सरकारको नीति तथा कार्यक्रम : भत्ता बढ्नेदेखि रेलमार्ग निर्माणसम्म [पूर्णपाठ]

May 4, 2019

काठमाडौं । सरकारको तर्फवाट आर्थिक वर्ष २०७६/०७७ को लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी छन् । बैशाख २० गते स‌ंसदमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यसबीच सरकारले विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य गरेको बताइन् ।

‘पृतकतावाद एवं विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य भएको छ। राष्ट्रिय एकता र अखण्डता सुदृढ भएको छ,’ उनले भनिन्, ‘द्वन्द्व होइन मैत्री भाव । असन्तुष्टि होइन सक्रियता । फाटो होइन एकता नेपाली समाजको मूल चरित्रको रुपमा विकसित हुँदै छ। जनअभिमतलाई सम्मान गर्ने सबै राजनितिकहरु संविधानको प्रवन्धलाई आत्मसात गरी राष्ट्रिय राजनीतिको मूल धारमा आवद्ध हुनु यस अवधिको असाधारण उपलब्धि हो ।’

उनले राजनीतिक दलहरु राजनीतक सिद्धान्तको आधारमा एकीकृत हुँदै जानु सुखदस्थिति बनेको बताइन् । राष्ट्रपति भण्डारीले यसबीच अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रतिको विस्वास बढेको बताइन् । उनले नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको बताइन् ।

उनले चीनको हालै भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको दाबी गरिन् । चीनले नेपालको समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न हर सम्भव साथ दिने प्रतिवद्धता व्यक्त गरेको उनले बताइन् ।

सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले भत्ता बढ्ने घोषणा गर्दा सत्तारुढ दलका सांसदले खुशी हुँदै टेलब बजाएका थिए ।

चालु आर्थिक वर्षमा वृद्ध भत्ता नबढेका कारण आक्रोशित सत्तारुढ सांसदहरु आगामी वर्ष भत्ता बढ्ने खबरले खुशी भएका हुन् ।सत्तारुढ नेकपाले पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने घोषणा गरेको थियो । अहिले २ हजार रुपैयाँसम्म भत्ता वितरण भइरहेको छ ।

 

सरकारले उच्च आर्थिक विकासको महत्वकांक्षी योजनासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने दाबी गरेकी छन्।

सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएका मुलुकको सूचीमा पुग्ने र विक्रम संवत् २१०० भित्र उच्च मध्यम आय भएका मुलुकको सूचीमा पुर्‍याउने लक्ष्य राखिएको छ। चार वर्ष भित्रमा दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने सरकारको योजना छ।

रेलमार्ग निर्माण गरिने

सरकारका तर्फबाट ठूला आयोजना प्रवर्द्धन गर्ने र लगानीका लागि नागरिकलाई आव्हान गर्ने सरकारको योजना छ । लामो समयदेखि अधुरा रहेका राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारले योजना बनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षको सुरुबाटै र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुबाट सञ्चालनमा ल्याउने सरकारको योजना छ । निजगढको सुरुवात आउँदो वर्षबाट हुने राष्ट्रपति भण्डारीले बताइन् ।

भेरी बबई डाइभर्सन् बहुद्देश्यीय आयोजना अबको २ वर्षभित्र सक्ने महत्वकांक्षी योजना सरकारको छ । सिक्टा सिँचाई आयोजनाको काम चार वर्षमा सक्ने र रानी-जमरा-गुलरिया आयोजनाको पहिलो चरणको काम सक्ने सरकारको दाबी छ ।

चार वर्ष भित्रमा पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग र काठमाडौं तराई फास्ट ट्रयाक निर्माण सक्ने भण्डारीले बताइन् । यसै गरी जोमसोम-कोराला सडक बाह्रै महिना चलाउने र कोसी तथा कर्णाली कोरिडोरको ट्रयाक खोलिसक्ने सरकारको दाबी छ ।  राष्ट्रपति भण्डारीले पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निर्माण सुरु गर्ने सरकारको योजना रहेको बताइन् ।

आगामी आर्थिक वर्षमा ५ लाख रोजगारी सिर्जना गरिने सरकारको दाबी छ । कर भुक्तानी लागत घटाउने र विवाद निरूपण प्रणालीमा सुधार गर्ने भण्डारीले उल्लेख गरिन् । उत्पादक र उपभोक्ताबिचको मध्यस्थकर्ता र उत्पादन लागत न्यूनीकरणको योजनना अघि बढाउने सरकारको योजना छ ।

जेठ १ गतेदेखि एकल बिन्दु सेवा केन्द्रको सुरुवात गर्ने सरकारको योजना छ । यसले विदेशी लगानीकर्तालाई सहजरुपमा नेपाल प्रवेशको बाटो तय हुने सरकारको दाबी छ । आगामी वर्ष सातवटै प्रदेशमा औद्योगिक क्षेत्र र चार वर्षमा प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने घोषणा गरिएको छ ।

आगामी आर्थिक वर्षबाट नवलपरासीबाट फलाम खानीलाई व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने सरकारको योजना छ । बहुमूल्य पत्थर प्रशोधन कारखाना स्थापना गर्ने राष्ट्रपति भण्डारीले बताइन् । सिमेन्टलाई प्रमुख निर्यातयोग्य उद्योग बनाउने सरकारको योजना छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनको व्यवस्था मिलाइने राष्ट्रपति भण्डारीले बताइन् । उपत्यका नजिकैको स्थानमा आन्तरिक विमानस्थल बनाउने र हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थललाई ठूला जहाज उडान र अवतरण गर्न सक्ने बनाउने सरकारको योजनामा छ । राष्ट्रिय राजमार्गमा हवाई सेवाका आपत्कालीन अवतरण गर्न सकिने बनाउने घोषणा पनि सरकारले गरेको छ ।

सरकारले सिँचाई क्षेत्रका केही आयोजनाको अध्ययन अघि बढाउने घोषणा गरेको छ । कन्काई बहुद्देश्शीय जलविद्युत आयोजनाको अध्ययन सम्पन्न गरी कार्यान्वयन अघि बढाउने सरकारको योजना छ । कोसी, त्रियुगा, नारायणीलगायतका नदी किनारामा तटबन्ध निर्माण गर्ने सरकारको लक्ष्य छ ।

१५ औँ योजना कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली योजना कार्यान्वयनको मूल आधार तयार हुने राष्ट्रपति भण्डारीले बताइन् । असमानता र गरिबी न्यूनिकरण गर्दै दिगो विकास हासिल गर्ने सरकारी योजना छ । सम्पूर्ण नेपाली जनतालाई राजनीतिक परिवर्तनको लाभ दिने सरकारले घोषणा गरेको छ ।

 

काठमाडौंलाई भारत र चिनियाँ रेलले जोड्ने सरकारले घोषणा गरेको छ। अबको दुई वर्षमा यी रेलमार्गको निर्माण सुरु गर्ने सरकारको लक्ष्य छ।

पूर्णपाठ

सरकारको नीति तथा कार्यक्रम २०७६-७७ फाइनल by Everest Times on Scribd

सम्बन्धित समाचार