बेखुसी बाँच्दिनँ, जीवनलाई हामीले नै सुखी र सजिलो बनाउने हो: पूजा चन्द, नायिका

November 6, 2019

पूजा चन्द, कुनै बेला नेपाली फिल्मी क्षेत्रकी चर्चित नायिका । छोरी बुहारी फिल्मबाट नायिकामा सोलो यात्रा शुरु गरेकी थिइन् उनले । त्यसपछि सन्तानको माया, देउरालीजस्ता चर्चित फिल्महरुमा उनको फिल्म यात्रा जारी रह्यो । टेलिसिरियलमा पनि प्रशस्त काम गरिन् । मनको टुक्रा अभिनयपछि उनको चलचित्र यात्रामा ब्रेक लाग्यो ।

५० बढी फिल्ममा अभिनयपछि अमेरिका आइपुगिन् उनी । पूजा अमेरिका आइपुगेको १४ वर्ष पुग्यो । यो अवधिमा उनी स्वदेश पनि बेला बेला पुग्छिन् । तर, आफूलाई चिनाएको फिल्म क्षेत्रमा भने उनी त्यति सक्रिय देखिन्नन् । कुनै बेला सबैको मनमा बस्न सफल नायिका यसरी गुमनाम बस्दा कतिको असजिलो महसुस हुने रहेछ त ? यसैबारेमा उनै नायिका पूजा चन्दसँग एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले गरेको कुराकानीको सम्पादित अंश:

पर्दामा लामो समय देखिनु भएन, दर्शकलाई चटक्कै माया मार्नुभएको हो कि क्या हो ?
मैले यो क्षेत्र छाडेको छैन । दर्शकको माया पनि मारेकी छैन । कार्यव्यस्तताले गर्दा केही समय पारिवारिक कारणले ब्याकमा बसेकी छु ।

त्यसो भए के मा व्यस्त हुुनुहुन्छ त ?
अहिले काम पनि छैन । बेकारी छु । (लामो हाँसो) फिल्मको अफर आएमा काम गर्छु ।

चलचित्र क्षेत्रमा ब्याक हुन कतिको अफर गर्नुहुन्छ साथीहरुले ?
अफर आउँछ । तर, अमेरिकामा छु । छोरीको लागि स्कुलिङ छ । लामो समय छोड्न मिल्दैन । खर्च मैले नै व्यहोर्नुपर्छ । फिल्म त एकदुई महिना लाग्न सक्छ । त्यस्तै परे ६ महिनापछि पनि काम गर्न आउन सक्नुपर्छ ।

अमेरिका आइपुगेपछि पर्दाको दुनियाँलाई चटक्कै छाड्नुभयो नि ?
बीचबीचमा सानोतिनो काम गरिरहेको छु । नेपालमै जसरी खटेर काम गर्न नपाएको चाहि हो । दर्शकको चाहना भनेको अभिनय नै होला । म पनि अघाएकी छैन पर्दामा देखिनँ ।

अमेरिका आउनु भएको कति भयो, कस्तो महसुस गरिरहनुभएको छ ?
अमेरिका आएको १४ वर्ष पुरा भएर जुनबाट १५ वर्ष लाग्यो । यहाँको बसाइँ रमाइलो छ । यो मानेमा कि आफूले गर्नुपर्ने कर्तव्य निभाइहरेकी गरेको छु । म हरेक च्यालेन्जलाई स्विकार्ने मान्छे हुँ । बेखुसी कतै बाँच्न सक्दिनँ । जे काम गरिरहेको छु त्यो कुरामा रिग्रेट गर्दिनँ ।

यता आउनुभएपछि नेपाल कति पटक फर्कनुभयो ?
१५ पटक त पुगें कि । पारिवारिक भेटघाटका र फिल्म क्षेत्रमा साथीहरुसँग भेट गर्न पुगिरहन्छु ।

नेपाल पुग्दा होस् या यतै, फ्यान स्किपिङ कसरी गर्नुहुन्छ ?
त्यो हुँदैन । म सबैलाई भेट्छु । साथी सर्कल नै फिल्म क्षेत्रका हुनुहुन्छ । कलाकार पत्रकार सबैलाई भेट्छु ।

अमेरिका र नेपालमा के फरक पाउनुभयो काममा ?
यहाँको फरक जीवनमा गर्नुपर्ने कामहरु सिक्नमा व्यस्त भएँ । नेपालको रेगुलर लाइफ र यहाँको रेगुलर लाइफ फरक रहेछ । धेरै कुरा सिक्न पाउने मौका पाएँ यता ।
नेपालमा अल्छी रहेछु । यता आएपछि धेरै काम गर्नुपर्ने रहेछ भन्ने सिकें । हरेक कुरा सर्टेन टाइमभित्रै गर्नुपर्ने रहेछ भन्ने सिकें । समयसँगै आफ्नो प्यासनलाई कसरी मर्न दिन नहुने रहेछ भन्ने सिकें । अमेरिकाले मेहेनती हुन सिकाउँछ ।
सपना पुरा हुनका लागि सुतेर हुँदैन उठ्नुपर्छ भन्ने यहाँबाट सिकें । कुनै काम सानो र ठुलो काम हुँदैन । नेपालमा गरेको काम र यहाँको कामको तुलना गर्न पनि मिलेन । नर्मल कामहरु सबै गरेको छु । धान रोप्ने काम गरे नेपालमा । यहाँ स्यान्डवीच बनाउने काम ।

कतिको खुसी हुनुहुन्छ त ?
म एकदम खुसी छु ।

कलायात्राका शुरुका दिन कसरी सम्झनुहुन्छ ?
रेडियोमा बाल कार्यक्रममा कविता भन्ने, रेडियो ड्रामा, दिनप्रतिदिनबाट मेरो कला यात्रा शुरु भएको हो । सानैदेखि गीत कविता पनि लेख्ने गर्थे । पछि टेलिसेलियल गरें । विसं २०५० बाट पूर्ण रुपमा सिने यात्रा शुरु भयो । त्यो बीचमा ५० फिल्म गरे हुँला । १३ वर्षको दौरानमा मोडलिङ पनि गरें । १३–१४ सिरियलमा पनि काम गरे । एड कम्पनी पनि चलाएँ ।

बाल्यकाललाई कसरी सम्झनुहुन्छ ?
म काठमाडौंको गाउँमा जन्मे । बाल्यकालमा अरु बालबालिकाभन्दा फरक थिएँ । चराहरुको गुँड हेर्न जान्थे । बैशाखपछि जेठमा मकै छरिन्छ । त्यतिबेला पानी पथ्र्यो । बिजुलीको तारमा चरा बसेको हेर्थे । चराको गुँड हेर्न जान्थे । चराको अन्डादेखि बच्चासम्मको हेर्थे । आफूभन्दा ठूला दाजुहरुको किताब चोरेर पढ्थे । पछि मुभी हेर्न मन पर्ने भयो । जीवनी पढें । नेपोलियन बोनापर्ट, हिटलर, बेनिजोर भुट्टोको जीवनी पढें । किताबले समय परिस्थितिलाई बुझ्न सजिलो बनाईदियो ।

जीवन के हो जस्तो लाग्छ ?
लाइफ कम्लिकेटेड हुँदैन । मानिसले बनाएको हो । अब्स्ट्याकल आयो भनेर डराउने हैन । त्यसले झन बलियो बनाउन सक्छ ।

सम्बन्धित समाचार