राजेशको व्यक्तिवृत्त संग्रह ‘पाइला आफ्नै आफ्नै’ विमोचित

August 25, 2017

काठमाडौं । साहित्यकार एवं पत्रकार राजेश खनाल लिखित व्यक्तिवृत्त संग्रह ‘पाइला आफ्नै आफ्नै’ विमोचन भएको छ ।
शुक्रबार एक कार्यक्रमका माझ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले उक्त संग्रहको विमोचन गरेका हुन् ।
राजधानीस्थित विनायो क्याफेमा आयोजित कार्यक्रममा सदस्य सचिव रसिकले किताब समाजमा कहलिएका व्यक्तिहरुका कीर्तिले भरिएको बताए । उनले किताब गाउँगाउँ पुग्नुपर्ने धारणा राखेका थिए ।

हिमालयन टाइम्सका सम्पादक गोविन्द लुइँटेलले उनको कृतिमाथि टिप्पणी गरे । किताबबाट विभिन्न व्यक्ति नजिकबाट चिन्न सकेको र आफु पहिलो पाठक भएको भन्दै लुइँटेलले किताबमा राम्रा पक्ष धेरै भएको र केही कमजोरी पनि रहेको बताए ।

कार्यक्रममा मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदन, बाह्राखरी डटकमका सम्पादक प्रतीक प्रधान, प्रकाशकका तर्फबाट नारायण घिमिरे र किताबका एक पात्र नेपाल बैंकका जनार्दन आचार्यले मन्तव्य राखेका थिए । उमा घिमिरेले प्रकाशन गरेको किताबमा प्राडा अञ्जनीकुमार शर्मा, नेपाल बैंकका जनार्दन आचार्य, मुकुन्द उपाध्यय, प्रचण्ड मल्ल, परशु प्रधान, पुण्डरी बाँस्कोटा, अशेष मल्ल, विश्वमोहन श्रेष्ठ, निरोधराज पाण्डे, गोविन्द गिरी प्रेरणा, श्रीओम श्रेष्ठ, श्रीराम सिरज, बसन्त चौधरी, डोलिन्द्र प्रसाद शर्मा, हरि थापा, डा युवराज भट्टराई, अरुणसिंह बस्नेत, नारायण घिमिरे, भरत शाक्य, सुन्दर श्रेष्ठ र हिरा कार्की गरी २१ जनाको व्यक्तिवृत्त चित्रण गरिएको छ ।

कार्यक्रममा लेखक खनालले लामो समय पत्रकारितासँगै जानेका, भेटेका व्यक्तिहरुलाई आफ्नो आँखाबाट विश्लेषण गरिएको धारणा राखे । यो उनको पहिलो कृति हो । सारंश नेपालका प्रमुख जय छाङछाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार