सय वर्षमा सत्यमोहन जोशी

May 20, 2018

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गरेका छन् ।

विसं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा जन्मेका जोशी तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति हुन् । जोशी संस्कृतिविद् जोशी हुन् ।

जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाएका थिए । ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो ।

विसं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बने । जोशीले २०१६ सालमा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गरे । भाषा, कला, संस्कृतिको संरक्षण, संबद्र्धन र विकासमा उनले महत्वपूर्ण योगदान पु¥याएका छन् । जोशीको योगदानको कदर गर्दै सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्तलगायत पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

काठमाडौँ विश्वविद्यालयले जोशीलाई मानार्थ विद्यावारिधिको सम्मानसमेत प्रदान गरेको छ । नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीप र शताब्दी पुरुषको सम्मान दिएको छ । जोशीले संस्कृतिको क्षेत्रमा पु¥याएको योगदान स्मरण गर्दै जन्मदिनमा बिहानैदेखि उहाँको निवास पाटन पुगेर सम्मान गर्नेको भीड लाग्यो । जोशीको घरमा पुग्नेले सुस्वास्थ्य, दीर्घायु र सांस्कृतिक क्षेत्रमा अझै धेरै ज्ञान र अनुभव बाँड्न सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए ।

जोशीको योगदानको कदर गर्दै यसै वर्ष ललितपुर महानगरपालिकाले जोशीलाई चालकसहितको सवारी साधनको सुविधासमेत उपलब्ध गराएको छ ।

 

सम्बन्धित समाचार