जाउलाखेल आइपुगियो रातो मछिन्द्रनाथ, भोटो आइतबार देखाइने

May 10, 2018

शुभप्रभात राई/ललितपुर 

रातो मछिन्द्रनाथको रथ जाउलाखेल ल्याइपुर्‍याएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने मछिन्द्रनाथको रथ जात्रा भोटो देखाएसँगै सकिन्छ । भोटो देखाउने कार्यक्रम आइतबार रहेको छ । आइतबार राष्ट्रप्रमुख विद्यादेवी भण्डारी जात्रामा सहभागी हुनेछिन् ।

रथ जाउलाखेल पुगेको चार दिनमा भोटो देखाउने परम्परा रहेकोले आइतबार भोटो देखाइने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए ।

मछिन्द्रनाथ पुल्चोकबाट गाबहाल–मंगलबजार हुँदै लगनखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भनिन्छ । त्यस्तै, थटिटोलबाट जाउलाखेलसम्मको यात्रालाई सप्तग्राम जात्रा पनि भनिन्छ । यसलाई सात गाउँको जात्रासमेत भनिन्छ ।

सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिएको छ । कथनअनुसार नागराजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले एक किसानलाई बोलाए । नागले जसरी भए पनि आफ्नी श्रीमतीको रोग निको पार्नै पर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे ।

किसानले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे । हात माडेका हुनाले यसबाट मयल निस्कियो । उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए । त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो ।

रोग निको पारिदिएपछि नागराजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए । किसानले सधैँ नै त्यो भोटो लगाएर हिँड्थे । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ । केही समयपछि भएको एक जात्रामा भूत र किसान पनि आएका रहेछन् ।

जात्रामा भूतले त्योे भोटो लगाएर आएको थियो । भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मछिन्द्रनाथकहाँ पुगे । मछिन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मछिन्द्रनाथले नै राखे । उनले भने, “त्यसैबेला देखि प्रत्येक वर्ष यो कसको भोटो हो रु प्रमाण सहित उपस्थित होउन भन्ने उद्देश्यले चारैतर्फ भोटो देखाउने चलन चल्दै आएको हो ।”

मछिन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ । मछिन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले हिन्दू धार्मिक परम्पराअनुसार ब्राह्मणबाट महिला र पुरुषलाई गरिने दशकर्म गरिन्छ । बौद्ध धर्मअनुसारका सबै कर्म बज्राचार्यले गर्छन् । विधिवत् रुपमा दश कर्म सकिएपछि मात्रै रथारोहण गराई रथयात्रा शुरु हुन्छ ।

पुल्चोकबाट गाबहाल, गाबहालबाट मंगलबजार, मंगलबजारबाट लगनखेलसम्म त्रिलोक भ्रमण सकिएपछि रातो मछिन्द्रनाथको जाउलाखेल भ्रमण हुने गरेको छ । यसलाई दक्षिणागमनसमेत भनिन्छ । भोटो जात्रा देखाइकै साँझमा खटमा राखेर मत्स्येन्द्रनाथलाई बुुङमती नै फर्काइन्छ ।

सम्बन्धित समाचार