गायिका पूर्णिमा लामा होटल मेनेजमेन्ट पढ्दै, भन्छिन्: दिदीको प्रेरणाले सांगीतिक यात्रा

July 3, 2018

धदिङ गल्छीकी पूर्णिमा लामा आधुनिक गायनमा अहिलेको चर्चित नाम हो । संगीत क्षेत्रमा लागेको छोटो समयमै उनको गायन कला धेरैले रुचाए ।

झन्डै दुई वर्षअघि ‘भाग्यले नि छल्छ…’ बोलको आधुनिक गीतबाट सांगीतिक क्षेत्रमा डेब्यु गरेकी पूर्णिमालाई दर्शकस्रोतामाझ चिनिन भने केही समय लाग्यो । दिदी मीनाको शब्दमा रहेको यो गीतसँगै त्यहीबेला अरु गीत पनि रेकर्ड गराएकी थिइन् पूर्णिमाले ।

तर, ती गीत पनि केही श्रोतामै सीमित रह्यो । सानैबाट गायन क्षेत्रमा रुचि राखेकी उनले धदिङबाट काठमाडौं ओर्लनसाथ संगीतमा ठाउँ खोजेकी थिइन् । तर, पहिलो, दोस्रो गीतहरु गुमनाम बन्दै गएपछि उनलाई यो क्षेत्रमा भविष्य छैन भनेर सुझाव आउन थाल्यो ।

त्यसैको प्रभावमा परी पूर्णिमाले ‘प्लस टु’ मा होटल मेनेजमेन्ट विषय रोजिन् । अहिले प्लस टु को अन्तिम परीक्षा दिएर बसेकी उनी दैनिक दुई तीन गीत गाउन म्युजिक स्टुडियो पुगिरहन्छिन् ।

सयभन्दा बढी आधुनिक गीतमा स्वर भरिसकेकी पूर्णिमाले २०७३ मा पहिलो गीतबाटै राप्ती म्युजिक अवार्ड पाएकी थिइन् । यही वर्ष डेब्यु सिंगर शीर्षकमा नेपाल म्युजिक अवार्ड थापिन् । उनै गायिका पूर्णिमा लामासँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानी:

तपाईंका गीतहरु धेरैले मनपराउन थालेका छन्, यति छोटो समयमै चर्चामा आउँदा कस्तो लाग्दो रहेछ ?
म व्यवसायिक रुपमा यो क्षेत्रमा आएको ७–८ महिना भयो । यो अवधिमा मेरो कलालाई, मेरो गलालाई धेरैले मनपराई दिनुभयो । यसमा त खुसीको सीमा नै छैन । तर, जति धेरैले मन पराउँनुहुन्छ । त्यति अप्ठेरो बढ्दै जानेरहेछ । पहिले त जस्तो पनि गाइन्छ जस्तो लाग्थ्यो । अब त अलि स्तरीय र राम्रो गीत छान्न पर्ने चुनौति थपिएको छ ।


यो क्षेत्रको यात्रा कसरी तय भयो ?
म धादिङकै गल्छीमा रहेको बागेश्वरी स्कुलमा पढेकी । त्यहीबाट एसएलसी गरें । कक्षा ३ देखि नै होला मैले गाउन थालेको । मीना दिदी पनि गायन क्षेत्रमै लाग्नुभएको रहेछ काठमाडौंमा । म स्कुलमा हुँदै नयाँ वर्ष, दशैं, तीजका कार्यक्रममा गीत गाउन स्टेज उक्लन्थे । त्यही लतले होला, काठमाडौं आउनसाथ गीत रेकर्ड गरें । मीना दिदीले गीत रेकर्ड गर्नेदेखि कलेज ज्वाइन गर्नसम्म सहयोग गर्नुभयो । उहाँको सहयोगले नै अघि बढ्दै आएँ ।

तपाईं पेशाले गायनमा हुनुहुन्छ, तर पढाई चाहि होटल मेनेजमेन्ट, नमिल्या जस्तो लाग्दैन ?
काठमाडौं आएपछि केही समय गायनमै लागें । पहिलो गीत रेकर्ड पनि गरें । तर, अगाडि बढ्न सक्ने छनक देखिएन । त्यसपछि गायन क्षेत्रमा गाह्रो होला, विकल्प त सोच्नुपर्छ भनेर लिंकन कलेजमा होटल मेनेजमेन्ट लिएर पढाई शुरु गरें । हरेक चिजको समय हुन्छ भन्ने कुरा मलाई लागे भए झैं लाग्छ अहिले, युट्युबमा आएका केही भिडियोले मलाई धेरै दर्शक श्रोतामाझ पुर्‍यायो ।

जसले गर्दा २० हजार पनि भ्यु नभएको मेरो पहिलो गीत अहिले युट्युबमा ६ लाखभन्दा बढी पटक हेरिएको छ । फेरि गायनसँगै आफ्नो पढाईको विषयमा पनि केही गर्न सकिन्छ नि ।


स्टेज कार्यक्रम र रेकर्डिङको चटारो कतिको पर्छ ?
अहिले त बढीजसो रेकर्डिङमै व्यस्त छु । दिनको दुईदेखि तीन वटा गीतहरुमा स्वर दिने काम आइरहेको छ । परीक्षा दिएर बसेकीले पनि सजिलै भइरहेको छ । स्टेज कार्यक्रममा हङकङ र मलेसियासम्म पुगें । अरु ठाउँबाट पनि अफर आइरहेको छ । तर, आफूमा त्यति धेरै कन्फिडेन्स बढेजस्तो लाग्दैन । किनभने मैले अझै धेरै सिक्नुछ । यतिमै विदेश घुमेर हिँड्ने साहस निकाल्न सकिरहेको छैन ।

आधुनिक गीत रोज्नुकै कारण ?
मलाई सानैदेखि नै मेलोडिअस गीतहरु मनपर्ने । सानोमा अञ्जु पन्त, अरुणा लामा र नारायण गोपालका गीतहरु सुनेर हुर्कें । त्यसैले आधुनिक गीतमा मन बस्यो । तैपनि पप गीत र र्‍याप गीतबाहेक अरु गीत गाउन सक्छु जस्तो लाग्छ । केही सेलो गीत पनि गाएकी छु ।

सम्बन्धित समाचार