तामाङ फिल्महरु उस्तै हुन् भन्ने धारणा बदल्नुपर्छ-राजकुमार मोक्तान

August 25, 2017

फिल्म नहेरी राम्रो भन्नुभन्दा हेरेर नराम्रो भन्नुहोस

एभरेस्ट टाइम्स/काठमाडाैं

राजकुमार मोक्तान गीतकार, कवि हुन् । दुई दशकको लेखन यात्रामा उनले चारवटा नेपाली र एउटा तामाङ एल्बम बजारमा ल्याए । विभिन्न गायकगायिकाका एल्बममा गरी ७० भन्दा बढी गीत रेकर्ड गराए । शान्तिको अपहरण खण्डकाव्य प्रकाशन गरे ।

उनै राजकुमार पछिल्लोपटक फिल्म निर्माण निर्देशनमा लागेका छन् । उनको निर्माण निर्देशनमा बनेको तामाङ फिल्म ‘सेम ताबा म्हि(मनपर्ने मान्छे)’ काठमाडौंमा तीनपटक प्रिमियर शो सम्पन्न भइसकेको छ । यही फिल्म अमेरिकाको न्युयोर्कमा हुन लागेको आदिवासी चलचित्र महोत्सव–२०१७ मा पनि प्रदर्शन हुदैछ ।

कुनै बेला रामेछापको हिलेदेवीबाट इन्जिनियर बन्छु भनेर काठमाडौं पसेका राजकुमार आफुले बनाएको फिल्मको कथावस्तु, प्रस्तुति दर्शकले मन पराइदिएकोमा दंग छन् । ‘फिल्म रामेछापकै हिलेदेवी, दोलखाको कालिञ्चोक, मुडे, खरीढुंगा र काठमाडौंको गोकर्णमा सुटिङ गरिएको हो, स्थानीयपन र तामाङको लोकल स्वाद फिल्ममा पस्केको छु,’ निर्देशक मोक्तानले भने, ‘आर्गनिक भएर होला, दर्शकले मनपराइ दिनुभएको छ, एकदमै खुसी लागेको छ ।’ ऋतुराज पाख्रिन र सुष्मा थिङको मुख्य अभिनय रहेको फिल्ममा अमिर दोङ र पूर्णिमा लामा अतिथि भूमिकामा देखिएका छन् । फिल्मका नायक ऋतुराजको पटकथा र संवादमा तयार भएको फिल्ममा राजु नेगी, दीपशिखा लामा, सौरभ लामा, गंगा मोक्तान, पत्रकार प्रतीक ङेसुर तामाङ, अनिता तामाङ, उर्मिला दोङ, नानु ग्लान, यमरसिंह ब्लोनलगायतको भूमिका रहेको छ । यिनै कलाकारको बेजोड अभिनयले फिल्मलाई दर्शकले स्वादिलो मानेको निर्देशक राजकुमारको भनाई छ । फिल्ममा अमृत लामा, शशिकला मोक्तान, प्रयास दोङ, निर्मला घिसिङ, बबिता पाख्रिन र इन्दिरा गोलेको स्वरमा चार गीत रहेका छन् ।

तामाङ भित्र पनि संस्कृतिको विविधता रहेको र भाषाको लवजमा फरकपन रहेकोले केही समस्या भएपनि पछिल्लो समय धेरैले तामाङ विषयवस्तुमा निर्माण भएको फिल्म मनपराउन थालेको राजकुमारको दाबी छ । त्यही अनुसार फिल्मको गुणस्तर पनि उकासिएको उनको अनुभव छ । राजकुमार भन्छन्, ‘तामाङ फिल्महरु उस्तै हुन् भन्ने अवस्था परिसकेको छ, पछिल्लोपटक तामाङ फिल्महरु राम्रै बन्दै आएको छ, त्यसैले मेरो अनुरोध छ, नहेरी राम्रो भन्नुभन्दा हेरेर नराम्रो भन्नुहोस ।’

फिल्मका कथाहरु राष्ट्रिय अन्तर्राष्ट्रिय सबैतिर उस्तै हुने र प्रस्तुति हेरेर फिल्मलाई राम्रो र नराम्रो भन्न सकिने उनको भनाई रहेको छ । ‘फिल्मका कथावस्तु प्रायः सबै फिल्ममा उस्तै हुन्छन् । मात्र प्रस्तुतिकरणमा फरकपन हुन्छ । हो, यही विषयलाई मैले पकडेको छु । धेरै फिल्महरु हेर्दा बटुलेको ज्ञान मैले निर्माणमा प्रयोग गरेको छु । मुख्यतयः तामाङको कथा हो यो । तर, यस्तो दुःख, यस्तो व्यथा, यस्ता कथा हरेक जातिमा हुन्छ । यसले हरेक मानिसको मन छुन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।

कुनैबेला इन्जिनियर बन्ने सपना बोकेर काठमाडौं छिरेका राजकुमारले हिरो बन्ने सपना पनि बोकेका थिए । गायक बन्छु भन्ने सपना पनि साँचेका थिए । आफैले फिल्म बनाउँदा पनि नायक बन्ने सपना पुरा भएन उनको । ‘मलाई पनि रोल गर्नु भनेको थियो साथीहरुले, तर न्याय हुदैन भनेर मैले खेलिनँ,’ उनले सम्झे । तीनै सपना पुरा नभएपनि आफ्नो मौलिक फिल्म बनाउन पाएकोमा निकै खुसी छन् । ‘सबैभन्दा खुसी त आफुले बनाएको फिल्म दर्शकले मनपराइदिएकोमा लागेको छ,’ राजकुमारको अनुहारमा गर्वको मुस्कान भरियो ।

सम्बन्धित समाचार