माटोको सुगन्धलाई गीतसंगीतमा ल्याउन सक्नुपर्छ : गायिका रेश्मा सुनुवार

November 22, 2018

गायिका रेश्मा सुनुवार युवा पुस्तामाझ परिचित छिन् । सन् १९९८ बाट सांगीतिक क्षेत्रमा सक्रिय सुनुवारले अहिलेसम्म ५ वटा गीति संग्रह बजारमा ल्याउनुको साथै कलेक्सन, विभिन्न चलचित्र र भाषाभाषीको गीतसमेत गरी करिब डेढ सयभन्दा बढी गाइसकेकी छन् ।

मै ठूली भई छु रे, क्या मिठो गीत गायो लाहुरे, झिम्काइ देउ परेली, कोही भन्छ माया, ठुङ्दे ठुङ्देजस्ता धेरैको मनमा बस्न सफल गीतहरु गाएकी छिन् उनले ।

अहिले भने सुनुवारले युवाहरुको भावनालाई समेटेर बनाएको उल्लु उल्लु गीतको म्युजिक भिडियो बजार चर्चामा छ । विगत डेढ बर्षदेखि न्युयोर्कमा सपरिवार बसोवास गरिरहेकी उनै चर्चित गायिका रेश्म सुनुवारासँग एभरेस्ट टाइम्सले गरेको कुराकानीः

गायन क्षेत्र कसरी रोज्नुभयो ?
मेरो घरमै संगीतिक माहौला भएकोले घरबाटै यात्रा शुरु गरेको । घरमै बुबा लोक गायक क्षेत्रमा गाउनु हुन्थ्यो । बुबाको र आमाको दुबैको स्वर राम्रो थियो । उहाँहरुले गाउँदा हामी बच्चा बेला नाच्ने गथ्र्यौ । नाच्दानाच्दै गाउन पनि सिकेको हुँ ।

त्यसो भए सानै देखि नै गाउन थाल्नुभयो ?
१० बर्ष भनेको सानै होला नि हैन ? म्युजिक नेपालमा बाल गीत गाएकी थिए त्यतिबेला । त्यहीबेला देखिनै गाउन शुरु गरेको हु । त्यसपछि स्कुलमा पनि गाइन्थ्यो । गाउँदै जाने क्रममा पहिलो र दोस्रो मै हुन्थें ।

गायनको क्रममा देशपरदेश पनि घुमिरहनुहुन्छ, कहाँकहाँ पुग्नुभयो अहिलेसम्म ?
गायन क्षेत्रमा प्रवेश गरे यता नेपालभरका सबै जिल्लामा पुगियो । विदेशमा गाउने क्रममा नेपाली पुगेका खाडी क्षेत्रको प्राय सबै देशहरुको साथै जापान, हङकङ, कोरिया, बेलायत, मलेसियालगायत युरोपको १५ मुलुकमा गाउँदै पुगें ।

गायन यात्रामा अहिलेसम्मको सबैभन्दा अविष्मरणीय कार्यक्रम कुन हो ?
साउदी अरेबियामा खासै कार्यक्रम हुदो रहेनछ । सन् २०१० मा हामीहरु आदिबासी जनजाती महासंघको आयोजनामा त्यहाँ पुग्ने क्रममा विमानस्थलबाटै हामी ४ जना महिला कलाकारहरुले त्यहीकै नियमअनुसार बुर्का लगाउनु परेको थियो । त्यो हाम्रो लागि निकै अनौठो थियो । रेस्टुरेन्टमा खाँदा पनि महिलाहरुलाई अलग्गै व्यवस्था थियो । त्यतिखेरको हरेक कार्यक्रममा टिकट सकिएर लामो लाइन पुरै भिडभाडमा तीन पटक एकै ठाउँमा कार्यक्रम गर्नु परेको क्षण निकै अविष्मरणीय रह्यो ।

अहिले न्युयोर्कमा हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ ?
म अहिले अमेरिकामा हाउस वाइफ र १६ महिनाकी छोरीसँगै व्यस्त छु । पारिवारिक व्यस्तातासँगै अमेरिकामा पनि गायन पेशालाई निरन्तरता दिइरहेको छु । न्युयोर्कमै भइरहेको कतिपय कन्सर्टमा पारिवारिक व्यस्ततासँगै जान भ्याइरहेको छु । यसको साथै घरमै बसेर अहिलेको गीतको ट्रेनहरुको बारेमा अध्ययन गर्दै केही गीतहरु कम्पोज पनि गरिहेको छु ।

प्रवासबाट हेर्दा नेपालको गीतसंगीत क्षेत्र कस्तो छ ?
नेपालको अहिलेको गीतसंगीत क्षेत्रको बारेमा बुझ्दा प्रवासबाट पहिला भन्द फरक लागेको छ । पहिला धेरै जसो साइड व्यवसायको रुपमामात्र लागेको देखिन्थ्यो भने अहिले धेरै जसोले यसैमा जीविको पालेको देख्दा फरक खुसी लागेको छ ।

कलाकारहरु विदेशीयो भनेर चिन्ता गर्नेहरुलाई के भन्नु हुन्छ ?
ग्लोबल भिलेजको कन्सेप्ट आइसकेको छ । संसार, इन्टरेनटको माध्यमले हामी जहाँ पुगेपनि नजिकै छौ । हरेकले खोज्ने भनेको आफ्नो सुखद जीवन हो । यसको लागि मान्छेहरु विभिन्न मुलुकहरुमा पुगेका छन् । यसलाई अनौठो मान्नु हुदैन । भुगोलले सीमा कोरेपनि हामी जहाँ गएपनि सबैले रमाउनु सक्नु पर्छ ।

गायन क्षेत्रमा लाग्ने चाहनेका लागि के सल्लाह दिनुहुन्छ ?
गायन क्षेत्रमा जो कोही लाग्ने सकेसम्म आफ्नो माटोको सुगन्ध भएको गीतसंगीत र साहित्य मिसाएर ल्याउन सकेमा धेरै राम्रो हुनेरहेछ । हामी जहाँ पुगेपनि हाम्रो मौलिक पहिचानलाई कसैले पनि बिर्सनु हुदैन । गायन आफ्नै साधना पनि भएकोले यसलाई निरन्तरता दिइरहेमा सबैलाई राम्रो हुनेछ ।

भर्खरै नयाँ गीत पनि सार्वजनिक गर्नुभयो, अबको योजना के छ ?
भर्खरै उल्लु उल्लु गीत बजारमा ल्याएको छु । अहिले भ्यालेट र ज्याज गीतहरुमा काम गरिरहेको छु । निकट भविष्यमै आफु बाल्यकाल हुँदा सुनेका मौलिक लोक भाका र संगीतलाई पुनर्जागरणको लागि बजारमा ल्याउने योजना बनाएकी छु ।

सम्बन्धित समाचार