व्यक्ति होइन, कामको चर्चामा विश्वास गर्छू-शीतल कादम्बिनी

May 18, 2017

सानैदेखि गीतसंगीत एवं साहित्यमा रुचि राख्ने शीतल कादम्बिनी पछिल्लो समय चर्चित गीत तथा गजल सर्जक तथा साहित्यकारका रुपमासमेत चर्चामा छिन् । पुख्र्र्याैली घर गोरखा भएकी उनी पछि बाबु आमासँगै बसाई सरेर चितवनको भरतपुरमा झरिन् । त्यसपछि एसएलसीसम्मको अध्ययन भने नेपालगञ्जमा भयो । पछि उनी काठमाडौं आएर नेपाली साहित्यमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गरिन । आफूलाई साहित्यकार भन्न रुचाउने कादम्बिनी नेपालीसँगै हिन्दी तथा उर्दु गीत गजलहरु पनि लेख्छिन् । हिन्दी र उर्दु गीतसंगीत तथा साहित्यमा रुची हुनुका पछाडि सानैदेखि नेपालगञ्जको बसाई पनि एउटा कारण भएको उनी बताउँछिन् । २०६५ सालमा रेडियो नेपालबाट सर्वाेकृष्ट गीतकारको उपाधिसमेत हात पारेकी उनी पछिल्लो समय चर्चित व्यवसायिक गीत तथा गजल लेखिका स्थापित छिन् । कादम्बिनी, निर्जली तथा शीतल लगायतका एल्बमहरुसमेत निकालेकी उनै शीतल कादम्बिनीसँग एभरेस्ट टाइम्सका लागि बसन्त खड्काले गरेको कुराकानीको सार ः
तपाईंका जुन गीत पनि हिट भइरहेका छन्, लेखनमा जादु कसरी भर्नुहुन्छ ?
म गीत, गजल तथा साहित्य देख्दा गुणस्तरमा कहिले पनि सम्झौता गर्दिनँ । शब्द चयनदेखि हरेक पाटोलाई निकै ध्यान दिएर लेख्छु । त्यस्तै मेरो गीतमा संगीतकारदेखि गायकलेसमेत निकै मेहनत गरेर गाउनुहुन्छ । जसले गर्दा मैले लेखेका गीतलाई स्रोताहरुले मन पराईरहनु भएको छ । आफ्नो सिर्जनाले चर्चा कमाउँदा रुपमा खुसी नहुने त कुरै भएन । यसले मलाई थप उर्जा दिईरहेको हुन्छ । र थप राम्रो गर्न प्रेरित गरिरहेको हुन्छ ।
अहिले झुमा झुम्कावाली हिट छ, यो कुन सन्दर्भमा लेखिएको गीत हो ?
यो खास गरी डेउडा शैलीमा लेखिएको गीत हो । मैले पहिले नेपालगञ्जमा बसेको हुनाले त्यहाँको गीतसंगीतलाई पनि राम्रोसँग बुुझेको छु । त्यतैको एक जनाले यो गीत लेखिदिनका लागि आग्रह गर्नुभएको थियो । त्यहाँको भावलाई शब्दमा उतारेर लेखिएको गीत हो यो । तर तपाईले यसको भिडियोमा भने केही फरक पाउनुहुन्छ । जे होस यसलाई स्रोताहरुले मन पराईदिनुभएको छ । खुसी लागेको छ ।

साहित्य क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
मेरो सानै देखिको रुची गीत संगीत तथा साहित्यमा थियो । स्कुलहरुमा हुने कार्यक्रमहरुमा म सधै प्रथम हुन्थे । पछि विस्तारै गीत गजलहरु लेख्न थालेँ । तर मैले मेरा गीत गजलहरु यसरी बजारमा एल्बमको रुपमा ल्याउछु व्यवसायिक रुपमै यस क्षेत्रमा लाग्छु भनेर कहिल्यै सोचेकै थिएन । मलाई त गीतहरुलाई कसरी एल्बमको रुपमा ल्याईन्छ भन्ने सम्म पनि थाहा थिएन । तर पछि गायक शिव परियारसँग भेट भएपछि उहाँले मैले लेखेका गीतहरुलाई एल्बमको रुपमा निकाल्नका लागि प्रोत्साहन गर्नुभयो । शिव परियारले मैले लेखेका केही गीतहरु गाउनु पनि भयो जस्तो ‘धेरै चोटी मरे मत’, ‘कहाँ थियो रंगमञ्च उठेपछि आयौ’ लगायतका गीतहरुले निकै चर्चा पनि पाए । त्यसपछि २०६६ सालदेखि व्यवसायिक रुपमै गीत गजलहरु लेखनतर्फ लागेँ ।
तपाई गीत लेख्नुहुन्छ, त्यही गीत गाउने गायकगायिका चर्चामा पुग्छन, तर तपाईहरु भने पर्दापछाडी नै रहनुहुन्छ । कस्तो महसुस हुन्छ ?
मलाई सामान्य नै लाग्छ । व्यक्तिगत चर्चाप्रति मलाई विश्वास लाग्दैन । किन भने हामी भनेका पर्दा पछाडिका हिरो हाँै । हाम्रो सिर्जनाले चर्चा कमाउनु भनेको हाम्रो सफलता हो । हामीले राम्रो गर्न सकेनाँै भने हाम्रो सिर्जनाले कसरी चर्चा कमाउन सक्छ र ? त्यसैले व्यक्तिगत पब्लिसिटीलाई मैले खासै महत्व दिँदैन । म जहिले पनि मेरो कामलाई विश्वास गर्छु । जस्तो पछल्लो समय मैले लेखेका ‘मेची तिम्रो कोशी तिम्रो’ प्रमोद खरेलले गाएको ‘झुम्कावाली’, ‘चल बतास’ लगायतका गीतहरुले राम्रै चर्चा पाईरहेका छन् । भलै यी गीतहरुबाट मैले व्यक्तिगत रुपमा चर्चा नपाएको हुँला तर मेरो कामको त चर्चा भइरहेको छ नि ? त्यसैले म कामप्रति समर्पण हुन चाहन्छु, जसले भोलीका दिनमा चर्चा कमाउन सकोस ।
गीत संगीतको बजार कमजोर छ भनिन्छ । लगानीकर्तालाई लगानी उठाउनै धौ धौ हुने अवस्था छ । यस्तो अवस्थामा लेखकहरुको आम्दानीको स्रोत के हो ?
लेखकहरुले सुरुमा नै आफ्नो गीतको निश्चित मूल्य लिईसकेका हुन्छन् । त्यसैले पहिलो चरणको आम्दानी भनेको गायक गायिकाहरुलाई आफ्नो गीत दिएमार्फत लिने रकम हो । त्यसपछिको आम्दानी भनेको गीत संगीत बजारमा गईसकेपछि त्यसबापत आउने रोयल्टी हो । गीत संगीतबाट प्राप्त हुने रोयल्टीको केही हिस्सा लेखकले पनि पाउँछ । त्यसरी नै आम्दानी गर्ने हो । पहिलो जस्तो बजार राम्रो नभएकाले आम्दानी पनि स्वभाविक रुपमा कमजोर हुन्छ ।
नेपालमा गीत लेखेरै जीवन धान्न सक्ने अवस्था छ कि छैन ?
मेरो हकमा भन्नुहुन्छ भने निकै सहज छ । म गीतहरु लेखेरै आफ्नो जीवन सहज रुपमै अघि बढाईरहेको छु । आर्थिक रुपमा राम्रै आम्दानी गरिरहेको छु । मैले लेखेका गीतहरुको निकै ठूलो माग छ । ती गीत लेखेबापत प्राप्त हुने आम्दानीले राम्रै ढंगले जीवत चलिरहेको छ ।
तपाई नेपाली गीत गजलसँगै हिन्दी र उर्दु गीत गजल पनि लेख्नुहुन्छ, यसतर्फ कसरी आकर्षित हुनुभयो ?
मैले पहिले पनि भनिसकेँ म नेपालगञ्जमा हुर्के बढेकाले त्यहाँको माहोलले पनि मलाई हिन्दी तथा उर्दु साहित्यतर्फ आकर्षित ग¥यो । पछि लेख्दै गर्दा भारतका विभिन्न ठाउँमा पनि कार्यक्रमको शिलशिलामा पुग्ने गरेकी छु । त्यहाँ मैले आफ्नो सिर्जना प्रस्तुत गर्दा हिन्दी तथा उर्दु साहित्यसम्बन्धी दर्शक तथा स्रोताहरुले निकै मन पराईदिनुहुन्छ । यसले थप हौसला प्रदान गर्छ ।
गीत तथा गलजहरु लेख्दा कस्तो वातावरण वा परिवेशमा लेख्नुहुन्छ ?
गीत लेख्नका लागि मैले कुनै विशेष तयारी गर्दिन, म सुरुमै कापी र कलम लिएर गीत, गजल लेख्न कहिल्यै बसेको छैन र बस्दैन पनि किन भने त्यसरी तयारी गरेर मैले लेख्नै सक्दैन । म निकै अल्छी स्वभावकी छु । भित्रैबाट खुलेर आयो भने खाना पकाउँदा पकाउँदै वा यात्रा गर्दा गर्दै पनि लेख्छु । तर कुनै तयारी गरेर वा समय मिलाएर लेख्ने चलन छैन । त्यसैले कुनै विशेष वातावरण वा परिवेशले मेरो लेखनलाई निर्धारण गर्छ भन्ने हुँदैन ।
हालसम्म कति गीत गजल लेख्नुभएको छ ?
ठ्याक्कै यत्ति नै भन्ने त छैन तर लगभग ६÷७ सय गजल र एक हजार जति गीतहरु लेखेहुँला । त्यसमध्ये झण्डै १५० जति गितहरु एल्वमको रुपमा बजारमा आएका पनि छन् । तर सबै गीतहरु नोटिसेवल नहुनेभएकाले यत्ति नै भन्ने डाटा भने मसँग पनि छैन् ।
गीत, गजलबाहेक अरु विधामा पनि कलम चलाउनु हुन्छ कि ?
अवस्य पनि मैले यस क्षेत्रमा पनि म निरन्तर सक्रिय रहदै आएकी छु । अहिले गीत गजलसँगै कविता तथा उपन्यास लेखनको काम पनि अघि बढिरहेको छ । अब छिट्टै नै बजारमा मेरो उपन्यास पनि देख्न पाउनुहुन्छ । छिट्टै नै मेरो गजल संग्रह तथा उपन्यास संग्रह बजारमा आउँदै छ ।
कादम्बिनी बडो स्वादिलो शब्द छ, आफ्नो नामको पछाडि यी शब्द राख्नुको कारण के हो ?
(हाँसो) यसको अर्थ शीतलता भन्ने हुन्छ । अर्थात पहिलो नाम नै शीतल भयो । त्यसपछि राखिएको टाइटल नामको अर्थले पनि शीतलतालाई नै बुझाउँछ । कादम्बिनीको अर्थ पानी पार्ने बादलको झुण्ड भन्ने हुन्छ । जुन शीतलता प्रदान गर्नका लागि आवश्यक हुन्छ । अर्काे अर्थमा कादम्बिनी भनेको भगवानले सेवन गर्ने सोमरस हो, जसले मादकता प्रदान गर्छ । यस अर्थमा भन्नुपर्दा मेरो सिर्जनाले स्रोता वा दर्शकहरुलाई मादकता प्रदान गर्न सकोस भन्ने आयसले पनि कादम्बिनी नाम टाइटल नामका रुपमा प्रयोग गर्न सुरु गरेकी हुँ ।

सम्बन्धित समाचार