शेर्पा समुदायका प्रथम सहिद निमा शेर्पा ‘गोपर्मा’

October 9, 2017

सहिद शेर्पाको घर ।

निमा ग्याल्जेन शेर्पा ‘गोपर्मा’
नयाँबजार–८, ईलाम
हालःअस्ट्रेलिया

२००९ भदौ २० मा ईलामको चमैतामा जन्मिएका सहिद निमा शेर्पाको नाम नेपालमा बहुदलीय व्यवस्थाको आगमनसँगसँगै पुन चर्चामा आएको थियो । २०४६÷४७ सालपछि जब नेपालमा बहुदलीय व्यवस्थाको आगमन भयो, तब नेकपा एमाले पार्टीको इलामको प्रायःजसो कार्यक्रममा निमा शेर्पा, रत्नकुमार बान्तवा र बम बान्तवाको नाम चर्चामा रह्यो ।

विशेषगरी एमालेका कार्याकर्ताले सहिद निमा शेर्पा, रत्नकुमार बान्तवा र बम बान्तवाको नाम लिएर दिनरात गीत गाउथे । एमालेको हरेक कार्यक्रममा ‘सलल चित्रेको डाँडा पोतियो सहिदको रगतले, सलल इभांगको डाडा रंगियो कामरेडको रगतले’ गीत हदैसम्म गुञ्जाउँथे । कमरेड प्रदीप नेपालले सञ्जय थापाको नामबाट देउमाइको किनारामा भन्ने उपन्याससम्म लेखे । इलामको पश्चिम चमैता गाविस चित्रेको साधुटारमा तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापाको शासनकालमा निमा शेर्पाको २०३५ चैत २४ गते २६ बर्षको उमेरमा मध्यरातमा सेनाले गोली ठोकी हत्या गरे भने त्यसको तीन दिनपछि बम बान्तवाको हत्या भयो । निमा शेर्पाको हत्याको १५ दिनपछि रत्नकुमार बान्तवालाई इभांगको देउमाइ खोलाको किनारमा मारिएको थियो । निमा, रत्नकुमार र बम एकै टिममा हिड्ने र फुटबल खेल्ने गर्थे भने छिमेकी गाविसका कमरेड झलनाथ खनाल र सुवाष नेम्वाङहरु एकै राजनीतिक समूहका थिए ।

तिनै महान सहिद मध्येका एक जुझारु वीर सहिद निमा शेर्पाको स्मृति र सम्मानस्वरुप प्रस्तुत लेख समर्पण गरिएको छ ।

को हुन् सहिद निमा शेर्पा ?

निमा शेर्पा २००९ भदौ २० गते बाबु लाक्पा शेर्पा र आमा पेम दिकी शेर्पाको कोखबाट इलामको चमैता–८ बाक्सिलामा जन्मेका थिए । चार दाजुभाइमा जेठो निमा चलाख र तीक्ष्ण दिमाग भएकाले पढाईमा अघि नै थिए । सानो छँदा लामा शिक्षा पढेका निमाले पछि सामुदायिक विद्यालयबाट एसएलसी गरे । एसएलसीपछि उनी शाही नेपाली सेनामा भर्ना भए । शाही सेनाको तालिम सकेको ६ महिनापछि उनले जागिरबाट राजीनामा दिए । फुर्तिलो र छरितो जिउडलका निमा फुटबल खेलमा सिपालु थिए । उनी टिम क्याप्टेन थिए । उसबेला रत्नकुमार, बम र अगम बान्तवाहरु एकै टिममा फुटबल खेल्थे ।

झापा विद्रोहबाट बामपन्थी आन्दोलनमा लागेका निमाले कम्युनिस्ट आन्दोलनबाट मात्रै निरकुंश सामन्ती सरकारको अन्त्य हुन्छ भनी उक्त पार्टीमा लागेका थिए । मेची पारी चलिरहेको चारु मजुमदारको नक्सलाइट आन्दोलनबारे पनि जानकार थिए उनी । त्यसको दस्ताबेजलाइ पनि पढ्ने छलफल गर्ने र बुझ्ने गरी रहेका थिए । चारु मजुमदारले किसानलाई कसरी संगठित गरिरहेको छ, सामन्तहरुको बिरुद्ध कसरी लडीरहेको छ भन्ने कुरालाई बडो चासो लिएर हेर्ने गर्थे । पछि आफ्नो समूहमा मजुमदारको विचारलाई गाइडलाइनको रुपमा प्रयोग गरे ।

निमाले आफ्नो घरको खोल्मामा गाउलेहरु भेला गराएर मजुमदारको बामपन्थी कुरा सिकाउने, निरंकुश पञ्चायती व्यवस्थाको बिरुद्धमा चेतनामुलक कार्यक्रम गर्ने, गाउँलेलाई प्रौढ शिक्षा पढाएर साक्षर बनाउने र गाउँलेलाई अंग्रेजी पनि सिकाउँथे । लेखपढ गर्न नजान्ने गाउँले सबैको लेखपढी निमा आफै गरी दिन्थे रे । छिमेकीको चिठी पढ्नु र उनीहरुको चिठीको जवाफ पनि लेखि दिने गर्नले निमा गाउँछिमेकमा लोकप्रिय रहेछ ।

आफ्नो समूहको कोअरडिनेसन कमिटी गठन भएपछि मजुमदारको गाइड लाइनलाई नै उनीहरुले पनि अगाडी बढाएका थिए । पछि आएर यही उग्रचिन्तन अनुसार नै एक स्कवाड, एक इलाका र एक एक्सनको कुरो नै पार्टीको आधार बनेको थियो । तीन जना मात्रै भयो भने पनि त्यसलाई एक स्कुवाड बनाउने र त्यस क्षेत्रको बदमासहरुको पहिचान गर्ने । सोहीअनुसार गाउँका फटाहा र बदमासहरुलाई कारबाही गर्ने निर्णय गरेका थिए । उनले जबसम्म समाजका फटाहा र बदमासलाई कारबाही गर्न सकिन्न तबसम्म कम्युनिस्ट नै बन्न सकिन्न भन्ने चिन्तन बोकेका थिए ।

त्यसै समय गाउँका युवाहरुले एक जना बदमास र फटाहा प्रहरीलाइ मरणासन्न हुने गरी कुटेछन् । त्यतिबेला प्रहरीलाई हात लाउनु भनेको राजगद्दीलाई अपमान गरेको सम्झिन्थ्यो । राजाको सिन्दुर परेको पुलिस गाउँका सर्वेसर्वो हुन्थे । सरकारी जागिर खानु पर्दा प्रहरी रेकर्ड हेर्ने चलन थियो । एमए पास गरेकाको प्रहरी रेकर्ड गाउँमा नाम मात्र लेख्न जान्ने पुलिस चौकीका सिपाहीले बिगारी दिन सक्थे ।

यसरी पुलिसलाइ मर्ने गरी कुटेपछि गाउँमा हंगामा र हाहाकार मच्चिन गयो । चौकीको प्रहरीलाई हातपात गर्न लगाउने बामपन्थी केटाहरुको व्यापक खोजी हुन थाल्यो । त्यसपछि गाउँमा प्रहरी अघिअघि र सेना पछिपछि परिचालन गरी धरपकड र हत्याको शृंखला सुरु भयो । यसमा निमा, बमकुमार, रत्नकुमारको मुख्य भूमिका रहेको शंका गरी उनीहरुको धरपकड गर्न व्यापक खोजी हुन थाल्यो ।

निमाको हत्याः

चमैता चित्रे (बाक्सिलाका निमा शेर्पाले गाउँलेलाई जनवादी कुरा सिकाएको कुरा बिस्तारै बिस्तारै गाउँ घर हुदै जिल्ला सदरमुकामसम्म पुगिसकेको थियो । त्यसो भएको हुदाँ पञ्चायती हत्यारा प्रशासनले निमाको हत्याको योजना पहिल्यैदेखि बनाउन थालेको कुरा प्रकाशमा आएको छ । प्रहरीको कुटपिटपछि गाउँमा प्रहरीले अपराधी खोज्ने बहानामा दमनपूर्ण ढंगले धरपकड सुरु गरे । गाउँका कसैलाइ बाँकी नराखी पक्राउ गरियो । एकएक गरी बयान लिने र दुःख दिने काम भयो । रत्नको १२ बर्षको भई महेशलाईसमेत पक्राउ गरिएको थियो । २०३५ फागुन २१ गतेदेखि चित्रे गाउँमा तत्कालीन प्रशासनको आतंक सुरु भएको थियो ।

निमा शेर्पाको हत्या हुनुभन्दा अघिल्लो दिन उनी जिल्ला सदरमुकाम इलाम बजार गएका रहेछन् । इलाम बजारमा आफ्नो ससुरासँग भेट हुदाँ ससुराले ‘ज्वाई गाउँ घरमा एकदम खतरा छ तपाईलाई पुलिसले खोजी रहेका छन् घर नजनोस’ भनेर आफ्नो घर पुव मझुवातिर लानलाइ ढिपी गर्दा पनि नमानेको कुरा छोरा पासाङले सुनेका रहेछन् । गाउँमा निमाको व्यापक खोजी भइरहेको हुदा जब निमा जिल्ला सदरमुकामबाट साँझको ७ बजेतिर घर पुगे केही समयपछि साँझको ९ बजेतिर उसलाई कम्युनिस्ट कहाँकहाँ बसेका छन् खोज्न हिँड भनेर सादा पोसाकका प्रहरीले घरबाट पक्राउ गरी लगेछन् । गाउँका सुराकीसहित लागेर निमालाई घरबाट १५ मिनेट जति हिडाएपछि साधुटार भने ठाउँमा पु¥याउँछन् । साधुटारमा ३०÷४० जना जति गाउँले पनि भेला पारेका हुन्छन् अगाडीबाटै र त्यसको वरिपरि शाही सेनाले घेरा हालेर राखिएको रहेछ । साधुटारको ठुलो ढुंगाको चेपमा निमालाइ लुक्न लगाइएको रहेछ । त्यसैबीचमा छ्त्रक छुत्रुक कोही मान्छे हिँडेजस्तो आवाज आएपछि निमालाइ अरु मान्छेको आवाज पनि सुनिदै छ को रहेछ भनी बुझ्न पठाएका रहेछन् जब निमा हिड्न भनेर टाउको मात्र के उठाएका थिए, ‘ल ठोकी दे’ भन्ने आदेश आउछ त्यसपछि पछाडीबाट सेनाले टाउकोमा गोली हानी रातको १२ बजे उनको हत्या गरिएको रहेछ । त्यसपछि उनको लाशलाइ इलाम हस्पिटलमा लगिन्छ । र भोलिपल्ट १२ बजेमात्र परिवारलाई खबर भयो । हत्यापछि उसको लाश घरमा समेत ल्याउन नदिएर गढी थुम्काको सैनिक क्याम्पभन्दा केही पर चुरे घटी भन्ने ठाउँमा लगेर गाडिएको उल्लेख छ ।

हत्यापछि परिवारको बिचल्ली

निमाको हत्यापश्चात उसकी २४ बर्षीया श्रीमती निमदिकीको टाउकोमा ४ छोरी र एक छोराको पालनपोषणको भार थपियो । कसैबाट केही सहयोग नपाएका निमदिकीले अनेक दुःख र कष्ट सहदै आफ्नो बालबच्चा हुर्काइन् । बालबच्चालाई पाल्न धौधौ निमदिकीले बच्चाको पढाई लेखाइमा त्यति ध्यान पु¥याउन सकेनन् । त्यसैबीचमा उसको दुई छोरीको मृत्यु भयो भने निमदिकीले पनि ३ बर्ष अगाडी ५९ को उमेर यस संसारलाई त्यागिन् । बाँकी दुइ छोरी र एक छोरा जीवित रहेकामा गत बर्ष अर्की छोरीको पनि निधन भएपछि अब एक छोरा र एक छोरीमात्र छन् । सहिदको नाउँमा राहत दिने भनेर २०५१ सालतिर बहुदलीय व्यवस्था आएपछि एक लाख निकासा गरिए पनि तीन किस्ता गरेर दिएको रकम आधाभन्दा धेरै रकम इलामबाट काठमाडौंको कार्यालय धाउँदै सकिएको कुरा छोरा पासाङ बताउछन् । छोरीहरु विवाह भएर अन्तै घरजम गरिसकेको र छोरा पासाङ भने साउदी अरबमा मजदुरी गर्दै रहेको बुझिएको छ । पासाङको छोरा लाक्छिरिङ अहिले १२ पढिसकेका छन् भने छोरी दाल्हामु ९ कक्षामा अध्ययन गरिरहेका छन् ।

सानैमा बाउ मारी दिए पनि छोरा पासाङ सहिदको परिवार भनेर समाजमा चिनिनु पाउँदा आफुलाई गर्व महसुस गर्छन् । तर आफ्नै बाउको साथीहरु झलनाथ खनाल र सुवाष नेम्वाङहरु देशको माथिल्लो ओहोदा पुगेर लामो समयसम्म पदमा बस्दा पनि पार्टी र सरकारी पक्षबाट कुनै सहयोग नपाउदा दुःख मान्छन् पासाङ । थोरै मात्र आर्थिक सहयोग र सानो जागिरको मेसो मात्र देखाई दिएको भए पनि परिवार पाल्न र छोराछोरीको शिक्षाको लागि ठुलो राहत मिल्ने थियो र कम्तीमा साउदीको मरुभूमिमा मजदुरी गर्नुपर्ने थिएन भन्ने दुखेसो पोख्छन् । जे भए पनि आफ्नो बाउले योगदान गरेको पार्टी ले केहि गरी दिन्छन कि भन्ने आशा भने पालिराखेका छन् उनले ।

उनै महान सहिदहरुको रगत पसिना र आँशुलाई टेकेर इलाम साखेजुंगका कमरेड झलनाथ खनाल उर्फ जेएन खनाल अन्तरिम कालमा वनमन्त्री त्यसपछि हालसम्म सांसदमा निर्वाचित, एमालेको पार्टी प्रमुख हुदै नेपालका प्रधानमन्त्री भए भने अर्का कमरेड सुवाष नेम्वाङ हालसम्म सांसदमा निर्वाचित हुदै दुइदुइ पटक सभामुख बने । पार्टीको काममा खटिने साथीहरु सहिद भए पनि आफुहरु सरकारको प्रमुखसम्म हुँदा पनि सहिद परिवारलाई राहत नपु¥याउनु भने दुःख लाग्दो कुरो हो ।

एमालेले निमा शेर्पालाई सहिद घोषणा गरेर सहिदको सूचीमा नाम भने दर्ता गराएका छन् तर इलामको टुँडिखेलको छेउमा सहिद रत्नकुमार बान्तवाको शालिक स्थापना गरिए पनि सहिद निमा शेर्पाको भने फोटो उपलब्ध नभएको भनेर शालिक राखिएको छैन ।

जे होस् पञ्चायती निरंकुस राजतन्त्रको अन्त्य गरी समृद्ध नेपाल को सपना बोकेर जीवन को आहुति दिने ती महान सहिदलाई सरकारले उचित सम्मान दिनु भन्ने पर्छ भन्ने सवालमा बिमति नहोला । सहिदको सम्मानको लागि कुनै पार्टीगत र जातिगत पूर्वाग्रह राख्नु न्याय संगत ठहरिदैन । सहिदको परिवारलाई उचित सम्मान गरियोस । अमर सहिद निमा शेर्पाको आत्माको चिरशान्तिको कामना ।

–प्रस्तुत लेख तयार पार्न सहयोग गर्नुहुने जसकुमार राई र सहिद पुत्र पासाङ शेर्पालाई हार्दिक धन्यवाद ।

सम्बन्धित समाचार