बेरोजगारी घटाउन युवाको आत्मबल बढाउनुपर्छ–डा. तुलाचन, नेता, नयाँ शक्ति

May 18, 2017

डा प्रदीपमान तुलाचन नयाँ शक्ति नेपालका श्रम, सहकारी तथा स्वरोजगार विभागका संयोजक हुन् । पार्टी घोषणा अघिदेखि नै सशक्त रुपमा पार्टीमा लागेका डा तुलाचन अर्थविद् तथा साहित्यसर्जकका रुपमा चिनिएका व्यक्ति हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा सल्लाहकारका रुपमा काम गरिसकेका उनले नेपालको स्थानीय क्षेत्रमा विकास हुनुपर्ने आवाज उठाउदै आइरहेका छन् । बेरोजगार अन्त्यका लागि स्थानीय क्षेत्रमै रोजगारका प्रशस्त सम्भावना रहेको उनको भनाई छ ।
अमेरिकाको कोर्नेल युनिभर्सिटीबाट पिएचडी गरेका डा तुलाचनको प्रविधिक क्षेत्रमा सात अन्तर्राष्ट्रिय स्तरका किताब प्रकाशित गरिसकेका छन् । ‘आस’ र ‘भोटखोला’ उपन्यास नेपाली भाषामा प्रकाशित छ । अर्थविद्का रुपमा चिनिएका डा. तुलाचन साहित्य हुदैं अहिले राजनीतिमा लागेका छन् ।

कुनै समय हिमाली क्षेत्रमा सशक्त राजनीतिक शक्तिको आवश्यकता रहेको बताउँदै नयाँ दलको योजनासमेत बनाएका तुलाचनसँग नयाँ शक्तिमा आवद्धता र पार्टीको स्वरोजगार तथा सहकारी योजनाबारे एभरेस्ट टाइम्सका नेत्र तामाङले गरेको कुराकानी ः
तपाईं अर्थविद्, साहित्यकार पनि हुनुहुन्छ, कुनै समय हिमाली क्षेत्रमा बलियो दलको आवश्यकता रहेको भन्दै अभियान चलाउनुभएको थियो, अहिले नयाँ शक्तिमा हुनुहुन्छ, केले आकर्षण ग¥यो नयाँ शक्तिमा ?
उत्तर– विकासका दृष्टिले हिमाली क्षेत्र पिछडिएको छ । राजनीतिक नेतृत्वमा बलियो सहभागिता भएको भए विकासमा केही त हुन्थ्यो कि जस्तो लाग्यो । त्यसैले हिमाली क्षेत्रमा बलियो राजनीतिक दलको आवश्यकता महसुस गरे । त्यसैको अभियानमा नयाँ शक्ति बनाउन अभियान चलाए ।
मुख्य कुरा डा. बाबुराम भट्टराई एकजना दूरदृष्टि भएको नेतृत्व हुनुहुन्छ । देशमा ७० वर्षसम्म जुन राजनीतिक अवस्था नियाल्दा दलहरुले लोकतन्त्र र गणतन्त्रको लागि संघर्ष गरे, यसको लागि हामी आभारी हुनैपर्छ । तर राजनीतिक क्रान्ति गर्ने जुन योग्यता नेताहरुलेले देखाए, तर देशलाई समृद्ध र विकास गर्ने योग्यता नेताहरुले देखाउन सकेनन्, सक्ने सम्भावना पनि देखिएन । तर डा. भट्टराईमा हामीले त्यो योग्यता र क्षमता देखेका छौं । केही समय अर्थमन्त्री हुँदा उहाँले राष्ट्रको लागि सबैभन्दा बढी राजस्व उठाउनुभयो । राष्ट्रमा विद्यमान युवाहरुको बेरोजगारीको समस्या समाधान गर्न युवा स्वरोजगार कार्यक्रम ल्याउनुभयो । प्रधानमन्त्री हुँदा मानिसहरुले असम्भव नै भनेका सडक बिस्तार उहाँ दृढताका साथ लागेर नतिजा देखाउन सफल हुनुभयो । त्यसको पछि निरन्तरता पनि भयो । यसबाट म धेरै प्रभावित भएँ ।
म राजनीतिमा डा.बाबुराम भट्टराईले नै नेतृत्व गरेर वैकल्पिक राजनीतिक अभियान सुरु गर्नुभएकोले सहभागी भएको हुँ । यदि अरु कसैले यो अभियान सुरु गरेको थियो भने म राजनीतिमा लाग्ने थिइनँ ।
तपाईं स्वरोजगार तथा सहकारी विभागको संयोजक हुनुहुन्छ, नेपालमा बेरोजगारीको समस्या जटिल हुदैं गएको छ, यो समस्या समाधान कसरी गर्न सकिएला, तपाईंहरुको कार्ययोजना के छ ?
हाम्रो पार्टीले बेरोजगार कम गर्ने कार्ययोजना नै अघि बढाइसकेको छ । पार्टी सत्तामा नपुगेन्जेल यसले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनेको छ । यसका लागि तीन वटा मुख्या कार्यक्रमहरु बनेको छ । पहिलो यसका लागि ‘म सक्छु, म गर्छु’ गोष्ठी सञ्चालन हुनेछ ।
युवा वर्गलाइ व्यवसाय सुरुवात गर्न सर्वप्रथम दृढ ईच्छा शक्ति, आत्मविश्वास र म सक्छु म गर्छु भन्ने हिम्मत र आँटको आवश्यकता पर्दछ । तसर्थ, यो गोष्ठीको मुख्य उद्देश्य युवा वर्गमा इच्छाशतिक्ति, आत्मविश्वास र हिम्मत बढाउनुका साथै उनीहरुले गर्ने व्यवसायवारे जानकारी गराउनुका साथै प्राविधिक ज्ञान दिनु हो ।
दोस्रो चरणमा उत्पादनसँग जोडेर प्रत्येक ठाउँमा यस्तो कार्यक्रमहरु सञ्चालन गर्ने योजना छ । यो कार्यक्रम प्रत्येक प्रदेश, जिल्ला र गाउंपालिकामा संञ्चालन हुनेछ । वडा स्तरसम्म युनिट स्थापना गरी सहजकर्तावाट कार्यक्रम सहजीकरण गरिनेछ । पहिलो वर्ष प्रत्यक प्रदेशको एक जिल्ला र उक्त जिल्ला अन्तर्गतका ५ देखि १० गाउँपालिकामा नमुना का रुपमा सञ्चालनमा ल्याईनेछ ।
तेस्रो चाहि सँगै हामी स्मार्ट कपरेटिभ डेभलमेन्ट हो । जसले गर्दा युवा व्यवसायीहरु आवश्यक पर्ने सामग्री जुटाइदिने र बजार व्यवस्थापनसमेतको काम गर्ने योजना छ । प्राविधिक विषयमा पनि साथ दिने हाम्रो योजना छ । त्यसैगरी युवाहरु स्रोत जुटाउने काम पनि गरिन्छ ।
युवा तथा स्वरोजगार कार्यक्रम त डा भट्टराईको पालाबाटै सुरु भएको हो, यो त अहिले पुरै फ्लप भयो नि हैन ?
डा बाबुराम भट्टराई अर्थमन्त्री हुदाँ नै यो कार्यक्रम सुरु भएको हो । यो मलाई पनि एकदमै मन परेको थियो । र, यो निस्क्रिय पनि भएको हो । यस कार्यक्रमबाट ८ वर्षमा २४ हजार युवाले ऋण लिए । उनीहरुलाई सीप दिइएन । अहिले त्यही कार्यक्रम अन्तर्गतको एक खर्ब रुपैयाँ राष्ट्र बैंकमा फ्रिज भएको छ । यसको दोष त सरकारलाई जान्छ । दिनानुदिन वैदेशिक रोजगारीमा युवाहरु जाँदै गर्दा राष्ट्र बैंकमा उनीहरुका लागि छुटाइएको बजेट फ्रिज भइरहेको छ ।
यो नीति असफल हुनुमा नेताहरुको निकम्मापनका कारण हो । नेताहरुले मुख्य ठाउँमा आफ्नै नातेदार र असक्षम व्यक्तिहरुलाई नियुक्ती दिए । यसले गर्दा यस कार्यक्रमबाट व्यवसायीले ऋण पाएनन् । युवा व्यवसायीले ऋण पाए, नेताका आसेपासेले यस्तो ऋण पाए र त्यसको दुरुपयोग गरे । जसले गर्दा कतिपय ऋण फिर्ता नै भएका छैनन् । त्यसैले हामीले यहीबाट सिकेर उत्पादन क्षेत्रमा लगानी गर्ने, प्राविधिक सीप दिने, आवश्यक सामानको जोहो गराइदिने र बजारसमेत व्यवस्थापन गराइदिने स्पष्ट छ । त्यसैले हाम्रो पार्टीले यो अवश्यक पुरा गर्छ । हामी यो कार्यक्रमलाई अघि बढाउन सरकारलाई पनि झक्झक्याउँछौ ।
ऋण कसरी पाउन सक्छन्, पार्टीको सदस्य बन्नुपर्छ भन्छन् नि, फेरि अहिलेको सरकारले त शैक्षिक प्रमाणपत्र राखेरै ऋण दिने घोषणा गरिसकेको छ, तपाईंहरुको शर्त चाहिँ के हुन्छ ?
शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने कुरा सरकारको केटाकेटीपन हो । सरकार हावादारी कुरा गरिरहेको छ भन्ने कुरा त हामी सबैलाई जागजाहेरै छ । यो पनि एउटा उदाहरण हो । व्यवसाय प्रमाणपत्रले हुने होइन, यो त सीप, दक्षता र आत्मबलले हुने हो । इमान्दारिताले हुने हो । त्यसैले हाम्रो पार्टीले सरकारको यो घोषणालाई अपरिपक्व घोषणाको रुपमा लिइएको छ । कतिले नक्कली प्रमाणपत्र ल्याउँला । प्रमाणपत्र राखेर पैसा निकालेर बेपत्ता होला । अहिले नक्कलीको बिगबिगी छ ।
अर्को कुरा युवा स्वरोजगारका लागि पार्टीकै सदस्य हुनुपर्छ भन्ने कुरा एकदमै गलत हो । हामी देशमा जुनसुकै व्यवसाय गर्न चाहने नेपाली नागरिकहरुले सीप र दक्षता हेरी ऋण पाउनेछन् । ऋण पैसा मात्र होइन उनीहरुका लागि सेवाका रुपमा पनि उपलब्ध गराइनेछ । व्यवसायको सहजीकरण गर्ने कामसमेत हाम्रो योजनामा छ ।
शर्तको कुरा, शर्त भनेको कसैलाई रोक्न बनाइन्छ । हामी यसरी रोक्नलाई बनाइने छैन, सुविधा दिने खालका शर्तहरु बन्ने छन् । नेपालमा अहिलेसम्म बनेका नीति तथा नियमहरु प्राय रोक्नका लागि बनाइएका हुन्छन् । जसको झन्झट्ले गर्दा कतिपयले युवाहरु प्रक्रिया नै पुरा गर्न सक्दैन । काम के भयो भनेर हेर्ने हैन, नीति बनाउन मात्र खप्पिस छ हाम्रो देशका नेताहरु । यति धेरै स्रोतको धनी देश नेपाल गरिब भएकै कारण नीतिले गर्दा हो । हामी व्यवसायीको दक्षता, सीप र इमान्दारितालाई ऋण दिने शर्त बनाउँछौ । युवाहरुलाई नीति बनाएर झुलाएर राख्दैनौ । नाफा हुने व्यवसायमा लगानी गर्न हामी प्रेरित गर्छौ ।

त्यसो भए अब विदेशिएका युवाहरु अब नेपाल फर्कने दिन नजिकै आएको हो, नेपाली युवा अब वैदेशिक रोजगारमा जाँदैनन् ?

विकासका काम, यस्तो काम भन्ने वित्तिकै त हुदैन । विस्तारै काम हुन्छ । सात वर्षभित्र विदेसिएका युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाईदिने योजना डा. भट्टराईले भनिसक्नु भएको छ । बाटो, स्वास्थ्य, विद्युत, सञ्चारमा लगानीको अवसर प्रशस्त छ । यही काम गरेर खाने ठाउँ छ । यहाँ ढिलासुस्तीका कारण सबै कामहरु ढिला भइरहेका छन् । यसले गर्दा युवाहरुले काम पाइरहेका छैनन् । नयाँ शक्ति सरकारमा पुगेपछि यस्ता ढिलासुस्तीको अन्त्य हुनेछ । विकास द्रुततर गतिमा लाने योजना हाम्रो रोडम्याप हो ।

तपाईंहरुको पार्टीको योजना कुनै विकासे कम्पनीको जस्तै भएन र, कतिपयले यस्तै आरोप लगाउँछन् नि ?
कतिपय व्यक्तिहरुको काम नै आरोप लगाउने र आलोचना गर्ने मात्र हुने रहेछ । हामी यस्ता आरोपबाट निरुत्साहित हुनेवाला छैन । विकास किन आवश्यक छ यो सबैलाई थाह नै छ । स्वरोजगार किन आवश्यक छ । त्यसैले हामी गफ हैन काम गरेर देखाउने छौ ।

सम्बन्धित समाचार