१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यस्ता विषयमा नेजा भिजेलान्ते बन्न सक्नुपर्छ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

सहदेव पौडेल

नेपालमा पत्रकारिता गर्दागर्दै अमेरिका आइपुगेका नेपाली पत्रकारहरुले २००७ सालमा अमेरिकामा सुखदुःख साट्न र साथीभाई भेट गर्न नेपाल अमेरिका जर्नलिस्ट्स एसोसियसन(नेजा)को स्थापना गरे । समयक्रममा अमेरिकामा विभिन्न अनलाइन मिडिया र पत्रपत्रिकाहरु पनि प्रकाशित हुदैं गयो र त्यसैगरी अमेरिकामा लेखक, पत्रकारहरु थपिदै गए । यो बीचमा नेजाले करिब १० वर्षको यात्रा पुरा गरिसकेको छ । समय र सञ्चार परिवर्तन हुँदै गएको छ र यही परिवर्तनलाई ध्यानमा राखेर नेजाले पनि आफ्नो कार्यक्रमलाई यसरी परिवर्तन गर्दै लैजानु पर्छ ।
नेजाले सामान्यतय वार्षिक भेटघाट, नेपालबाट आएका पत्रकारहरुसँग अन्तरक्रिया र कहीँकतै कुनै पत्रकारलाई दुःख प¥यो भने आर्थिक सहयोग गर्दै आएको छ । यदि नेजा यो भन्दा अगाडी बढ्ने हो भने अमेरिकामा सञ्चारकर्म गरिरहेका वा मिडिया अध्ययन गरिरहेका नयाँ पुस्ताका विद्यार्थीहरूलाई साथमा लिएर हिड्नु पर्छ । नेपाली मिडियामा काम गरिरहेका सञ्चारकर्मीहरुको अध्ययनलाई फराकिलो बनाउन अमेरिकाका विभिन्न सञ्चारगृहका व्यावसायिक पत्रकारहरुसँगको सहकार्य, विभिन्न संघ संस्थाले दिने तालिममा सहभागी गराउन एउटा पुल बन्न सक्छ नेजा । त्यसै गरी अमेरिकामै मिडिया अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूलाई वार्षिक छात्रवृति प्रदान गरेर नेपाली भाषी समुदायको खोजमुलक समाचार सम्प्रेषण गर्न उत्प्रेरणा दिन सक्छ । र अन्तर्राष्ट्रिय सञ्चार गृहमा काम गरिरहेका नेपाली पत्रकारहरुलाई साथमा लिएर उनीबाट सिक्न नेजाले लजाउन हुन्न ।
त्यसै गरी अमेरिकामा रहेका साउथ एसियन जर्नलिस्ट्स एसोसियसन, एसियन अमेरिकन जर्नलिस्ट्स एसोसियसनलगायत् सोसाइटी अफ प्रोफेसनल जर्नलिस्ट्ससँग सङ्गत गरेर उनीहरूको कार्यक्रममा हातेमालो गर्दै नेजाले आफूलाई बलियो र व्यावसायिक बनाउन सक्छ । यी र यस्ता संघ संस्थाहरूले बर्सेनि दिने ट्रेनिङ, इन्टरनसिप र जब फेयरमा नेजा सदस्यहरूलाई पठाउन सकियो भने अमेरिकामा बढ्दै गएको नेपाली संचारकर्मलाई अझै उत्कृष्ट बनाउन सकिन्छ । उनीहरूले गर्ने कार्यक्रमबाट थोरै मात्र केही सिक्न सकियो भने नेजाको लागि ठुलो उपलब्धि हुने छ ।

र अन्त्यमा अमेरिकामा नेपाली सञ्चारकर्म विशेष गरेर थुप्रै सामुदायिक वेबसाइटहरु सञ्चालन भैरहेका छन् । यी साइटहरुले आ–आफ्नो समुदायमा भई रहेका र हुन गईरहेका विविध कार्यक्रमहरूको जानकारी दिँदै आएका छन् तर धेरै जसोले नेपालबाट प्रकाशित समाचार साइटहरुको समाचार पेस्ट गर्दै आएका छन् । नेजाले यस्तो कार्य गर्नेहरुलाई सुसुचित गर्दै कपि राइट्सलाई बेवास्ता गर्ने सञ्चारकर्मीलाई सचेत गराउन पनि सक्नुपर्छ । सञ्चार माध्यममा हुने पेस्ट पत्रकारिता र प्लेजरिजममा नेजा भिजेलान्ते बन्न सक्नु पर्छ ।
म पनि बदलिँदो सञ्चारको एक विद्यार्थी हुँ । अमेरिका आएपछि म पनि नेजाको सदस्य बनें र एक कार्यकाल त कोषाध्यक्षको पदको जिम्मेवारी लिएको हुँ । राम्रो काम गर्न र संस्थालाई सबैको बनाएर अगाडी बढाउन समूहमा अध्ययनशील, सिजनशील र संस्था प्रति समर्पित साथीहरूको साथको जरुरी पर्छ । आशा छ नेजा आउने दिनहरूमा नवीन सोच र सहकार्यका साथमा यस्तै सोच र शक्ति भएका साथीहरूको साथमा अगाडी बढ्ने छ ।
अब आउने दिनहरूमा पनि नेजा वार्षिक भेला मात्रै गरेर, कुनै नेपाली राजनैतिक पार्टीको बिल्ला भिरेर, अन्य सामुदायिक संघ संस्था जस्तै बन्नु भन्दा एउटा उदाहरणीय संस्था बन्न सक्नु नै यसको महत्व हो । नयाँ नेतृत्व लिन अगाडी बढेका साथीहरूले यी विषय बस्तुमा ध्यान दिएमा नेजाको महत्व धेरै सञ्चारकर्मीहरुले महसुस गर्नु हुनेछ । नत्र भने नेजा पनि अमेरिकामा रहेका सयौं संस्थाहरूको भिडमा एउटा कुनै संस्था मात्रै हुनेछ ।

–पौडेल हिमाली स्वरहरू अनलाइन रेडियोका निर्माता र नेजाका पूर्व कोषाध्यक्ष हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ४ : १७ बजे