क्वीन्स् टु ब्रुकलिन् [यात्रा संस्मरण]

August 6, 2019

अजय छोचुं-

समयले जीवनमा निकै ठुलो भूमिका खेल्नेरहेछ । सानैदेखि सुन्दै पढ्दै आएका शब्दहरु समयकाल परिस्थितिको अहं अर्थ बुझ्दैछु ! परिभाषित पनि गर्न सक्दछु । लेख्नलाई विषयवस्तु पनि नचाहिने रहेछ । वश दिनचर्यालाई मन तरंगले साथ दिनुपर्ने रहेछ । आमा भन्नुहुन्थ्यो, ऊन बुन्दै गएपछि केही न केही बनीहाल्छ । बश बुन्न जान्नुप¥यो । भन्न त सजिलै छ ।

केही दिन भो आफ्नो अनुहार पटक पटक मुसार्न थालेको छु । ऐना पनि हेर्छु, अर्धांगिनीले नदेख्ने गरी । किनकि फेरि सुन्न नपरोस कति नक्कले भएको । श्रीमतीज्युहरु यस्तै भन्न रुचाउँछन् । तर श्रींगार कक्षले एक चौथाई कोठा ढोकेको बिर्सन्छन् । आज फेरि बिहानैदेखि अनुहार मुसारे । बाथरुमको ऐनामा निहारे । सोचे, यो अनुहार तनक्क पथ्र्यो, अनि चम्किलो पनि । केही दिनदेखि लागेको कुरा साँचो लाग्यो । अनुहार अलि फुस्रो अलि सुकेको अलि खुम्चेको अनि धर्साहरु । अलि नरमाईलो लाग्यो ।

अस्ति भर्खरै म भन्दा एक दशक जवान भाईले ओहो कस्तो चिल्लो सर भनेको सम्झे । झुठो रहेछ । बुढो भएपछि ‘हाउ आर यु यङ म्यान’ भन्ने मलाई चाहि पटक्कै मन पर्दैन । बुढो भो पिर प¥यो होला । पक्कै होइन । सोच्दैछु । मैले कहाँ कति योगदान पु¥याए । मेरो परिवार मेरा आफन्त साथी भाई मेरो समूदाय अनि म जन्मे हुर्केको देशलाई अनि मेरो कर्मभूमिलाई ?

मानसपटल एक्कासि यस कर्मभूमिमा समूदायका लागि समर्पित सयौं संस्थाहरु सोच्न पुगे । यी संस्थाहरु पनि बुढ्यौलीतिर बढेको लाग्यो । खोइ त कहाँ कति योगदान पुग्यो त ? म जन्मेको देशले काँचुली फेर्न खोज्दै गर्दा बुढो भइयो । काँचुली अझै फेर्न सकेको छैन ।
श्रीमतीज्युको आदेशअनुसार खाजा खाएर कामको लागि निस्केपछि श्रीमतीज्यु चाहन्नन् म आज फेरि काममा ढिलो होस । मनमनै धन्यवाद दिए ।

एपार्टमेन्टबाट हतारिँदै निस्के । सोचे २० वर्षमा आधा अमेरिकन भएछ क्यारे । केही वर्षअघि ५ मिनेटमा पुग्ने ट्रेन स्टेसनमा हाप्दै जाँदा ७ मिनेट लाग्छ । पाइला छिटोछिटो अघि बढाए । थ्याङ्स गड् ! ट्रेनमा भिड थियो । अलि पर सर्दै सधैं भेटिरहने गोरेले ‘लक्की गाय’ भन्दै हाँसे । म पनि फिस्स हाँस्दै थ्याङ्स भने । ट्रेन ठ्याक्क पाउनु पनि लक्की नै रहेछ ।

हुन पनि हो जागिर जोगिन्छ । सोचे ज्याक्सन हाइटबाट एक्सप्रेस लिउँ कि भिडमा बस्दै नेपाल नेपाल सोचे । बसमा यस्तै भिड हुन्थ्यो । मान्छेमाथि मान्छे फरक यति कि यहाँ भीडमा पनि एकअर्कालाई स्पेस दिइन्छ । ट्रेन अघि बढ्दै थियो । आउने स्टपमा कोही ओर्लेपछि सिट पाउने प्रयासमा लागे । नेपालमा बसमा भिडमा धकमधक्का अनि चर्को आवाज अझ च्यालेन्ज अनि मुक्कामुक्की पसन हुन बेर हुँदैन । यहाँ आँखा बोल्छन् । हाउभाउ अनि कहिलेकही चर्को स्वर । मैले पनि ट्रेनमा आँखोले बोल्न जानी सकेको छु । न भन्दै एउटा सिट पाएँ । सिट पाउन छिटो हुन सकेन भने जवानले टपकाउन बेर छैन ।

निस्तब्ध मन तरंगले गति लिन खोजेका,े पाएँ । ट्रेनको रफ्तारसँगै । अबको एक घन्टामा अफिस पुग्नै पर्छ । कहाँ पुगेपछि कुनमा स्विच गर्नुपर्ला । ट्रेनमा एनाउन्समेन्टहरु सुन्दै गन्तव्यको हिसाब गर्दै थिए । डर थियो कतै ट्रेन ट्राफिक सिक प्यासिन्जर अनि सिगनल फेलको एनाउन्समेन्ट त हुने होइन । ट्रेनको गतिसँगै मानसपटलमा बाल्यकाल हरायो ।

सानामो स्कुल जाँदा आमाले लहरी र जिप आउला छेउछेउबाट जानु भन्नुहुन्थ्यो । कहिलेकही बसन्तपुरको बीच सडकमा साँढे जुध्दा हेरी बस्थे । घर अबेर पुग्थे आमा पिर लिनु हुन्थ्यो । खुला बसन्तपुरको रमाईलो कहिल्यै बिर्सन्न । टुरिजम व्यवसायमा हुँदा बसन्तपुर इलाकालाई फ्रि भेइकल जोन बनाउने श्रेय पाउँदा म साह्रै खुसी थिए । त्यो पञ्चायतकाल थियो ।

टुरिजमले राम्ररी फस्टाउन पाएको थियो । कृषिपछि दोस्रो आयश्रोत टुरिजम नै थियो । आज देशलाई रेमिट्यान्सले निकै अघि बढाएको छ । फरक यति छ पहिले टुरिजमबाट अहिले श्रम आयातबाट । ट्रेन रोकोफेलर सेन्टरमा पुग्यो । म तान्द्राबाट ब्युझिएँ ।

ब्रुकलिन जाने ट्रेन पकडे । ट्रेनमा अर्कै वातावरण थियो । गोराकाला अनि गहुँगोरा । बायातिरको झ्यालको सिट पाउँदा रमाईलो लाग्यो । इस्टरिभर हेर्दै जाँदाको रमाईलो अर्कै । सरक्क एकचोटि सबैतिर हेरे । सबै आआफ्नै धुनमा । करिब मोबाइलमा केही पत्रिका पढ्दै म जस्तै यताउति हेर्दै । मोबाइलमा मेसेन्जरको आवाजले फोन निकाले । थुप्रै मेसेन्जर, मेसेज बढी त ग्रुपमै । सबैजसो नेपालस्थित राजनैति पार्टीका अनुयायीहरु । सबैको आफ्नै डम्फु बजेको थियो । एकअर्काप्रति हिलो छ्याप्न तल्लिन थिए ।

अर्कोतिर हिजो राजा फाल्न लागेको आज राजाको मागको आवाज बुलन्द गर्दै थिए । अनि केही डेमोक्रेटिक आवाज तर कतै नेपाली रिपब्लिकन देखिनँ । हाँस्न मन लाग्यो । इमिग्रान्ट्सको अर्को धर्म सायद डेमोक्रेट्सको झन्डा बोक्नु नै हो कि ? नेपालमा नपाएको सबै हक यो देशमा पाउन खोज्दैछौ । नेपाली मात्र हैन सबै इमिग्रेन्ट्सको आवाज त्यही छ ।

जन्मजात नपाएको अधिकारको हकदाबी सबै आयतीतले गर्दैछन् । हरेक सुविधाको लागि आफ्नो खल्ती रित्याउनुपथ्र्यो । यहाँ खल्तीबाट खर्च गर्ने त छोडौ काम नगरी खल्ती भनैका लागि हामी इमिग्रेन्ट्स आवाज उठाउँदैछौ । आ छोडौ क्यारे यस्तो कुरा । वृद्धाहरुलाई थप सुविधा दिने कर्मचारी आफू अनि त्यो सुविधा लिन धाउने हामी इमिग्रेन्ट्स । तर मनले गति छोडेमा विन्थ्रपमा पुगेपछि करिब १० मिनेट हिड्नुछ । घडी हेर ८ः४५ मात्र । खुसी लाग्यो आज ५ मिनेट छिट्टै पुग्ने भो ।

सेल्फी गर्दै मिररमा अनुहार हेरे । टाई मिलाए । अनुहार टमक्क पार्न खोजे । आ होस, अफिसको कम्पाउन्ड देखिनै को–वर्करहरु भेटियो । ‘गुडमर्निङ,’ ‘गुड मार्निङ डियर,’ ‘गुड मर्निङ सर,’ ‘गुड मर्निड ब्रो’ सुन्ने भन्ने गर्दै आफ्नो क्युबिकलमा पुगे । एक प्रोढ मलाई कुर्दै थियो । अलि ठाडो स्वरमा आइ ह्याभ विन बेटिङ फ यु पार्म लास्ट थर्टी मिन्युट्स । मनले गति रोक्यो । जवाफ दिई आई वर्क फ्रम नाइन । यी थिए म जस्तै इमिग्रेन्ट्स । उक्त प्रौढसँग कुरा गर्दै क्युबिकलमा छिरे । अनायास दुबै हातहरुले अनुहार सुमसुमाए । औलाहरु खोज्दै थिए थपथपाउँदै । तर फुस्रो अनि सुकेको गाला अनि निधारका धर्साहरु टकटकाउँदै सोचे । जीवनको रफ्तारमा कर्तव्य र व्यवहारसँगै ताल मिलाउँदै बुढो भएछु क्यारे । औलाहरु अझै खोज्दै थिए तमक्क परेको अनुहार……

सम्बन्धित समाचार