सगरमाथाको सौन्दर्य जोगाऔं

June 5, 2019

सम्पादकीय

सगरमाथा आफैमा उचो नाम हो । विश्वकै सर्वोच्च शिखरमा जीवनमा एकपटक पुग्ने मन कसलाई हुँदैन होला र । झन् नेपालीलाई त बढी चाह हुने नै भो ।

सगरमाथा नेपालीको गर्व हो । विश्वकै सर्वोच्च शिखर रहेको ठाउँ नेपाल भन्न पाउँदाको खुसी अरुले कहाँ राख्न पाउँछन् र ।
यही सगरमाथा यो याममा आलोचनामा रह्यो । कारण ट्राफिक जाम र आरोहीको मृत्यु । हुन पनि यो याममा इतिहासमै सबैभन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका थिए ।

३८१ जनाले अनुमति पाएर यसपटक वैशाख ३१ बाट आरोहण शुरु भयो । जेठ १३ मा आरोहण बन्द भयो । झन्डै १४ दिनमा ३८१ जना आरोही सगरमाथामा पुग्नु जटिल विषय पनि हो । प्रायजसो सबै मौसम सफा भएको बेला चुचुरो पुग्न चाहन्छन् ।

सोही अवसरमा बाटोमा आरोहीको जाम पक्कै हुन्छ नै । यही मेसोमा यो याममा कम्तीमा २० जनाको मृत्यु भयो । यो मृत्यु ट्राफिक जामकै कारण भएको भन्दै बिदेशी सञ्चारमाध्यममा चर्चा भए । तर, पर्यटन विभागले भने यो चर्चालाई अस्विकार गरेको छ ।

शतप्रतिशत नभए पनि केही प्रतिशत जामकै कारण मृत्युको नजिक पुग्न सक्छ । यो विषयलाई पर्यटन विभागले स्विकार्नुपर्छ । अथवा कतिको मृत्यु कसरी भएको हो भन्ने ‘फ्याक्ट लिस्ट’ विभागले प्रकाशन गर्न सक्नुपर्छ ।

जामकै कारण मृत्यु भयो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जानुले गलत सन्देश पनि जान्छ । मानिसहरुको पहिलो रोजाई भनेको नकारात्मक समाचार नै हुने रहेछ । यसैले पनि जामको कुरा फैलियो । यसरी नै फ्याक्टलाई विभागले सबैमाझ पु¥याउने कोशिश गर्नुपर्छ ।

अर्को विषय रोयल्टी धेरै पाउने आशामा जतिले आवेदन दियो त्यतिलाई नै आरोहण अनुमति दिनु सरकारको कमजोरी हो । तिनका आधारभुत मापदण्ड तोकेर अबका दिनमा सगरमाथा आरोहणमा कडाई गर्नुपर्छ । हुन त यसपटक ४४ करोड बढी त सलामी नै पाएको छ सगरमाथाले ।

तर, विश्वकै सर्वोच्च शिखरको शान र सौन्दर्य जोगाउन भने आरोहणमा कडाई, सफाईमा सरकारले विशेष ध्यान दिनुपर्छ । आरोहणका क्रममा जाम हुने यस्ता गल्ती आगामी दिनमा नदोहोरियोस् ।