अमेरिकाको विन्डम माउन्टेनमा स्की सिकाउँदै एकै परिवारका ३ जना नेपाली विद्यार्थी

January 18, 2019

आङछिरिङ शेर्पा/न्युयोर्क

हिउँदसँगै ढपक्क फूलेका विन्डमको हिउँबस्ती । चारैतिरका डाँडापाखामा बसेको हिउँले थप रमाणीय बनाइरहेको थियो । डाउन ज्याकेट र न्यानो कपडामा सजिएकाहरु माथिबाट चिप्लेटी(स्की) खेल्दै ओर्लिरहेका थिए । सेताम्मे हिउँमा तलदेखि माथिसम्म स्की खेल्नेको अचाक्ली भींड थियो । त्यही भींडमा एकै परिवारका ३ जना नेपाली विद्यार्थी स्की सिकाउन व्यस्त देखिन्थे । उनीहरू सिकारुलाई मात्र नभई अशक्तलाई पनि स्की खेल्न सिकाउँदै/सघाउँदै थिए ।

तेन्जिङ शेर्पा भर्खर १७ वर्षमा टेकेका छन् । कतिपय उनका उमेरकाहरु स्की सिकिरहेको बेला उनी भने अरूलाई स्की सिकाइरहेका छन् । विन्डम हाइस्कुलको सिनियर विद्यार्थी उनी स्की सिकाउन पाउँदा रमाइलो मानिरहेका थिए । ‘नेपालबाट आएर यही स्की सिकेर अरूलाई सिकाउन पाउँदा रमाइलो लागेको छ,’ तेन्जिङ भन्छन्, ‘बिदामा स्की सिकाउन पाउँदा खुसी लागेको छ ।’ बिदाको समयमा स्कीको प्रशिक्षक भए पनि उनी अध्ययनको समयमा निरन्तर अध्ययनमै लाग्ने गरेको बताउँछन् । तेन्जिङले स्की सिकाउन सुरु गरेको एक वर्ष भइसकेछ । जेठी दिदी जाङमु शेर्पा र माइली दिदी सोनाम शेर्पा विन्डमको हिमालमा अनुभवी स्की प्रशिक्षक भइसकेका छन् । उनीहरूले यस क्षेत्रमा स्की सिकाउन थालेको ६ वर्ष पुरा भयो । नेपालको हिमाली भेगमा जन्मेर अमेरिका आएका एकै परिवारका तीन जना नेपाली स्की प्रशिक्षक हुने उनीहरू सम्भवतः पहिलो नेपाली परिवार हो ।


सोलुखुम्बु टाकसिन्दुका कान्छा शेर्पा र पसी शेर्पाले तीनै सन्तानलाई उज्ज्वल भविष्य दिलाउने योजनाका साथ सन् २००६ मा अमेरिका ल्याएका थिए । अमेरिका आएदेखि छोराछोरीले गरेको मेहनतले अमेरिकामा नेपाली स्की प्रशिक्षकको रूपमा पहिचान दिलाएको छ । यी तीन जनाले सर्वसाधारणलाई मात्र होइन विन्डमको एडप्टी फाउन्डेसन संस्थामार्फत आउने शारीरिक अशक्त भएकाहरूलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन् । फाउन्डेसनका लागि उनीहरू आफ्नै घरबाट बिहान खाजा खाएर स्की स्थल पुग्छन् । दिउँसो आफ्नै खर्चले खाजा खान्छन्, बेलुकी घरमै खाना पुग्छन् । बिहानदेखि बेलुकीसम्म हरेक शनिवार र आइतवार उनीहरूले फाउन्डेसनलाई सहयोग गर्दै आएका छन् । उनीहरूले गरेको त्यो सेवा कलेज र फाउन्डेसनले मूल्यांकन गरिरहेको उनीहरू बताउँछन् । विन्डमको त्यो स्कीमा उनीहरूको स्कुलबाट प्रशिक्षक हुनेहरू अति नै कम छ । फाउन्डेसनबाट आउने अशक्तहरू कोही दृष्टिविहिन त कोही अपांग भएकाले उनीहरूले हातले समातेर र तानेर बेग्ला बेग्लै रूपमा सहयोग र प्रशिक्षण दिँदै आइरहेका छन् ।

नेपालबाट आउनसाथ विन्डममा बस्दै आएका तीनै जनाले विद्यालयको अध्ययनसँगै स्की सिकेका थिए । अध्ययनकै क्रममा सोनामले स्थानीय स्कुलबिचको स्की प्रतियोगितामासमेत सफलता हासिल गरे । यसै क्रममा सोनामले सन् २०१४ मा न्युयोर्कमा सम्पन्न स्टेट च्याम्पियनसिपको फरक फरक लिगमा दोस्रो भए । स्की खेल्न सिपालु भइसकेपछि प्रशिक्षकको तालिम लिएर सोनाम ६ वर्ष अघिदेखि प्रशिक्षक बनेका हुन् । उनले ४ वर्ष एडप्टी फाउन्डेसनका लागि स्वयंसेवक भएर सिकाएका थिए भने दुई वर्ष सर्वसाधारणलाई स्की प्रशिक्षण दिए । स्की खेलमा निपुण उनी अवसर पाए नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा भाग लिने योजनामा छन् । ‘अहिलेसम्म विभिन्न स्की प्रतियोगितामा भाग लिइसकेकोले अब मौका मिले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा भाग लिने इच्छा छ,’ सोनामले भने, ‘ ओलम्पिकमा जान लिनुपर्ने तालिम लिएमा मैले सक्छु भन्ने आत्मविश्वास बढेको छ ।’ उनी भविष्यमा स्की खेलसँगै नेपालको शैक्षिक तथा पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याउने लक्ष्य लिएको बताउँछन् । ‘हामीले यहाँ सिकेको र जानेको कुराहरू नेपालमा पनि प्रयोग गर्न पाए हुन्थ्यो भन्ने मनमा लागी रहेको छ ।’ सोनाम अहिले अल्बानिस्थित सियाना कलेजमा बाइलोजीको तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् ।

सोनामभन्दा केही वर्ष अघिदेखि सिक्दै आएकी दिदी जाङमु पनि स्कीमा सिपालु भएकोले ६ वर्षदेखि लगातार स्की प्रशिक्षकको रूपमा क्रियाशील छिन् । स्की प्रशिक्षणकै क्रममा जाङमुले स्वीजरल्यान्डको चर्चित स्की स्थानहरूमा गएर पनि स्की खेलेकी छिन् । विद्यालय स्तरीय स्की प्रतियोगितामा भाग लिएकी उनी भन्छिन्, ‘आफूले सिकेको र जानेको कुरा अरूलाई सिकाएर सहयोग गर्न पाउँदा निकै आनन्द लाग्छ, सुरुसुरुमा अशक्तलाई सिकाउन कठिन भए पनि अब त बानी भयो, सजिलै भएको छ ।’ जाङमु दुई वर्षअघि मातृभूमि नेपाल घुमेर आएका थिए । ११ वर्षको अन्तरालमा नेपाल पुगेर आउँदा जाङमुले नेपालका लागि धेरै कुराहरू सोचेर आएकी छिन् । ‘नेपाल पुगेर फर्केपछि भविष्यमा हामीले नेपालको शिक्षामा केही सहयोग गरौं भन्ने सोचाइहरू आइरहेको छ,’ जाङमुले सुनाइन्, ‘हामी जहाँ भए पनि आवश्यक भएको ठाउँमा केही गर्नुपर्छ भन्ने महसुस गरियो ।’ उनी आफू सानोमा पढेको विद्यालय र जन्मस्थल टाकसिन्दु गाउँ पुगेकी थिइन्, ‘लामो समयपछि आफू जन्मेको गाउँमा पुग्दा रमाइलो अनुभव मिल्यो ।’ जाङमु बफलो नजिकै जेनिसि कलेजमा पोलटिकल साइन्समा यही मे महिनामा ग्राजुएट गर्दैछिन् ।


स्कीको प्रशिक्षक हुनुको साथै पढाई पनि गर्व गर्न लायकको भएकोमा अभिभावकहरू खुसी छन् । ‘छोराछोरीकै लागि भनेर यही बसेको हो यहीबाट उनीहरूले स्की र पढाइमा प्रगति गरेकोमा हामी निकै खुसी छौं,’ तीन स्की प्रशिक्षकका बुबा कान्छा शेर्पाले भने, ‘अहिले उनीहरू आफै आफै खेल र अध्ययनबारे आफैले निर्णय गर्न सक्ने भएकोले हामीलाई त्यति चिन्ता छैन ।’ नेपालमा पर्यटन क्षेत्रमा लामो समय कार्य गरिसकेका कान्छा अमेरिका आएपछि नेपालकै पर्यटनको विकासमा लाग्दै आएको बताउँछन् । ‘हाम्रो देशको मुख्य आयस्रोत भनेकै पर्यटन भएकोले पनि हामीले सकेको अहिले पनि गरिरहेका छौं ।’

सम्बन्धित समाचार