स्थानीय तहमा निर्वाचित तामाङ जनप्रतिनिधिलाइ घेदुङको ‘तागी’ र सम्मान

June 17, 2017

काठमाडाैं । नेपाल तामाङ घेदुङले स्थानीय तहमा निर्वाचित तामाङ जनप्रतिनिधिलाइ सम्मान गरेको छ ।

शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बधाइ सम्मान तथा परिचयात्मक कार्यक्रम अायोजना गरी पहिलो चरणको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाइ सम्मान गरेको हो ।

कार्यक्रममा निर्वाचित मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरूलाइ तामाङ घेदुङका पूर्व अध्यक्ष, सल्लाहकार तथा वर्तमान पदाधिकारीले खादा तथा तामाङ तागी (टोपी) लगाएर सम्मान गरिएको थियो ।

पूर्व अध्यक्ष एवं सल्लाहकार कुमार योञ्जनले दीप प्रज्वलन गरी सुरू गरिएको कार्यक्रममा वर्तमान अध्यक्ष मोहन गोलेले स्वागत मन्तव्य राखे ।

तामाङ जनप्रतिनिधिले यस चुनावमा अाशातीत उपलब्धि हासिल गरेकोमा अाफुलाइ खुसी लागेको र अबका दिनमा तामाङ संस्कृतिलाइ बचाउन/तामाङको हकअधिकार सुनिश्चित गर्न जनप्रतिनिधि लाग्नुपर्ने उनको अपिल थियो ।

कार्यक्रममा घेदुङका सल्लाहकारहरू संग्रमसिंह लामा, डा मुक्तसिहं थोकर, कुमार योञ्जनले तामाङ जनप्रतिनिधिले ख्याल गर्नुपर्ने विषयहरू उजागार गरेका थिए ।

उक्त कार्यक्रममा पार्वतीकुन्ड गाउँपालिकाका मेयर बुचुङ लामा, रूबी भ्याली गाउँपालिकाका अध्यक्षा चेरूङ तामाङ, सुनापाती गाउँपालिकाका अध्यक्ष धावा लामा, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा र म्हेघाङ गाउँपालिकाका अध्यक्ष अाशाबहादुर तामाङले प्रतिवद्धता मन्तव्य दिएका थिए ।

तामाङ जनप्रतिनिधिहरूले स्थानीय कार्यालयमा तामाङ भाषालाइ अनिवार्य भाषा बनाइने, स्थानीय तहकाे नाम संशोधन गर्ने र तामाङ समूदायका मुद्दामा ध्यान दिने जस्ता विषयमा प्रतिबद्धता जनाए ।

जेठ ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीबाट ३० जना तामाङहरू स्थानीय तहको प्रमुखमा चुनिएका छन् ।

 

सम्बन्धित समाचार