साधना नभए संगीत क्षेत्रमा टिकिन्न–शशिकला मोक्तान, गायिका

May 18, 2017

रामेछापको दोरम्बामा जन्मिएकी शशिकला मोक्तान सेलो गीतमा चर्चित छिन् । तामाङ चलचित्रका अधिकांश टाइटल गीतदेखि सेलो र नेपाली गरी झण्डै एक हजार गीतमा उनले स्वर भरिसकेकी छन् । उनै गायिका मोक्तानसँग एभरेस्ट टाइम्सका लागि वसन्त खड्काले गरेको कुराकानी ः
सांगीतिक क्षेत्रमा कहिले देखि लाग्नु भयो ?
एक दशकभन्दा पनि बढी समय भयो यो क्षेत्रमा लागेको । २०५९ सालमा पहिलो पटक तामाङ भाषाको सेलो ‘ह्याङला रिमठिम’ (हाम्रो रितिरिवाज) भन्ने गीतबाट सांगीतिक यात्रा सुरु भएको हो ।
हालसम्म कति गीतमा आवाज दिनुभएको छ ?
नेपाली र तामाङ भाषाका गरी झण्डै एक हजार गीतमा आवाज दिएको छु । त्यसमध्ये तामाङ भाषाका २२÷२३ वटा जति चलचित्रका टाइटल गीत नै मैले गाएको छु । सेलोहरु गाएको छु । कतिपय नेपाली गीतहरु पनि गाएको छु ।
सांगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाइसक्नु भएको छ, यसका लागि औपचारीक रुपमा अध्ययन पनि गर्नुभएको छ कि अभ्यास मात्र हो ?
मैले एसएलसीसम्मको अध्ययन गाउँबाटै गरेँ । त्यसपश्चात काठमाडौंमा आएर ललितकला क्याम्पसमा भर्ना भएर संगीतमै अध्ययन गरें । अहिले पनि यही विषयमै स्नातक तह अध्ययन गरिरहेको छु ।
तपाई एक दशकभन्दा पनि बढी समयदेखि यस क्षेत्रमा निरन्तरता दिइराख्नु भएको छ ? तपाईको अनुभवमा यस क्षेत्रमा लामो समयसम्मको निरन्तरताको लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
संगीत भनेको साधनाबाट मात्र सम्भव हुने कुरा हो । त्यसैले मिहेनत नै नगरी यस क्षेत्रमा टिकिरहनु सम्भव हुँदैन । कडा परिश्रम र निरन्तरको साधनाले मात्र यस क्षेत्रमा लामो समयसम्म निरन्तरता पाउन सकिन्छ । त्यसैले यस क्षेत्रमा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै साधना हो ।

तर अहिले त जो कोही पनि सहजै सांगीतिक क्षेत्रमा उदाइरहेको देख्न सकिन्छ नि ?
अहिले सांगीतिक क्षेत्रमा साधना गरेर वा लामो अभ्यास गरेर आउने भन्दा पनि राता रात पैसा लगानी गरेर चर्चा कमाउने प्रवृत्ति बढेको छ । यसले तत्काललाई केही चर्चा कमाउन त सकियला तर लामो समयसम्म यसै क्षेत्रमा निरन्तरता दिन अप्ठेरो हुन्छ । त्यसैले त्यस्तो प्रवृत्ति यस क्षेत्रका लागि राम्रो हुँदैन ।
तपाईलाई बढी चर्चामा ल्याएको गीत कुन हो ?
सन् २०१० मा निकालेको नेपाली भाषाको एल्बम नाचु, नाचु लाग्यो मलाईले मलाई सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइदियो । अहिले पनि अधिकांश संगीतका पारखीहरुले त्यही गीतकै कारण मलाई चिन्नु हुन्छ ।

सांगीतिक प्रस्तुति लिएर हालसम्म कहाँ कहाँ पुग्नु भएको छ ?
नेपालमा पूर्वका झण्डै आधा भन्दा बढी जिल्लाहरु घुमेको छु । विदेशमा, मलेसिया, दुबइ, कोरिया, जापान, अस्ट्रेलिया तथा भारतका विभिन्न भूभागमा पुगेको छु । सांगीतिक कार्यक्रमका सिलसिलामा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले दिने मायाले थप खुसी र हौसला प्रदान गर्छ ।

यस क्षेत्रमा तपाईले करिअर सुरु गर्दाको अवस्था र अहिलेको अवस्थामा के भिन्नता पाउनुहुन्छ ?
सुरुमा यस क्षेत्रमा लाग्नेहरुको संख्या निकै कम हुन्थ्यो, मेहनत गरेर एल्बम निकालेपछि एल्बमको बिक्रीबाटै कलाकारलाई राम्रो आम्दानी हुन्थ्यो । तर अहिले प्रविधिमा भएको विकासका कारण एल्बम बिक्री गरेर आम्दानी गर्न सक्ने अवस्था छैन । अहिले त लगानी गर्ने हो तर त्यसबाट आम्दानी हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । राम्रो गीत गाउन सकेमा स्टेज कार्यक्रमहरुबाट मात्रै आम्दानी गर्न सकिन्छ । त्यसैले पहिले भन्दो धेरै अप्ठेरो छ । तर प्रविधिको विकासले गर्दा केही सहज भने अवस्य भएको छ । साथै यस क्षेत्रमा लाग्नेहरुको भिड पनि दैनिक रुपमा बढीरहेको छ । जसले गर्दा तिव्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।
तपाईको व्यक्तिगत जीवनको बारेमा पनि हाम्रा पाठकहरुलाई केही बताइदिनुस न ?
मैले रामेछापबाट काठमाडौ आएर सांगीतिक क्षेत्रलाई निरन्तरता दिइरहेको छु । सांगीतिक यात्राकै क्रममा २०७० मा बिहे गरें । हाल दुई वर्षको छोरा छ । श्रीमान युएनमा कार्यरत हुनुहुन्छ । बिहेपछि पनि पहिले जस्तै यस क्षेत्रलाई निरन्तरता दिइरहेको छु । पारिवारिक सहयोगका कारण बिहेपछि पनि यस क्षेत्रमा सक्रिय हुन कुनै कठिन भएको छैन । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु ।

आगमी दिनमा कुनै नयाँ एल्बम ल्याउने वा सांगीतिक क्षेत्रमा केही नयाँ गर्ने सोँच बनाउनु भएको छ ?
छिट्टै नै एउटा नयाँ एल्बम ल्याउने तयारी गरिरहेको छु । सम्भवत दसैं अगाडी नै नेपाली गीतको एल्बम बजारमा आउँछ होला । मेरो हालसम्मको सफलता भन्नु नै दर्शक र स्रोताहरुको माया र सम्मान हो । आगामी दिनमा पनि यसरी नै माया र सम्मान पाउनु छु भन्ने अपेक्षा गर्छु ।

सम्बन्धित समाचार