अमेरिकी पत्रकारिताको अर्को पाटो

May 18, 2017

पिताम्बर सिग्देल

अमेरिका सबैका लागि सपनाको देश हो । भौतिक विकास र उच्चतम प्रविधिको प्रयोगले यहाँको जीवन, काम र सपनालाई रंगीन बनाउन सघाएकै छ । सपना बुन्न र सपना पुरा गर्न अमेरिका आउन चाहनु आम नेपालीको रहर नै हो । मेरो यो पटकको करिब डेढ महिने अमेरिका बसाइले मलाई यी र यस्ता धेरै जीवन, सहर, सिर्जना, प्रयोग र सपनाको अध्ययन गर्ने अवसर प्राप्त भयो ।
त्यसो त मैले यसअघि पनि अमेरिका भ्रमणको अवसर प्राप्त गरेको थिएं । तर यसपटकको बसाइ अघिल्लो भन्दा फरक रह्यो । यसपटक अमेरिकी सरकार र आसीएफजीको निमन्त्रणमा यहाँका सञ्चारमाध्यमले प्रयोग गरिरहेको डिजीटल पत्रकारिताको स्वरुप, अभ्यास र अनुभव अध्ययन गर्न मैले अमेरिकाका नाम चलेका विभिन्न सञ्चारमाध्यमको भ्रमण गर्ने मौका पाएँ । त्यो बेला नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका अवस्था, अभ्यास र अवसर नचाहेरै पनि अमेरिकासँग तुलना गर्न मन लाग्थ्यो । तर मलाई थाहा छ, विकास, प्रविधिमा चुचुरो चुमिसकेको अमेरिकासँग यो तुलना गर्ने विषय होइन । तर पनि, हामीले नेपालमा नेपाली सञ्चारमाध्यममा प्रयोग गर्न सकिने प्रविधि र प्रयोगलाई वेवास्ता गरेका धेरै निश्कर्ष निकालें ।
अमेरिकाका सञ्चारमाध्यमले हामीले नेपालमा बुझेभन्दा फरक पत्रकारिताको अभ्यास गरेको मेरो लागि नौलो अनुभव रह्यो । पत्रकारिताको परम्परागत स्वरुप त संसारभरी नै बदलिसक्यो । तर सामाजिक सञ्जाल र मल्टिमिडियाको प्रयोगमा भने हामी नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यम धेरै तल छौं । हामीले मल्टिमीडियाको प्रयोग गर्ने भनेको तस्बिर र कहिलेकाही श्रब्यदृष्य (भिडियो) मात्रै हो । तर, यो पनि पर्याप्त छैन । । वालस्ट्रिट जर्नल, युएसए टुडे, वासिङ्टन पोस्ट, खोज पत्रकारिता केन्द्र ( सीआइआरर) जस्ता अखबार र संस्थाका अभ्यास हेरेपछि लाग्यो, अब मल्टिीमिडियाको विकल्प नै छैन । हामीले डिजिटल माध्यमलाई पत्रकारिताको मूल पाटोमा चाहेर वा नचाहेर भएपनि समेट्नै पर्छ । प्रविधिको विकासँगै पछिल्लो समयमा मल्टिमिडिया जर्नलिजमले विश्वव्यापी आकार ग्रहण गरिसकेको मेरो बुझाइलाई अमेरिका आएपछि थप पुष्टी भयो । अमेरिका बसाईका क्रममा प्रविधिको हेडक्वाटर सिलिकन भ्यालीलाई नजिकबाट बुझ्ने र पढ्ने मौका मिल्यो । यसको अर्थ विश्वमा प्रविधी साम्राज्य फैलाउने सिलिकन भ्यालीका उत्पादनबारे नजिकबाट बहस गर्ने मौका पनि मिल्यो । फेसबुक, गुगल, बजफिड, लिङ्कडिन तथा ट्वीटर जस्ता शक्तिशाली सामाजिक सञ्जालले पत्रकारिताको अमेरिकामा पत्रकारिताको परिभाषा नै बदल्न थालिकेको रहेछ ।
यसको प्रभाव पनि समाचार दिने वा कथा भन्ने अन्य शैलीभन्दा पृथक छ । हात हातमा स्मार्ट फोन र ट्याब्लेटको प्रयोग गर्ने युवा पुस्ता यसैका कारण पत्रकारिताको घेराभित्र तानिएका छन् । यही सन्दर्भ नेपाली पत्रकारिता क्षेत्रमा पनि लागू हुन्छ, अर्थात, आधुनिक युवा पुस्ता मोबाइल ट्याब्लेटबाटै संसारसँग अपडेट हुन्छन् र सूचनामा पहुँच विस्तार गर्छन् । हाम्रा सञ्चारमाध्यमका पाठक, दर्शक वा स्रोता घटिरहेका बेला प्रविधिको प्रयोगले उनीहरुलाई तान्नु अहिलेको आवश्यकता छ, जुन सम्भव पनि छ ।
हामीले सामाजिक सञ्जालका बारेमा नेपालमा बसेर बुझेको भन्दा हजारौं गुणा फराकिलो प्रयोग र उपयोग यहाँका सञ्चारमाध्यमले गरेका रहेछन् । सामाजिक सञ्जाल भनेको कुराकानी गर्न र तस्विरहरु पोस्ट गर्ने माध्यममभन्दा अलि फरक पनि हुन् भन्ने तथ्यलाई अमेरिकी सञ्चामाध्यमले पुष्टी गरिसकेका रहेछन् । उदाहरणका लागि फेसबुकले सुरु गरेको लाइभ फिचर वाल स्ट्रिट जर्नल र युएसए टुडेले आफ्नो पत्रकारिताको अभिन्न विशेषताका रुपमा प्रयोग गर्न थालिसके । कुनै घटना वा कार्यक्रमलाई फेसबुकबाट सिधै लाइभ गर्ने यो अभ्यासले सूचना प्रवाह छिटो र विस्तारित भएको छ । फेसबुकले केही साताअघि मात्रै सुरु गरेको यो फिचरबारे फेसबुक मूख्यालयमा छलफल गर्ने मौका पनि मिल्यो । हामीसँगैको अन्तरक्रियामा फेसबुक अधिकारी भन्दै थिए, ‘अब हामी तत्काल सूचना प्रवाह गर्ने फेसबुक प्रयोगकर्तालाई लाइभ गर्न पाउने विशेषतासहित अरु पनि पत्रकारितासँग सम्बन्धित विशेषता ल्याउदै छौ । पेजमार्फत सूचना वितरणको अभ्यास त पुरानो भइसक्यो । यसको अर्थ फेसबुक अब तस्विर साटासाट गर्ने र कुराकानी गर्ने माध्यम मात्रै होइन । यसले हरेक व्यक्ति वा सञ्चारकर्मीलाई सञ्चारमाध्यमका रुपमा स्थापित गर्ने मौकासमेत दिनेछ ।
यहाँ अर्को पनि उदाहरण प्रस्तुत गर्न मन लाग्यो । हामीले नेपालमा स्न्यापच्याटलाई रमाइलोका रुपमा मात्रै प्रयोग गर्दै आएका छौं । तर वाल स्ट्रिट जर्नलले स्न्याप च्याटलाई समाचार र सूचना दिने आकर्षक र भरपर्दो कथा भन्ने माध्यमका रुपमा प्रयोग गरेको देखियो । छोटो समयमा छोटो भिडियो र तस्विर क्याप्सनसहित सुचना प्रवाह गर्ने यो नौलो विधिले पत्रकारिताको परिभाषा र कथा प्रस्तुतीको शैली बदलिएको अनुभूती मैले गरे । ट्वीटर वा इन्ट्राग्रामलाई पनि यहाँका ठूला सञ्चारमाध्यमले त्यसरी नै प्रयोग गरेको मैले पाएँ । जुन हाम्रो नेपाली सन्दर्भभन्दा पृथक छ ।
सामाजिक सञ्जालको यो पक्ष त हामी नेपाली पत्रकारहरुका लागि सिक्नुपर्ने पक्ष छदैछ । तर मल्टिमिडियाको प्रयोग विश्वमा कति धेरै भइरहेको भन्ने पनि मैले अमेरिकी पत्रकारिताबाट जान्ने मौका पाएँ । एउटा संवाददाताले एउटा स्मार्ट फोनमार्फत श्रब्य, दृष्य (भिडियो) लाई आफ्नो समाचारमा समेटिरहेको छ । यसका लागि ठूला ट्राइपोट वा लामो लेन्स भएका क्यामरा पनि प्रयोग भएका छैनन् । स्मार्ट फोनको अधिकत प्रयोगबाटै यस्ता सामाग्री सजिलै तयार पारिरहेका छन् । दृष्य सम्पादन होस् वा अन्य काम सबै एउटा स्मार्ट फोनले सजिलै गर्न सकेको छ । यसले पत्रकारिताको दायरा र आकर्षण बढेको अनुभूती मलाई भयो । भिडियोको भाषा विश्वयापी हुने भएकोले पनि नेपाली कथा र सन्दर्भ विश्वसामु सजिलै पु¥याउन सकिन्छ । जुन अहिलेको प्रमुख आवश्यकता पनि हो ।
नेपालमा पनि पत्रकारितामा मल्टिमिडयाको प्रयोग नभएको होइन तर यसको घेरा साँघुरो छ । थोरै पत्रकारले कहिलेकांही मात्रै यस्ता सामाग्री प्रयोग गरेको देखिन्छ, यो आम पत्रकारको पहुंच वा प्रयोगभन्दा बाहिरै छ । कतिपय ठूला सञ्चारमाध्यमले यसको प्रयोग वृहत रुपमा गर्न खोजेपनि प्रविधिको अभाव, सीपको कमी, आर्थिक र अरु प्राविधिक कारणले यो फराकिलो हुनै सकेन ।
समग्रमा हामीले नेपाली सञ्चारमाध्यमका कथालाई विश्वव्यापी पहुँचमा पु¥याउन मल्टिमिडियाको प्रयोग नै अहिलेको विकल्प हो । यसतर्फ नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आकर्षित गर्दै प्रविधीमैत्री बनाउनु पहिलो आवश्यता हो ।

–सिग्देल अन्नपूर्ण पोस्ट दैनिकका वरिष्ठ संवाददाता हुन् ।

सम्बन्धित समाचार