अमेरिका भ्रमण निजी, रातो पासपोर्टसमेत प्रयोग गरिनँ : मुख्यमन्त्री राई

November 17, 2018

काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो अमेरिका भ्रमण निजी भएको र रातो पासपोर्टसमेत प्रयोग नभएको बताएका छन् ।

हालै उपचारका लागि बैंकक गएका मुख्यमन्त्री राई बैंककबाट अमेरिका प्रस्थान गरेपछि विवादमा तानिएका थिए । सोही विषयमा नोभेम्बर १६ मा विज्ञप्तिमार्फत मुख्यमन्त्री राईले लेखेका छन्, ‘प्रक्रिया पुरा गरेर प्रेसलाई समेत जानकारी गराई म अमेरिका गएको कुरा राख्न चाहन्छ । मेरो व्यक्तिगत उपचारको सिलसिला र निजी भ्रमण भएको हुनाले आफुले कुटनैतिक राहदानी (रातो पासपोर्ट) समेतको प्रयोग नगरेको कुरा अवगत गराउन चाहन्छु ।’

 

अमेरिकामा उनको भ्रमणको बेला समाचारकै विषयलाई लिएर पत्रकार लोकमणि राई कुटिएको खबरले मुख्यमन्त्री राई झनै विवादमा तानिए । यस घटनामा आफ्नो संलग्नता नभएको राईले बताएका छन् ।

यसबारे स्वदेश फर्केपछि मुख्यमन्त्री राईले लेखेका छन्, ‘मेरो अमेरिका भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजेर मलाई केही थाहा नभएको, कोही नभेटेको र नचिनेको व्यक्तिहरुको एउटा घटनामा म र मेरो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्ण बनाएर गरिएको भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्दछ । यसमा मेरो कुनै संलग्नता नरहेको जानकारी गराउँदछु ।’

 

मुख्यमन्त्री शेरधन राईले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै

 

प्रक्रिया पुरा गरेर प्रेसलाई समेत जानकारी गराई म अमेरिका गएको कुरा राख्न चाहन्छ । मेरो व्यक्तिगत उपचारको सिलसिला र निजी भ्रमण भएको हुनाले आफुले कुटनैतिक राहदानी (रातो पासपोर्ट) समेतको प्रयोग नगरेको कुरा अवगत गराउन चाहन्छु ।

अमेरिकाको मेरो भ्रमण कसैको औपचारिक निम्तो, कार्यक्रम र प्रायोजनमा नभई निजी एंव पारिवारिक भेटघाट मात्र भएको जानकारी गराउँदछु । मेरो आग्रहमा होइन न्युयोर्कस्थित प्रवासी नेपाली मंच र आदिवासी जनजाति महासंघको संयुक्त आग्रहमा आयोजित एक भेलामा सहभागी भई बाल्टिमोर, वासिङटन डिसी, वफेल्लो लगायतका केही ठाउँहरुको भ्रमण पश्चात पुनः वैंकक भएर आफ्नो उपचारको सम्पुर्ण रिर्पोटसहित स्वदेश फर्किएर म आफ्नो जिम्मेवारीमा क्रियाशील भइसकेको जानकारी गराउन चाहन्छु ।

यसप्रकार भएको मेरो अमेरिका भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजेर मलाई केही थाहा नभएको, कोही नभेटेको र नचिनेको व्यक्तिहरुको एउटा घटनामा म र मेरो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्ण बनाएर गरिएको भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्दछ । यसमा मेरो कुनै संलग्नता नरहेको जानकारी गराउँदछु ।

मैले नैतिक मुल्यमान्यता, इमान, पारदर्शीता, त्याग र निष्ठाको राजनीति गर्दै आइरहको छु । मेरो उपचार र भ्रमणको सम्पूर्ण खर्च मैले आफनै पारिश्रामिकबाट जम्मा भएको श्रोतबाट गरेको छु । मेरो उपचार र भ्रमणका लागि कुनै व्यक्ति वा संस्था कसैबाट कुनै प्रकारको सहयोग नलिएको जानकारी गराउँदछु।

अन्त्यमा यस्ता कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीहरुबाट म कतिपनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र त्यागको जगमा दरिलो उभिदै निरन्तर अगाडि वढ्न मलाई उर्जा मिलेको छ । मेरो स्वास्थ्य प्रति चासो लिएर सद्भाव देखाउदै स्वास्थ्य लाभको कामना गर्नु हुने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।।

३० कार्तिक, २०७५

शेरधन राई
मुख्यमन्त्री

सम्बन्धित समाचार