‘सल्लीपिर’मा हिउँसँग संघर्ष गर्नेहरूको कथा छ

May 18, 2017

साहित्यकार नयनराज पाण्डे दसौं कृति ‘सल्लीपिर’ उपन्यासको विमोचनको तयारीमा छन् । उपन्यासमा यो सातौं उपन्यास हो । पटकथा, कथा र उपन्यास विधामा कहलिएका यी लेखकको खोरभित्रको जोकर, निदाएँ जगदम्बा र चकलेट कथा संग्रह प्रकाशित छन् । त्यसैगरी नांगो मान्छेको डायरी, विक्रमादित्य, एउटा कथा सुन, अतिरिक्त, उलार, लु र घामकिरी प्रकाशित उपन्यास हुन् ।
उनले करुणा, ममता, दुई थोपा आँसु, जीवनचक्रलगायत दर्जन टेलिश्रृंखलामा पटकथा लेखेका छन् । पाठकमाझ आउन लागेको यो उपन्यास फाइन प्रिन्टले बजारमा ल्याउन लागेको हो । उपन्यासमा हिउँलाई माया गर्नेहरुलाई राज्यले गरेको उपेक्षा गरेको विषयदेखि उनीहरुको संस्कृतिलाई राज्यले गरेको वेवास्तासम्मका कथा समेटिएको लेखकको भनाई छ । यही विषयमा लेखक/साहित्यकार पाण्डेसँग एभरेस्ट टाइम्सका नेत्र तामाङले गरेको कुराकानीः
‘सल्लीपिर’ उपन्यासमा केकस्ता कथालाई प्राथमिकतामा पार्नुभएको छ ?
यो हिमाली समुदायको कथा हो । विशेष गरी हिउँलाई माया गर्नेहरुको कथा यसमा समेटिएको छ । शेर्पा समुदायका सुखदुःख, उहाँहरुको संस्कृतिलाई उपन्यासमा उनेको छु ।
शेर्पा समुदायका कथाहरुले कसरी तान्यो तपाईंलाई ?
धेरै अघि खुम्बु गएको थिएँ । त्यहाँ मैले धेरै शेर्पाहरुसँग संगत गर्ने मौका पाएँ । त्यति बेलै लेख्न मन लागेको थिएँ । तर, आँट आएन । किनकि अनुसन्धान विना लेख्नु निकै गाह्रो थियो ।
अर्को शेर्पाहरुको विषयमा नेपालीमा समाचारहरु आउँछन्, केही कथा आएका छन्, केही यात्रा वृत्तान्त आएका छन् । तर, उपन्यास मैले अहिलेसम्म फेला पारेको छैन । यसैले यो विषयमा कलम चलाउनै पर्छ भन्ने लाग्यो । मलाई सधैं यही विषयले घच्घचाइरह्यो । शेर्पा समुदायको साथ पाएँ र अन्ततः आँट आयो र लेखियो ।
शेर्पाहरुबारे बुझेपछि हिमाल चढ्न मन पनि लाग्यो होला तपाईंलाई ?
हिमाल आरोहणका कुरा सुनेर मलाई डर लाग्यो । मैले जिन्दगीमा हिमाल चढ्न सक्छु जस्तो लागेन । हिमाल आरोहण निकै कठिन कुरा रहेछ ।
शेर्पाहरुले हिमाल चढेर प्रशस्त पैसा कमाएका छन्, युरोपअमेरिका पुगेका छन, यस्तै कथाहरु उपन्यासमा आउने हो ?
विल्कुलै होइन । हिमालमा चढ्नु चानचुने कुरा होइन रहेछ । जीवनलाई जोखिममा राखेर हिमालमा चढ्नुहुने रहेछ । खुम्बु क्षेत्रमा हिमालमा ज्यान नगुमाउने परिवार कमै होलान् । हरेक आरोहणमा ठुलो आशा हुन्छ परिवारको । आरोहणपछि सुखमय जीवन कल्पना गरेका हुन्छन् । तर, सोचेजस्तो कहाँ हुँदोरहेछ र । हिमालमा कति शेर्पाहरुले ज्यान गुमाइसकेका छन् । ती कसले हेर्ने, कसले सुन्ने । यति दुःख हुने रहेछ उहाँहरुको जो हामीले कहिल्यै नदेख्ने रहेछौं ।
राज्यले पनि शेर्पालाई हिमालमै अल्झाए । तिमीहरु बहादुर, महान भनेर जोखिमपूर्ण पेसामा निरन्तरता दिन लगाए । कृत्रिम माला लगाएर शेर्पाहरुलाई उपेक्षा गरिरहे । शेर्पाहरुको शिक्षामा लगानी गरेनन् । शिक्षा र चेतनाबाट वञ्चित गरेका कतिपय शेर्पा दाजुभाई दिदीबहिनी ‘फ्रस्टेसन’को सिकार भएको मैले देखेको छु ।
एउटा आमाले आफ्नो छोरोलाई किताब पढाउन काठमाडौंसम्म आउनुपरेको दुःख, काठमाडौंबाट खुम्बुसम्म जाँदाको दुःखहरु कथामा छन् । ती कथा नभएर वास्तविक घटना नै थिए । उपन्यासको मुख्य आधार नै राज्यले शेर्पालाई गरेको उपेक्षा हो । उनीहरुको नाममा भएको राजनीति हो ।
अहिले त पढ्न पाइरहेका छन्, विदेश पुगेका छन्, यी विषयले शेर्पाहरुलाई छुन्छ होला र ?
सबैभन्दा ठुलो मुद्दा नै यहीनेर छ । राज्यको उपेक्षाका कारण आज नेपालका शेर्पाहरु युरोपअमेरिका पुगिरहेका छन् । चौरी गोठ छाडेर शेर्पाहरु विदिसिएका छन् । हिमाल छाड्ने क्रम जारी छ । अरु देशले आफ्नो संस्कृतिक विविधता जोगाउन जातजातिलाई प्रोत्साहन गरी देशमै बस्ने वातावरण बनाइदिन्छ । तर, दुःखको कुरा नेपाल सरकारले शेर्पा जातिलाई नेपालमै बस्ने वातावरण बनाउन सकेन । यो नै अहिलेको मुख्य मुद्दा हो । यो विषय हामी लेखकहरुले पनि उठाउनुपर्छ । म आफै चाहि यसलाई उपन्यासभन्दा बढी मुद्दा भन्न रुचाउँछु ।

सम्बन्धित समाचार