सोनाम ल्होछार मनाइँदै, टुँडिखेलमा भोलि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

February 4, 2019

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार २८५४ शुरु भएको छ । आज टुडिखेलमा ल्होछार इभ आयोजना गरिएको छ ।

२८५४ को इभमा खि ल्हो(कुकुर वर्ग)को दीप प्रज्वलन गर्दै बिदाइ गरेका छन् भने फाग ल्हो(सुँगुर वर्ग)को स्वागत गरे ।

तामाङ घेदुङको संयोजकत्व, नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्व साथै सय भन्दा बढी तामाङ संघ संस्थाहरु सम्मिलित सोनाम ल्होछार मूल आयोजक समितिको संयोजनमा कार्यक्रम शुरु भएको हो ।

सुक्र लामाले ताम्बा सेरगेम गीत गाउँदै कार्यक्रमको सुरुवात गरे ।

तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो सोनाम ल्होछार । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन ल्हो परिवर्तन हुन्छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन् । अघिल्लो वर्ष भने प्रधामन्त्री ओली ल्होछारमा उपस्थित भएका थिएनन् ।

यस्तो छ भोलिको कार्यक्रम

बिहान ११ः०० बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट ताम्बा, लामा र बोन्बो झाँकी सहित हजारौको संख्यामा र्‍याली सुरु हुनेछ ।
१२ः०० बजेदेखि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूबाट कार्यक्रमको समुद्घाटन, शुभकामना मन्तब्य, झाँकी प्रदर्शनी तथा तामाङ कलाकारहरुद्वारा आकर्षक तामाङ गीत, नृत्य र साहित्य प्रस्तुत गरिनेछ ।
कार्यक्रम अवधिभर (२ दिन) विभिन्न स्टलहरुमा तामाङ खानपीन, भेषभूषा, तामाङ पुस्तक, मौलिक कला, संस्कृति र अन्य महत्वपूर्ण सामाग्रीहरुको प्रदर्शनी तथा स्वास्थ्य शिबिर निरन्तर सञ्चालन हुनेछ ।
साँझ ७ः०० बजे मूल समारोहको आयोजनामा हुने सम्पूर्ण कार्यक्रमलाई विधिवत् रुपमा समापन गरिनेछ ।

सम्बन्धित समाचार