श्रीलंकामा आइतबार चर्च र होटलमा आत्मघाती बम आक्रमणमा परी २०७ जनाको मृत्यु

April 21, 2019

श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चसहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या २०७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा ३५ जना विदेशी नागरिकसमेत छन् । बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएको डेलीमिरर डट एलकेले जनाएको छ ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ ।

सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।

चर्च सहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको बिस्फोटमा २५ जनाको मृत्यु भएको छ ।

शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलङ्काको राजधानी कोलम्बोको नजिक देहीवालामा पुनः बम बिस्फोट भयो । बिस्फोटबाट दुई जनाको मृत्यु भएको श्रीलङ्काली प्रहरीका प्रवक्ताले जनाए ।

प्रहरी प्रवक्ता रुवान गुनसेकराले आइतबार कोलम्बोको उत्तरी ओरुगोदावाट्टामा पनि आठौं बिस्फोट भएको हो ।

बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।

बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।

सम्बन्धित समाचार