कीर्तिमानी आरोही पण्डितको मृत्यु, ८४ घन्टापछि निकालियो हिमालबाट शव

June 20, 2017

टेक्सस । कीर्तिमानी आरोही तथा अल्ट्रा सञ्जय पण्डितको अमेरिकामा डेनाली हिमाल आरोहणका क्रममा मृत्यु भएको छ। प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा मृत्यु भएको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

दूतावासकाअनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको मृत्यु भएको हो। पण्डितको मृत्यु भएको ४८ घन्टापछि शव हेलिकप्टरबाट उठाइएको छ । खराब माैसमका कारण हेलिकप्टर जान नसकेपछि उक्त काममा कठिनाइ भएको हो । उनको शव परीक्षणपछि  के कारणले उनको मृत्यु भएको पत्ता लाग्ने दुतावासले जनाएको छ ।

अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका गर्न गएका उनको शुक्रबार मृत्यु भएको हो। उनले सर्वोच्च शिखर सगरमाथासहित मनास्लु, अष्ट्रिेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को, किलिमन्जारो, युरोपको एलव्रस लगायत हिमालको सफल आरोहण गरेका थिए। उनले अष्ट्रेलियाको माउन्ट कोजिएस्को उल्टो हिँडेर चुचुरो चुमेको कीर्तिमान बनाएका थिए।

शेर्पा भन्छन्ः सञ्जय भाइको अन्तिम इच्छा पूरा गर्न सकेनौँ (नयाँपत्रिकाबाट)

डेनाली हिमाल उत्तर अमेरिकाको सर्वोच्च शिखर हो । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सजिलो होला, तर अमेरिकाको डेनाली चढ्न गाह्रो छ । अझ त्यो दिन त्यहाँ हावा धेरै चलेको थियो । तापक्रम माइनस ४०–५० डिग्री थियो । उकालो लाग्दै गर्दा सञ्जयको स्वास्थ्य बिग्रिसकेको थियो, ऊ धेरै कमजोर भइसकेको थियो । हामीले बीचबाटै फर्कौँ पनि भनेका थियौँ । तर, उसले मानेन । डेनालीको शिखर २० हजार एक सय ५६ फिटको उचाइमा छ । तर, ऊ १७ हजार दुई सय फिटसम्म मात्र पुग्न सक्यो । नसक्ने पक्का भएपछि उसले आफूले बोकेको ब्यानर हामीलाई दियो, फोटो खिचेर ल्याउनुहोला दाइ भनेर अनुरोध गर्यो । उसको अनुरोध स्विकार्दै हामी डेनालीको चुचुरोमा पुग्यौँ र ब्यानर फहरायौँ जसमा लेखिएको थियो– सेभेन समिट, एभरेष्ट टु डेनाली २०१७ ।

हिमाल चढ्नभन्दा तल झर्न गाह्रो हुन्छ । हामी फर्कँदा साझको ७ः१५ भएको थियो । फर्कँदा सञ्जयले निकै गाह्रो भयो, के गर्ने दाइ भन्यो । हामीले तिमीलाई जसरी पनि बचाउँछौँ भनेर भरोसा दियौँ । मैले उसलाई मेरो ज्याकेट खोलेर लगाइदिएँ । हामी रातभर तलतिर ओर्लिरह्यौँ । तर, सञ्जयको हालत झन्पछि झन् बिगँ्रदै थियो । बिहान ८ः३० देखि ऊ हिँड्नै नसक्ने भयो । रेस्क्युका लागि मेरो साथी टासी रेन्जर टिम लिन जानुभयो । टिम आयो । त्यसवेलासम्म ऊ सकी–नसकी बोलिरहेको थियो । तर, कहिले राइट, कहिले रङ कुरा गरिरहेको थियो ।

उता मेरो हालत पनि खराब भइसकेको थियो । ३० मिनेटसम्म रेस्क्यु टोली नआएको भए म पनि बाँच्ने थिइनँ होला । मेरो साथी टासीको खुट्टामा पनि क्लोज बाइट भएको थियो । तर, त्यति प्रतिकूल अवस्थामा पनि हामीले सञ्जयलाई माइनस ४० डिग्रीबाट पनि बचाएर ल्याएका थियौँ । तर, क्याम्प ५ मा आउँदासम्म हामीसँग उसको शरीर मात्र थियो, प्राण उडिसकेको थियो ।

रेन्जर टोली उसको शव लिएर क्याम्प ५ मा आयो । त्यही टोलीको सहयोगले मात्र हामी पनि त्यहाँसम्म आउन सक्यौँ । उनीहरूले सञ्जय भाइलाई पनि बचाउन निकै प्रयास गरे । हेलिकोप्टर पनि मगाए, तर बचाउन सकेनन् ।

अहिले हामी टल्किट्ना भन्ने सानो–सानो गाउँमा छौँ । यो बेस क्याम्पबाट फस्र्ट एयरपोर्ट भएको स्थान हो । यहाँबाट साउथ कोरिया हुँदै काठमाडौं जान सकिन्छ । सञ्जय भाइको शव पनि यही गाउँमा छ । तर, हामीले हेर्न पाएका छैनौँ । सायद उनीहरूले नेपाली अधिकारीलाई जिम्मा लगाउने तयारी गरिरहेका होलान् ।

अन्तिम अवस्थामा उसले घर–परिवारलाई निकै याद गरिरहेको थियो । मलाई मेरी श्रीमतीसम्म पुर्याइदेऊ दाइ भनिरहेको थियो । तर, दुर्भाग्य ! उसको अन्तिम इच्छा पूरा गर्न हामी असफल भयौँ ।

सम्बन्धित समाचार