मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

November 3, 2017

काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बढिभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा भएको निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्युन बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गरेका हुन् । ‘मतदातालाई आफ्नो मताधिकारी स्वतन्त्र रुपमा प्रयोग गर्नेगरी वातावरण गर्नुहोस्’ बैठकमा प्रधानमन्त्रीले आयुक्तहरुलाई भने, ‘मतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउदै मत बदरलाई न्युन बनाउने गरी व्यवस्थापन गर्नुहोस् ।’

प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारकोतर्फबाट आवश्यक सबै सहयोग २४सै घण्टा गर्न आफु तयार रहेको पनि बताए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको सुरुदेखिको प्रतिवद्धताकै कारण तोकिएको समयमा सम्पन्न हुने भएको भन्दै धन्यवाद दिए । ‘प्रधानमन्त्रीज्युकै प्रतिवद्धताका कारण स्थानीय चुनाव सम्पन्न भयो र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने भएको हो’ डा.यादवले भने, ‘म निर्वाचन आयोगको तर्फबाट विषेश धन्यवाद दिन चाहन्छु ।’

बैठकमा प्रमुख आयुक्त यादव, आयुक्तहरु इश्वरी पौडेल, ईला शर्मा, सुधिरकुमार शाह र निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा सहभागी थिए ।

 

सम्बन्धित समाचार