मन [कविता]

November 21, 2019

सिर्जना तुलाधर, न्युयोर्क

आज भोलि फेरि म
जिउन सिक्दै छु
फाटेको च्यातेको
मन सिउन सिक्दैछु
कसलाई के थाहा
चोट कति गहिरो छ भनी
मनै त हो चस्की हाल्छ
सानै कुराले पनि
यो दुनियाँ यस्तै हो
निष्ठुरीहरुले भरीभरी
सच्चा साथी त
खोज्नुपर्छ औला गनीगनी
न छोईदिनु यो चोट मेरो
अझै आलो नै छ
म आज पनि जतन गर्दैछु
यो चोट मेरो
बिहानी सुनौलो घामसँग
खुसी पैचो माग्छु
दिनभरी त्यही पैचोले
काम चलाउँछु
साँझ झपक्क पर्दा
हतारले पैचो फर्काउँछु
रात मेरो कोशिशमै बित्छ
मनलाई बुझाउँदै
भोलिदेखि खुसी हुनुपर्छ
भनी बुझाउँदै

(एभरेस्ट टाइम्स वर्ष १२ अंक २ मा प्रकाशित सामाग्री)

सम्बन्धित समाचार