संगीत अथाह रहेछ, पहिले डर लाग्थ्यो, अहिले त्यही कुरा रमाइलो लाग्छ: सिम्मा राई, गायिका

September 4, 2019

भागी जाने मोह, फेरि किन गाढा
उर्ली आउँछ चाहना छिनभरको
माया नसाँचेको हैन, निष्ठुरी बनेको हैन
बेसमयी भावनाहरु आउँछन् यसै

‘माया फेरि’ शीर्षकको यो गीत हालै युट्युबमार्फत सार्वजनिक भएको हो । गीतका सर्जक एवं गायिका हुन् सिम्मा राई । भोजपुर दिल्पा पुख्र्यौली भए पनि उदयपुर बसाहा हुँदै काठमाडौं आइपुगेको परिवारमा कान्छी छोरीको रुपमा जन्मिइन् उनी । राईभित्रको वान्तावा भाषामा कान्छी छोरीलाई सिम्मा भनिन्छ । यही नै रह्यो नाम । एस कलेजबाट एमबिए, पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर र पुल्चोक इन्जिनियरियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ सकाएपछि संगीत रोजेको बताउँछिन् । युट्युबमा उनका कभर गीतसँगै उनकै तीन गीत पनि हेर्न सुन्न सकिन्छ । उड तिमी, नौलो बिहानी र माया फेरि उनको आफ्नै गीत । यसो त उनी एक वर्षअघि नाइट ब्यान्डमा आबद्ध थिइन् । चार महिना यही ब्यान्डबाट युरोप यात्रामा निस्किइन् । अहिले भने उनी ब्यान्डबाट अलग्गिएकी छिन् । यद्यपि सांगीतिक यात्रामा भने सक्रिय नै । उनै गायिका सिम्मा राईसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले सांगीतिक यात्राबारे गरेको कुराकानी:

तपाईंको पढाई कम्प्युटर इन्जिनियरिङ, गायन क्षेत्रमा कसरी आइपुग्नुभयो ?

पढाई राम्रो थियो । डाक्टर÷इन्जिनियर हुन्छ भन्ने थियो । म्याथमा राम्रो थियो । त्यही भएर इन्जिनियरिङ छानें । स्कलरसिपमा नाम निस्क्यो पुल्चोक क्याम्पसमा । करियर सिरियसली सोचिनँ । कम्प्युटर प्रोग्रामिङतिर लागियो । यहाँ काम गर्दागर्दै कम्प्युटर ह्युमन कनेक्सन कसरी गर्न सकिन्छ भनेर सोचिरहन्थे । यही विषयमा पढ्नुपर्छ भन्ने लाग्थ्यो । पछि फिल भयो । म्युजिकबाट इन्स्पायर्ड हुन थाले । सन्तुष्टि पनि मिल्न थाल्यो । आफूले सोचेजस्तो संगीतमै लागेर बन्छु जस्तो लाग्यो । आफैले आफैलाई बुझ्न थाले र संगीत रोजे ।

त्योभन्दा अघि गीतप्रतिको लगाव कतिको थियो ?

सानोमा खेलकुद र नाचमा लगाव थियो । कक्षा १० मा अलिअलि गाउन थालें । कक्षा ११ मा कम्पिटिसन हुँदा पहिलो भएँ । त्यसै बेलाबाट सिक्न मन लाग्यो गायन । काम गर्दै काठमाडौं जज कन्जरभेटरी(केजेसी)मा क्लास लिएँ । त्यही सिलसिलामा ‘उड तिमी’ पहिलो गीत रेकर्ड भयो ।

अभिभावकको सुझाव कस्तो हुन्थ्यो त्यो बेला ?

घरबाट पनि कम्प्युटर साइन्समै अघि बढोस् भन्ने थियो । तर, २०१७ मा एमबिए सकेर नाइट ब्यान्डमा जोइन भएँ । ९ महिना जति काम गरें । जिम्मेवारी गायिकाको । ४ महिना युरोप टुरमा पनि गएँ । पछि छाडें । आफ्नो गीतहरुमा समय दिउँ भनेर । गाउनु सँगसँगै कम्पोजिसन सिक्न मन थियो । अहिले पियानो र भोकलमा फोकस छ । डिप्लोमा यही विषयमा गर्दैछु केजेसीबाटै ।

गायनबाहेक अरु समय के गर्नुहुन्छ ?

म्युजिककै पढाई । अहिले डिप्लोमा गर्दैछु केजेसीबाट पियानो अनि भोकलमा । आफ्नै गीत तयारीबाहेक पढाउँछु पनि । केजेसीबाटै सिकाउन  शुरु गरेको । अहिले नेपाल म्युजिक सेन्टर र काठमाडौं मेरिडन स्कुलमा म्युजिक पढाउँछु ।

‘माया फेरि’ आफैले लेख्नुभएको रहेछ, कसरी तयार भयो यो गीत ?

माया फेरि ३ वर्ष अगाडि लेखेको । जीवनको अनुभव हुन्छ नि आफ्नै । लिरिक्स ध्यान दिएर सुने लाइफ स्टोरी गेस गर्न सकिन्छ । मलाई पुरानो नेपाली गीत मनपर्छ । त्यही बजाउँदा बजाउँदै यो कोरस धुन निस्क्यो । थिम थाह थियो । कोरस लिरिक लेख्न समय लागेन । भर्सहरु बनाउन चाहि अलि टाइम लाग्यो । कर्ड्सहरु बनाउन टाइम लाग्यो । फाइनल बनाएर फेरि चेन्ज गरे । एक वर्ष अगाडि सबै एरेन्ज भइसकेको थियो । तर गीतको फिल नआएजस्तो लागेपछि २ महिना लगाएर कर्ड्सहरु सबै चेन्ज गरे । दिवस गुरुङ दाईको ठुलो फ्यान हुँ म । दाईसँग एकिदन काम गर्न पाउँ भन्ने मेरो सपना थियो । यो गीतमार्फत मैले दाईसँग काम गर्न पाएँ । धेरै खुसी छु सपना पुरा भएकोमा । अहिलेको चाहि चित्त बुझेपछि रिलिज गरेकी हुँ । यसमा दिवस गुरुङ र बिजेन्त विक्रम शाहको निकै सहयोग रह्यो ।

भिडियोमा इलुस्ट्रेसन प्रयोग गर्नुभएको छ, यस्तो गर्नुको कुनै कारण ? 

गीत आउँदा नै इलेस्ट्रेसन सोचे । मान्छे नै राखेर हुन्न जस्तो लाग्यो । ड्रिमी टाइपको छ नि । मलाई सनसेट मनपर्छ । इभनिङ टाइममा छतमा बसेर गीत तयार गर्छु । यसमा काल्पानिक संसार भएकोले पनि इलस्ट्रेसन प्रयोग गरेकी हुँ । लक्कीली इलस्ट्रेटर र एनिमेटर साथीहरु पनि हुनुहुन्थ्यो र यो सम्भव भयो । साथी सिर्जित राजभण्डारी र कन्चनको स्टुडियो छ सिक्सवासनाइन कम्पनी । त्यहीबाट यो तयार भएको हो । उनीहरुको काम एकदम राम्रो लाग्थ्यो । उनीहरुले यो गीतको भाव बुझिदिएकाले पनि भिडियो यति राम्रो बन्यो ।

यो गीतको कथा के हो ?

माया फेरिमा स्टोरी डेभलोपमेन्ट छ । माया छुटिँदा वितृष्णा हुन्छ । कुनै समय त्यही मान्छे नै आफ्नो संसार जस्तो लागेको पनि अपरिचित जस्तो हुन पुग्छ । सम्बन्ध छुट्टिँदा दुबै पक्षलाई पीडा हुन पुग्छ । त्यही भएर व्यर्थ हुने माया नगर्ने भनेर सोचेका हुन् पात्रले । तर नयाँ मान्छे आउँछ अनि साँझको हावा अनि जुनेली रातले त्यो भावना परिवर्तन हुन्छ । भर्सबाट कोरसमा जाँदा स्याडबाट ह्याप्पी मुडमा जान्छ । गीतसँगै फिलिङ्स चेन्ज हुँदै जान्छ । म्युजिकमा त्यो मुड चेन्जलाई क्याप्चर गर्न खोजेको चाहि यसमा पात्र आफै धेरै सोच्ने प्रश्न गर्ने अनि आफै रमाउने यस्तै छ ।

कस्ता गीतहरु बढी सुन्नुहुन्छ आफैंचाहिँ ?

सबै राम्रो लाग्छ । सोल, जज, गोस्पेल, फोल्क, पप, नेपाली, आधुनिक, हिन्दी गीत, वेस्टर्न क्लासिक, इस्टर्न क्लासिक सबै । समयअनुसार चेन्ज हुँदै जान्छ । नेपालीमा धेरै पुरानो गीत सुन्छु । फत्तेमान, नारायण गोपाल, शान्ति ठटाल, गोपाल योञ्जन अम्बर गुरुङ अरुणा लामा सुन्छु धेरै । शान्ति ठटालबाट धेरै इन्स्पायर भएकी हुँ । उहाँ फिमेल सिंगर सँगै कम्पोजर पनि  । पलेटीमा भेटेकी थिएँ । भेट्दा उहाँको पर्सनालिटी अनि इनर्जीबाट धेरै प्रभावित भएँ । सेन्स अफ ह्युमर पनि छ । उहाँको गीत सम्हालेर राख पनि कभर गरेकी छु । पुरानो गीतको लिरिक्स एकदमै राम्रो हुन्छ । तर अब नेपाली म्युजिक सिनको लागि धेरै आशावादी छु । अहिले आएर नेपाली म्युजिक सिन एकदम राम्रो बनेको छ जस्तो लाग्छ ।

पछिल्लो गीत निकै ग्यापमा रिलिज भयो नि ?

म अर्कै फिल्डबाट आएँ । मेरो खास ट्रयाक इन्जिनियर बनेर यसैमा थप अध्ययन गर्ने योजना थियो । म्युजिक मेरो नयाँ फिल्ड हो ।उड तिमी गर्दा पनि म्युजिक कम्प्लिटली गर्छु भन्ने थिएन । मिनिङफूल गीत गाउँ भन्ने इच्छा थियो । पछि म्युजिक सिक्दै जाँदा यसमा लगाव बस्दै गयो । बाहिर पढ्न जाने कुरा झन सर्न थाल्यो । मेरो सर्कलका साथीहरु धेरै इन्जिनियर नै थिए । सबै एउटै ट्रयाकमा थिए । आफू के हो म्युजिक किन गर्ने म्युजिकमा लाग्ने भए कसरी लाग्ने कसरी बाँच्ने ? ब्याकग्राउन्ड केही छैन । आफूभित्रको भ्वाइसलाई सुन्न अनि बलियो बनाउन समय लाग्यो ।मेरो फेमेली पनि धेरै टेन्सनमा हुनुहुन्थ्यो । ढिला आएर छोरी म्युजिकमा इन्ट्रेस्टेड भएको देखेर डराउनुभयो । मास्टर पढ्ने कुरा पनि पछि सार्दै थिए । साथीहरुको ट्रयाक क्लियर थियो । म भने रुमल्लिएको । म्युजिक जस्तो कुरा धेरैजसो बच्चामा नै शुरु हुन्छ । म बच्चमा गाउँदिनथे । म्युजिकमा इन्ट्रेस्टेड भए किन बच्चामा गरिनँ मैले भन्ने प्रश्नले पनि धेरै रिंगायो । मेरो फ्यामेलीलाई पनि विश्वास थिएन मैले म्युजिक गर्छ भनेर । म म्युजिक भर्खर सिक्दै थिएँ । बाहिर पढ्न गए रोकिन्छ भन्ने चिन्ता आफूलाई छँदै थियो । त्यसैले यतै एमए र एमबिएको पढाइ क्लियर गरे । त्यसपछि म्युजिकमा झन् लगाव बढ्यो । खोज गर्दै जाँदा आफूले  लिरिक लेख्न सक्दो रैछु । कम्पोज पनि गर्न सक्दो रैछु भन्ने कुरा थाह पाएँ । माया फेरि गीत गर्न पनि धेरै समय लाग्यो ।

अहिले के भन्नुहुन्छ बाआमाले ?

मेरो प्यारेन्टसलाई बुझ्न मलाई पनि टाइम लाग्यो । आफ्नो सन्तानले दुख नपाओस भन्ने हुने रहेछ बाआमाको मन । जे पढेको छ त्यही बाटो समातोस् भन्ने हुने रहेछ । उहाँहरु डाक्टर वा इन्जिनियर बनोस् भन्ने थियो । पिएचडी गरोस् भन्ने थियो । तर, मैले संगीतमै निरन्तरता दिएकाले अब यसैमा सपोर्ट गर्न थाल्नुभएको छ । उड तिमी गीत पहिले अर्कै सोचले गाएको थियो । अहिले  अभिभावकले आफ्नो सन्तानलाई गाएको जस्तो लाग्छ । सबैसँग छोडे पनि परिवारबाट त साथ नछोडिने रहेछ । आमाबुवाले छोराछोरीलाई प्रोटेक्ट गर्न खोज्नुहुन्छ । तर, प्रोटेक्टमात्र गरेर राख्यो भने त केही गर्न सकिदैन ।

कस्ता गीतहरु गाउन मनपराउनुहुन्छ ?

जे कुरामा पनि इन्टेन्सन महत्वपूर्ण लाग्छ । जुन गीत पनि इमान्दारीका साथ बनाएको छ भने राम्रो लाग्छ । यस्तै गीत गाउँनुपर्छ भन्ने लाग्दैन ।

भावी दिनमा कसरी अगाडि बढ्नुहुन्छ ?

आउने दिनहरुमा आफूलाई एक्स्प्लोर गर्ने हो । संगीत नै रोजिसकें । यो अथाह पनि छ । कम्पोजिसन एरेन्जमेन्ट अनि गीत लेख्न अझै मेहनत गर्छ । कविहरुसँग सहकार्य गर्न मन छ । अरु आर्टिस्टहरुसँग पनि सहकार्य गर्न मन छ । पछि थिएटर पनि गर्ने मन छ । म्युजिकको फरक जनरा अनि सांस्कृतिक गीत बनाउन र गाउन मन छ । जिन्दगी के हो ? भन्ने अनि मान्छेहरुको स्टोरी पढ्ने जिन्दगीको अर्थ खोतल्ने यस्तैमा रुचि छ ।

सम्बन्धित समाचार