शृंखलाको जित, निर्मलाको हार

December 20, 2018

विश्वमान आङदेम्बे

‘वीर गोर्खाली’ को नाममा वीरताको अनि भाग्यले गर्दा नेपालले पाएको ‘सगरमाथा’ र ‘गौतम बुद्ध’ को नाममा हामी नेपालीहरुले गर्व गरेको दशकौं भैसक्यो । तर बदलिँदो संसारसंगै महाकवि देवकोटाका नेपाली ‘वाग्नर’, ‘आइन्स्टाइन’, र ‘नाइटिङगेल’ हरु कुटोकोदालो अनि घाँसदौराको संसारबाट बाहिर निक्लेर नेपाललाई संसारमै चिनाउने काम गर्दैछन् । त्यसको एक उदाहरण हुन्, नेपालकी छोरी ‘शृंखला खतिवडा’, जो पहिलोपटक भारतकोजस्तो बलियो प्रतिस्पर्धीलाई उछिनेर ‘विश्व सुन्दरी २०१८’ को अन्तिम १२ मा नेपालबाट पहिलो पटक पुग्न सफल मात्र भइनन्, ‘मल्टिमिडिया‘ र ‘उदेश्य सहितको सुन्दरी’ को ताजहरु जित्न सफल भइन् । शृंखलाको यस्तो अवस्मरनिय जीतमा एक नेपाली भएर खुशी हुनुपर्नेमा नेपालकी अर्की छोरी ‘निर्मला पन्त‘ को अमानवीय ‘बलात्कार’ अनि ‘हत्या’ जस्तो जघन्य अपराधको अहिलेसम्म उनको आत्माले ‘न्याय’ नपाएको देख्दा खुशी हुन सकेको छैन । दोषीहरुलाई आज ६ महिना पुग्नै लाग्दा पनि सरकाले कारवाही त के सच्चा दोषी ‘पहिचान’ समेत गराउन सकेको छैन । त्यसैले आज म नेपाली भनेर गर्व गर्न सकेको छैन । यो नेपाली शीर झुकेको छ । यो नेपाली मन दुखेको छ ।

व्यक्ति र देश
नेपाल संसारमा अहिले ‘क्रिकेट’ देखि ‘विश्व सुन्दरी’ मा जसरी चिनिएको छ, त्यो केवल केही होनहार व्यक्तिहरुको कारणले हो । नेपाल जस्तो देशबाट दयनीय पूर्वाधार, अस्तव्यस्त प्रशासन, अनि राज्यबाट असहयोग हुँदाहुँदै पनि केवल आफ्नो लगनशीलता अनि परिश्रमले नेपाललाई संसारमै चिनाउनु कम चुनौतीपूर्ण काम हैन । शृंखला खतिवडा र पारस खड्का जस्ताले नेपालमा जन्मेकोमा धन्य हुनुपर्ने छैन, बरु नेपाल यस्ता व्यक्तिहरु जन्मेकोमा धन्य हुनुपर्दछ । नेपाल जतिपनि संसारमा चिनिएको छ केवल व्यक्तिको आफ्नो लगनले गर्दा चिनिएको छ । समग्र देश र समाजको रूपमा हेर्ने हो भने मैले गर्व गर्ने कुनै ठाउँ देखेको छैन । सामूहिक रूपमा एक देशको रूपले अझै पनि हामी संसारकै गरीब देश छौं, दुवै आर्थिक अनि राजनीतिक हिसाबले । आर्थिक रूपले हेर्ने हो भने संसारकै नाकाबन्दी खेपिरहेको ‘चरम साम्यवादी’ ‘उत्तर कोरिया’ भन्दा पछाडि छौँ । राजनीतिक हिसाबले हेर्ने हो भने ‘लोकतन्त्र’ त छ तर ‘भ्रष्टाचार’ को मामलामा अफ्रिकाको ‘इथियोपिया’ भन्दा पछाडि छौँ । यही चरम भ्रस्टाचारले आम जनताको ‘जागिर‘ देखि ‘न्याय‘ र ‘मानव अधिकार’ सम्म खाइदिएको छ । लोकतन्त्र त छ तर न्याय छैन । मताधिकार त छ तर मानव अधिकार छैन । यो कस्तो लोकतन्त्र ? के यो लोकतन्त्र ठुलाठाला, धनिमानी, अनि पहुँचवालाको लागि मात्र हो ?

चरम राजनीतिले बिग्रिएको देश
कुनै पनि कुराको सीमा हुनुपर्दछ । तर नेपालमा धेरैकुराको सीमा छैन जसमा ‘राजनीति’ एक नम्बरमा पर्दछ । घरको दालभात देखि देशका ठुलाठुला परियोजनासम्म, सडकदेखि सदनसम्म, शिक्षादेखि स्वास्थ्यसम्म, जागिर देखि वृद्धभत्तासम्म, अनि मानव अधिकारदेखि न्यायसम्म राजनीति छ । हुँदाहुँदा देशदेखि सात समुन्द्र पारीसमेत नेपालीहरुको उही नेपाली राजनीति छ । लोकतन्त्रको पनि वर्गीकरण हुन्छ । नेपाल एक लोकतन्त्र भएपनि हाम्रो ‘तेस्रो विश्व’ को ‘भ्रस्ट’ लोकतन्त्र छ । अमेरिका र युरोपको जस्तो आम नागरिकले पनि उत्तिकै न्याय पाउने सच्चा लोकतन्त्र हाम्रो लागि धेरै टाढा छ । सच्चा लोकतन्त्रमा हरेक व्यक्तिको ‘मानव अधिकार’ अनि ‘न्याय’ सुरक्षित अनि सुनिश्चित हुन्छ । न्यायका रक्षक ‘प्रहरी प्रशासन‘ रानजीतिमुक्त स्वतन्त्र हुन्छ अनि न्याय दिलाउने अदालत झनै स्वतन्त्र हुन्छ । तर नेपालमा न प्रहरी स्वतन्त्र छ न त अदालत नै । जताततै राजनीतिक नियुक्तीले देशको ‘न्यायप्रणाली’ धमिराले खाएको काठ झैँ बनेको छ । जबसम्म राज्यका यी दुई न्यायका पहरेदारहरू राजनीतिमुक्त अनि स्वतन्त्र हुन्नन्, तबसम्म आम जनताले ‘न्याय’ पाउने कुनै सुनिस्चित हुन्न ।

न्यायको लिलामी र घटनाको राजनीतिकरण
जब यो देशमा ‘बालकृष्ण ढुंगेल‘ जस्ता कर्तब्य ज्यानका अपराधीलाई देशको राष्ट्रप्रमुखबाट ‘आममाफी‘ दिइन्छ, तब ‘न्यायको लिलामी’ देशमा सुरु हुन्छ । आफ्नो पार्टी वा गठबन्धनका नेता वा कार्यकर्ता भन्ने बित्तिकै जस्तो सुकै गल्ती र अपराधलाई आँखा चिम्लेरा अन्तर्राष्ट्रिय समुदायको अगाडी देशको शीर झुकाउने जस्तो ‘आममाफी’ दिएर यो सरकार अनि राष्ट्रप्रमुखबाट एउटा डरलाग्दो ‘नजिर’ बसिएको छ जसले ‘मानव अधिकार‘ अनि ‘न्याय’ को त धज्जी उडाइएको छ, लोकतन्त्रलाईसमेत दूरगामी हिसाबले घात गरेको छ । कुनैपनि कारणले, राजनीतिक होस् वा अन्य, ‘हत्या’ अनि ‘बलात्कार’ जस्ता जघन्य अपराधका दोषीलाई छुट हुनुहुन्न । यो सभ्य समाजको लागि हँुदै नहुने कुरा हो । आज ‘निर्मल पन्त’ को घटनामा पनि त्यही रानजीति मुछिएको छ । सच्चा दोषीको राजनीतिक पहुँचले गर्दा आजसम्म कुनै कारवाही त के पहिचानसम्म हुन सकेको छैन । पैसा र पहुँचमा ‘न्याय’ बिकेको छ । एकातिर सरकारतर्फबाट यस्तो छ भने अर्कोतिर विपक्षी समूहबाट घटनालाई एउटा राजनीतिक फाइदाको रूपमा अगाडी बढाउने चेष्टा भएको छ । दुवै गलत हो तर निस्पक्ष रूपमा भन्नु पर्दा सरकार पक्षको घटना प्रतिको राजनीतिक ‘ढाकछोप‘ अनि ‘उदासिनता‘ देखिने खालको ढिलासुस्तीले सरकारको निकै ठूलो गल्ती छ अनि सरकारकै नेताहरु यो ‘ढाकछोप‘ षड्यन्त्रमा लागेको सोझै शंका उब्जन्छ ।

निर्मला: तपाईकी छोरी, तपाईकी बहिनी
निर्मला पन्तको घटना हामी र हाम्रो समाजको लागि ठुलो झापड हो । यसले हामी र हाम्रो समाजलाई नङ्ग्याएको छ । हाम्रो समाज महिलाको मामिलामा अनि सामाजिक न्याय र मानव अधिकारको मामला कति तल रहेछ भन्ने प्रष्ट भएको छ । निर्मला कुनै परको केटी हैन तपाईहाम्रै छोरी हो, तपाई हाम्रै बहिनी हो । आज निर्मलालाई यस्तो गर्नेले भोलि तपाइको छोरी अनि बहिनीलाई तेस्तै गर्न सक्छ । पैसा अनि पहुँचले तपाइको छोरी अनि बहिनीको इज्जत किन्न सक्छ । अनि त्यतिबेला तपाई के भन्नु हुन्छ ? घटना भै गयो, मर्ने मारीसक्यो, अब मिलापत्र गरूम ? तपाइको छोरी अनि बहिनीको इज्जत अनि ज्यान त्यति सस्तो छ ? एक चोटी आफैलाई निर्मलाको बुवा अनि आमाको ठाउमा उभिएर सोच्नुस त ? राजनीतिक अनि सामाजिक दबावमा गरिने मिलापत्रले नै गर्दा आज यस्ता ठूलाठूला जघन्य अपराध गर्ने दुसाहस मिलेको छ । अर्को कुरा, आफ्ना छोराहरुलाई आमाहरुले सानै देखि महिलाप्रति सम्मान देखाउने संस्कार अनि मानसिकताको विकास गर्नु एकदम जरूरी छ । अनि छोरीहरुलाई साना भन्दा साना अन्याय र अत्याचार अपशब्ददेखि यौनिक हिंसा नसहन अनि तुरुन्त ‘रिपोर्ट‘ गर्न सिकाउन जरूरी छ । हाम्रो समाजको समग्र सोचाईमा परिवर्तन आउन जरूरी छ । संस्कार, सोचाइ, अनि राजनीतिमा परिवर्तन आउन जरूरी छ । निर्मला एक प्रतिनिधि पात्र हुन् र उनी नेपालीहरुको मानसपटलमा कालान्तरसम्म झस्काउने गरी बसिरहनेछिन् । उनको आत्माले न्याय नपाउँदा तपाईको छोरी, मेरो छोरीले न्याय पाएको छैन । प्रत्येक नेपालीको छोरीले न्याय पाएको छैन । नेपाली हुनुमा आज कुनै गर्व छैन ।

-अट्लान्टा, जर्जिया, अमेरिका

सम्बन्धित समाचार