन्ने सपना बोकेर पेमा तामाङ सन् २००८ मा अमेरिका आइपुगिन् । अन्ततः उनको सपना साकार भएको छ । उनले यही वर्ष मास्टर्स अफ साइन्स इन नर्सिङ पूरा गरेर फेम्ली नर्स प्राक्टिस्नर्स भएकी छिन् ।

काठमाडौंमा एक महिने प्रिनर्सिङ कोर्स गरेर आएकी पेमाले शुरुका वर्षहरूमा निकै संघर्ष गरिन् । अध्ययनको लागि आवश्यक आर्थिक भार बोक्नु उनको लागि ठुलो चुनौती बन्यो । छिटो र सजिलो गरी अध्ययनलाई अघि बढाउने कउन्सिलिङको खाँचो उत्तिकै थियो । उनले हिम्मत हारिनन् ।

न्यु मेक्सिको राज्यको शान्ता फे कम्युनिटी कलेजबाट उनले अध्ययनलाई अगाडि बढाइन् । खर्च जुटाउन एक घरमा न्यानी बनिन् । बच्चाको हेरचाहदेखि स्कुल पुर्‍याउने लिन जानेलगायत घरको काममा सघाउने र केही समय बचाएर कलेज पुग्ने उनको दैनिकी बन्यो । उनले भनिन्, ‘काम र पढाइको भार बोक्नु परे पनि म कहिल्यै थाकिनँ । शुरुका वर्षहरूमा निकै अत्यास लाग्थ्यो तर हरेश खाइनँ । घरमा आमाले पकाई दिनु भएको खानाको याद बहुत आउँथ्यो तर मनलाई दह्रो पारेँ । किनभने नर्स बन्ने सपना मेरो मात्र थिएन । मेरो आमा र बाबाको पनि सपना थियो । मैले त्यसलाई जसरी भए पनि साकार पार्नु थियो । त्यसैले मैले आफ्नो अठोटलाई बलियो बनाउँदै गएँ ।’

पेमाले सन् २०१३ मा एसोसिएट इन नर्सिङ डिग्री पूरा गरिन् । उनको पढाइको नतिजा राम्रो भएकोले केही छात्रवृत्तिसहित युनिभर्सिटी अफ न्यु मेक्सिको अन्तर्गतको स्कुल अफ नर्सिङमा ब्याचलर्स अफ साइन्स इन नर्सिङको लागि भर्ना पाइन् । साथै युनिभर्सिटी हस्पिटलमै नर्सिङसम्बन्धी काम पनि भेट्टाइन् । पढाई र काममा आउनजानमै उनको दैनिक तीन घण्टा जति खर्च हुन्थ्यो । पढाई अगाडि बढ्दै गएकोले उनको उत्साह र हिम्मत पनि बढ्दै गयो । उनले सन् २०१५ मा ब्याचलर्स अफ साइन्स इन नर्सिङ डिग्री पूरा गरिन् । त्यसपछि उनले पहिले आफू पढेकै कम्युनिटी कलेजमा पढाउन थालिन् ।

उनले पढाईको गतिलाई झनै तीव्र पार्दै लगिन् ।

अन्ततः २०१९ स्प्रिङको ग्राजुएसन पेपरमा उनको नाम मास्टर्स अफ साइन्स इन नर्सिङ डिग्री पूरा गर्नेमा लेखियो । यसका साथै उनले अमेरिकामा नर्सिङ पेशाको क्रेडेन्सियल मापन गर्ने संस्था अमेरिकन नर्सिङ क्रेडेन्सियल सेन्टरको परीक्षा पनि पास गरी प्रफेसनल नर्स बनेकी छिन् ।

नर्स बन्ने प्रेरणा कसरी भयो भन्ने प्रश्नमा पेमाको जवाफ यस्तो थियो, ‘म सानी छँदा बुवाले जहिले पनि अरूको घाउ सफा गरी उपचार गरेको देखेर म प्रभावित भएँ । बुवा ट्रेकिङ पेशा गर्नु हुन्थ्यो । उहाँले गाउँघरमा घुम्दा अरूका घाउ खटिरा सफा गरेका फोटोहरू ल्याएर देखाउनु हुन्थ्यो । मेरी छोरी पछि डाक्टरनर्स बनेर यसरी अरूको सेवा गर्नु पर्छ है भन्नु हुन्थ्यो ।’ उनले सम्झिँदै थपिन्, ‘त्यसैको प्रभावले होला मेरो सातौँ जन्मदिनमा मेरो काकाले सरप्राइज दिनु भएको जन्मदिनको रेडियो कार्यक्रममा प्रस्तोताले नानु ठुलो भएर के बन्छ्यौ भनेर सोध्दा मैले ‘डाक्टर’ भनेछु । त्यो भनाइलाई बाबाले पछि पनि बेला बेला सम्झाई रहनु हुन्थ्यो । मलाई नि अझै त्यो सम्झिँदा रमाइलो लाग्छ ।’

पेमाले यतिमै पढाई रोक्न चाहेकी छैनन् । उनी नर्सिङबाटै विद्यावारिधी गर्ने सोचमा पुगेकी बताउँछिन् । नेपाल फर्केर स्वास्थ्य क्षेत्रमा काम गर्ने चाहना पनि उनले मनमा पालेकी छिन् । ‘उहिले बाबाले उपचार गर्नु भएको घाउहरु झलझली याद आइरहन्छ र त्यस्ता घाउहरु निस्कनै नदिने गरी काम गर्ने मेरो चाहना छ,’ पेमाले भनिन् ।

आफ्नो लक्ष्यमा अडिग रहेर निरन्तर मेहेनत गर्नु नै सफलताको सूत्र भएको पेमाको भनाई छ । उनको विचारमा मेहेनत कहिल्यै खेर जाँदैन तर निरन्तर चाहिँ गर्नै पर्छ । यसका साथै आपतविपतमा सहयोग र सधैँ इन्करेज गर्ने मान्छेहरू हुँदा मेहेनत गर्न जाँगर लाग्ने उनी बताउँछिन् । निरन्तर लगनशील र मेहेनतले गर्दा अमेरिकामा सफलता प्राप्त गर्न सकिने उनको भनाई छ । उनका अनुसार अमेरिकामा अध्ययन गर्ने विद्यार्थीले डकुमेन्टहरू सधैँ अपडेट राख्नु पर्दछ । उनी भन्छिन्, ‘नेपालमा जस्तो भनसुन चाहिँ यहाँ चल्दैन ।’

सम्बन्धित समाचार