मोडलिङ र मिडियामा छाउने चाहना छ–पिंकी घिसिङ, मिस तामाङ

May 18, 2017

यसपटक काठमाडौं सोह्रखुट्टेकी पिंकी घिसिङले ‘मिस तामाङ–२०१७’ को ताज पहिरिन सफल भइन् । ताजसँगै उनले एकलाख नगद पाएकी छिन् भने एक वर्षका लागि सिभिल ग्रुपको एम्बासडरको जिम्मेवारी पाएकी छन् । एभरेस्ट फेसन होम र नेपाल तामाङ कला संस्कृति केन्द्रको संयुक्त आयोजनामा भएको दसौं संस्करणमा ३५ जना युवती उपाधिका लागि प्रतिस्पर्धामा उत्रेकी थिइन् ।
मिस तामाङको हरेक तयारी कक्षामा ध्यानपूर्वक सहभागी भएकोले पनि आफुलाई उक्त ताज मिलेको उनको दाबी छ । जेभियर एकेडेमीमा १२ पढ्दै गरेकी कमर्सकी विद्यार्थी उनी क्लास टपर पनि हुन् । नृत्यमा सौखिन उनी पौडी खेल्नमा पनि रुचि राख्छिन् । उनको मुख्य लक्ष्य बिजनेस वुमन बन्ने छ । उनै मिस तामाङ पिंकी घिसिङसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

टप फाइभमा पुगेपछि ‘एक जना तामाङकी छोरी नेपालको प्रधानमन्त्री बन्न सक्छ कि सक्दैन ? किन र कसरी ?’ भन्ने प्रश्न कतिको गाह्रो लागेको थियो ?
खासै अप्ठेरो लागेन । किनभने नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । पहिलो प्रधानन्यायाधीस सुशीला कार्की हुनुहुन्छ । त्यसैगरी पहिलो सभामुख ओनसरी घर्ती मगर हुनुहुन्छ । यसैगरी कुलमान घिसिङले पनि राम्रो काम गरिरहनु भएको छ । यी उदाहरण हेर्दा नै तामाङ महिला प्रधानमन्त्री बन्न सकिन्छ भन्ने लाग्यो । त्यही आधार बनाएर उत्तर दिएँ ।
कसरी बन्न सकिएला, यसमा तामाङहरुको सबल पक्ष र दुर्बल पक्ष के हो जस्तो लाग्छ ?
सबैभन्दा पहिलो कुरा त शिक्षा र जागरुकता हो । यी दुई हुनैपर्छ । मैले यो उमेरसम्म तामाङ समुदायलाई बुझ्दा तामाङहरु दृढताकासाथ काम गर्छन् । आफ्नो लक्ष्यमा दत्तचित्त भएर अघि बढ्छन् । यो सबल पक्ष भयो । मैले देखेको दुर्बल पक्ष भनेको चाहि हाम्रो जातिमा एकता देखिन्न । त्यसैले शिक्षा, जागरुकता र एकता भयो भने मजबुत हुने छ र प्रधानमन्त्री बन्न सकिन्छ जस्तो लाग्छ ।
तपाईले आफ्नै भाषामा उत्तर नदिई अंग्रेजीमा उत्तर दिनुभयो, तामाङहरुले यो मन पराएनन् नि ?
तामाङ दाजुभाई, दिदीबहिनी सबैले तामाङमा बोले राम्रो हुन्थ्यो भन्ने सोच्नु भएको रहेछ । यो एकदमै राम्रो आपेक्षा हो । तर, मैले आफ्नो भाषामा बोल्ने चाहना हुदाँहुदैं ‘इन्टरनेसनल स्ट्यान्डर्ड’ राख्न र अरु प्रतियोगितामा भाग लिनको लागि आफुलाई तयारी गर्न पनि अंग्रेजीमै बोलें । यो अर्को प्रतिस्पर्धाका लागि तयारी गर्ने मञ्ज पनि थियो ।

ताज कसरी जिते जस्तो लाग्यो ?
सबैभन्दा पहिलो त परिवारको सपोर्ट हो । त्यसपछि सहभागी साथीहरुले पनि मलाई उत्साहित पारेका थिए । आफ्नै लगाव अर्को प्रमुख कारण हो जस्तो लाग्छ । फाइनल अघिका प्रशिक्षणहरुमा म एकदमै ध्यानपूर्वक सिक्थें । यसले नै ताज दिलाएजस्तो लाग्छ ।
अबको लक्ष्य के हो ?
म बिजनेस वुमन बन्न चाहान्छु । किनभने आफु आर्थिक रुपमा सबल भएपछि आफुले चाहेको उद्देश्य पुरा गर्न सकिन्छ ।
उद्देश्य पनि बताइदिनुहोस न ?
तामाङ संस्कृतिको प्रबद्र्धन गर्नु र असहायहरुलाई सघाउनु मेरो उद्देश्य हो । लक्ष्य पुरा भयो भने उद्देश्य पुरा गर्न सजिलो हुन्छ ।
मिडिया र मोडलिङमा तपाईको रुचि कस्तो छ ?
मलाई मिडिया एकदमै मनपर्छ । मोडलिङमा पनि रुचि छ । ¥याम्पमा उत्रने रहर छ । पढाईसँगै मोडलिङमा लाग्छु । मिडियाले नै मोडलिङ र बिजनेस दुबैलाई सपोर्ट गर्छ भन्ने विश्वास छ ।


फिल्ममा नायिका बन्ने अफर आयो भने के गर्नुहुन्छ ?
कथा हेरेर राम्रो लागेमा पक्कै पनि अभियन गर्नेछु ।
भ्यालेन्टाइन डे नजिकिदै छ, प्रेममा पर्नुभएको छ कि छैन, बिहेबारे के योजना बनाउनुभएको छ ?
भर्खर १७ वर्षकी भएँ । परिवारसँग प्रेममा छु । केटा साथी बनाएकी छैन । बिहेबारे सोचेकी छैन ।
अबका योजना के के छन् ?
मिस तामाङको ताज पहिरेपछि जिम्मेवारी बढेको छ । तामाङ संस्कृतिको प्रबद्र्धन गर्नुपर्ने कर्तव्य हो । त्यसैगरी सिभिल ग्रुपको एम्बासडर भएकी छु । यसमा पनि काम गर्नुछ । पढाईलाई निरन्तरता दिनुछ । त्यसैगरी राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन तयारी गर्नुछ ।

तस्विरः अमिर योञ्जन

सम्बन्धित समाचार