सबैलाइ हसाउँने भद्रगोलका निर्देशक वरिष्ठेका दुःख, अभिनय यात्रा अनाथलयबाट सुरू

August 3, 2017

शंकर अाचार्य नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य श्रृंखला ‘भद्रगोल’ का निर्देशक हुन् । भद्रगोलबाट उनी ‘वरिष्ठे’का रुपमा प्रख्यात छन् । काठमाडौंको मुड्कु भञ्ज्याङमा जन्मिएका आचार्यले २०३४ बाट अभिनय यात्रा सुरु गरेका हुन् । आचार्यको पहिलो अाैपचारिक हास्य कोसेली भने ‘निर्मलगंगा’ नामक नाटक थियो । २०४४ मा मञ्चन गरिएको उक्त नाटक हेरेपछि उनलाई धेरैले ‘मदनकृष्ण हरिवंश’ भन्ने गर्थे । उनले हास्य कलाकारिता भने २०३८ बाटै सुरू गरेका थिए ।

कलाकारिता यात्राका क्रममा चलचित्र, टेलिश्रृंखला, नाटकमा विभिन्न चरित्रमा अभिनय गरेका उनी नेपाल टेलिभिजनबाट प्रसारण भएको चर्चित पारिवारिक श्रृंखला ‘शंका’मा अभिनय गर्थे । शंकाकाे लेखन, निर्देशन र निर्माण अाचार्यले नै गरेका थिए ।

‘लभ फरेभर’ नामक फिल्म पनि निर्माण गरेका उनले हालै ‘होक्से’ नामक फिल्म निर्माण गरेका छन् । मृगौला बेचबिखनसम्बन्धी बनेको फिल्म विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । यसैगरी आचार्य नयाँ हास्य श्रृंखला ‘कस्तो कस्तो’ निर्माणमा पनि व्यस्त छन् । यसपटक उनै कलाकार शंकर आचार्यसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः


भद्रगोलको निर्देशक, वरिष्ठ पदमा हुनुहुन्छ, भूमिका पनि वरिष्ठेकै छ, धेरैले मनपर्ने गरी बनाउनुभएको छ, कतिको दुःख गर्नुपर्छ ?

भद्रगोल चर्चामा आउनुको मुख्य कारण त टिमकै संयुक्त प्रयास हो । अर्को मुख्य पाटो भनेको कथावस्तु हो । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ उहाँहरु दुइजनाको लेखन अत्यन्त बेजोड छ । म निर्देशक भएपनि सबै कलाकारहरुले एकदमै मन लगाएर अभिनय गर्नुभएकोले भद्रगोल सबैको प्रिय भएको हो । एकसेएक कलाकारको साथ र दर्शकको वाहवाही पाएकाले दुःख भएपनि खुसी छु ।

तपाईं धेरै अघिदेखि कलाकारिता क्षेत्रमा हुनुहुन्छ, तर हास्य श्रृंखलामा भद्रगोलबाट चर्चामा आउनुभयो ?

यो त निकै खुसीको कुरा हो । कलाकारितामा मैले २०३४ सालमा प्रवेश गरेको हुँ । काभ्रेस्थित पाँचखलमा रहेको समाज कल्याण केन्द्रको अनाथ गृहबाट मेरो कलायात्रा सुरु भएको हो । २०३८ सालबाट हरेक शुक्रबार नाटक गर्न थाले । हास्य कलाकारिताको सुरूवात यहीबाट भयो । निबन्ध, कविता, गीत लेख्ने क्रममै मैले नाटक यात्राबाट कला यात्रा थलेको हुँ । ०४२ सालमा एसएलसी पास गरें । त्यसपछि कलाकारिताको रस झनै बस्यो । २०४४ सालमा निर्मलगंगा नामक नाटक बनाएर राष्ट्रिय नाचघरमा प्रदर्शन गरें । धेरैले मन पराउनुभयो । दर्शकहरु पेट मिचिमिचि हाँस्थे । मलाई मदनकृष्ण हरिवंशसमेत भन्न थाले । त्यसपछि ०४५ सालमा विवाह भयो । कला यात्राकै क्रममा विभिन्न फिल्म र टेलिश्रृंखलामा विभिन्न भूमिकामा अभिनय गर्ने मौका पाएँ । पछिल्लो समय लभ फरेभर फिल्म बनाएँ । काभ्रेको होक्से क्षेत्रको मृगौला बेचबिखनमा लागेकाहरुको ब्यथालाई सामाजिक चेतनामुलक फिल्म पनि बनाएको छु ।

तपाईं काठमाडौंमा जन्मनुभएको मान्छे, पाँचखालको अनाथलयसम्मको यात्रा कसरी भयो ?

मेरो बुवा पनि हुनुहुन्थ्यो । आमा पनि हुनुहुन्थ्यो । तर, म अनाथलय पुगें । यो मेरो लागि ठुलो दुर्भाग्य थियो । सानोमा म लहैलहैमा लागेर बिजुलीको तार समात्न गएछु । त्यहीबेला जलेको म भाग्यले बाँचेछु । अस्पतालका लागि खर्च माग्दा बुवाले दिनुभएन । उहाँको चाहना मैले दुःख पाएको हेर्ने मन रहेछ । त्यसपछि म एक्लै भएँ अस्पतालमा । अनि, घाउ निको भएपछि मैले आमालाई अनुरोध गरेर पाँचखालको अनाथलयमा गएर पढ्न थाले । त्यहीबाट मेरो कला यात्रा सुरु भयो । म यसलाई नकरात्मक रुपमा हेर्दिनँ । सायद त्यहाँ नपुगेको भए शंकर आचार्य यसरी दर्शकहरुलाई हसाँएर बसेको हुदैन थियो होला ।

तपाईं फिल्म निर्माणमा पनि लाग्नुभएको छ, भर्खरै ‘होक्से’ नामक फिल्म प्रदर्शनको क्रममा हुनुहुन्छ, यसबारेमा बताईदिनुहोस न ।

मैले लभ फरेभर भन्ने फिल्म बनाएँ । फिल्म त्यति चलेन । अहिले फेरि एक्लो प्रयासमा ‘होक्से’ नामको फिल्म बनाएको छु । यो काभ्रेको होक्से भन्ने ठाउँका मृगौला बेचबेखिनमा लाग्नेहरुको व्यथा हो । यो फिल्म विभिन्न कलेजहरुमा प्रदर्शन गरिसकेको छु । फिल्म चले पनि नचले पनि मलाई यो फिल्म बनाउन पाएकोमा ठुलो सन्तुष्टि मिलेको छ । यो फिल्म नबनाएको भए मेरो जन्मको सार्थकता हुने थिएन जस्तो लाग्छ । सामाजिक चेतनामुलक यो फिल्म देश विदेशमा देखाउने रहर पनि छ ।

अबका दिनमा तपाईका नयाँ प्रस्तुतिहरु पनि आउदैछन् कि ?

म अहिले एस्प्रो मिडियाका लागि एउटा हास्य श्रृंखला ‘कस्तो कस्तो’ मा पनि व्यस्त छु । मिडिया हबको सोम धितालजीको अनुरोधमा यो श्रृंखला तयार भएको हो । सहरीय परिवेशको कमेडी सिरिजको केही भाग छायाँकन भइसकेको छ । आशा छ यो चाँडै नै प्रसारणमा आउनेछ र दर्शकहरुले मनपराईदिनुहुनेछ ।

 

सम्बन्धित समाचार