विना निष्कर्ष टुंगियो प्रमुख दलको बैठक

December 22, 2017

काठमाडौं । राष्ट्रियसभा गठन निर्वाचन प्रणालीमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको प्रमुख पाँच दलका शीर्ष नेताको बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनसम्बन्धी विषयमा छलफल भएको थियो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा रहेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता पौडेलले भने, “विवाद कायमै छ, हामीले हाम्रो धारणा राख्यौँ, राष्ट्रपति कार्यालयमा सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि मात्र प्रतिनिधिसभाको निर्वाचन पूर्णरूपमा सम्पन्न हुने र नयाँ सरकार गठनको बाटो खुल्छ ।”

नेकपा (एमाले) बाहेक अरु पार्टी एकल संक्रमणीय प्रणालीमा सहमत भएको जानकारी गराउँदै उहाँले वर्तमान सरकारले सत्ता हस्तान्तरण गर्ने बाटो खोल्न काँग्रेसले बैठकमा आग्रह गरेको बताए ।

बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए ।

सम्बन्धित समाचार