सोलु दुधकुण्ड नगरको प्रवक्तामा शारदामाया तामाङ

August 21, 2018

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको नगर कार्यपालिकाको प्रवक्तामा नगर कार्यपालिका सदस्य शारदामाया तामाङलाई तोकिएको छ । सोलुखुम्बुका आठ स्थानीय तहमध्ये नेपाली काँग्रेसले जितेको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाको नगर कार्यपालिकाको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिएको हो ।

नगरपालिकाको वडा नं. ४ की काँग्रेसबाट निर्वाचित वडा सदस्य तथा नगरकार्यपालिका सदस्य समेत रहेकी तामाङले कार्यपालिकाले आफूलाई ठूलो जिम्मेवारी सुम्पेको भन्दै यसलाई आफ्नो विवेक र क्षमताले भ्याएसम्म प्रभावकारी रुपमा पूरा गर्ने बताइन् । नगरपालिकाको गतिविधिको यथार्थ सूचना दिन आफूले कुनै कञ्जुस्याँई नगर्ने उनको भनाइ छ ।

नगरकार्यपालिकामा भएका नीति, ऐन नियम, विभिन्न निर्णयहरु तथा नगरपालिकामा भएका विभिन्न गतिविधिहरुलाई आधिकारिक रुपमा बाहिर ल्याउने जिम्मेवारी प्रवक्ताको हुने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताए । तामाङलाई नगरकार्यपालिकाको बैठकले सर्वसम्मत चयन गरेको मेयर शेर्पाले जानकारी दिए । –हिमशिखर न्युजबाट

सम्बन्धित समाचार