तामाङनै बोल्नुपर्ने

May 25, 2017

आश्रुति लामा

कथा

पेमाको टेलिफोन ट्रिङट्रिङ गर्दै बज्यो । पेमाले त्यो फोन उठाइ र त्यो फोन उसको हजुरआमाको थियो । हजुरआमाले कुलदेउताको पूजाको लागि सिन्धुली आउ भन्न फोन गर्नुभएको थियो । हजुरआमाले यो कुरा भन्नुभएपछि ऊ खुसी भई ।
पेमा र उसकी आमा काठमाडौँमा बस्थे र उसको हजुरआमा र हजुरबुबा सिन्धुलीमा बस्थे । पेमा खुसी हुँदै यो कुरा आफ्नी आमालाई सुनाउन गई । आमाले यो कुरा सुन्नुभएपछि अलि उदास हुँदै भन्नुभयो–“छोरी तिमी त जान पाउँदैनौ किनभने कुलदेउताको पूजामा तामाङ भाषा बोल्नुपर्छ तर तिमीलाई तामाङ बोल्न आउँदैन”, “बरु म तिमीलाई तिम्रो फुपूको घरमा छोडिदिन्छु अनि म पूजा सकेर आउँछु ।”
पेमाले रिसाउँदै भनी, “म पनि हजुरसँगै जान्छु ।” जान्छु भने पछि जान्छु जान्छु ।”
आमाले पेमाको जिद्दी देखेर आँखा रातो रातो पार्दै भन्नुभयो, “एकचोटी जानुपर्दैन भनेपछि चुपो लागेर बस्नुपर्दैन ?”
आमाको कुरा सुनेर पेमा रिसाएर आफ्नो कोठामा गई । आमालाई पनि नराम्रो लाग्यो त्यसैले आमा पेमालाई फकाउन जानुभयो ।
आमाले भन्नुभयो, “हुन्छ ल तिमी पनि मसँगै हिँड तर एउटा कुरा याद राख्नु नी, तिमीलाई तामाङ बोेल्न नआएपनि अरु भाषा नबोल्नु नी । पेमाले हुन्छ हुन्छ भन्दै जवाफ दिई र खुसी भई ।
बिहानै ६ बजेको बसमा आमा छोरी चढेर १२ बजेतिर सिन्धुली पुगे । हजुरआमा र हजुरबुबाले आफ्नो नातिनीलाई कुरेर बसिरहेका थिए । घर पुग्ने बित्तिकै पेमाले आफ्नो हजुरबुबा र हजुरआमालाई अँगालो मारी । आमाले चाहिँ हजुरआमाको खुट्टा ढोग्नुभयो । हजुरबालाई नमस्कार गर्नुभयो । हजुरबुबा र हजुरआमाले पेमालाई एकै स्वरमा भन्नुभयो “भोलिको पूजामा तामाङ भाषा बोल्नु पर्छ नी ! सीताले भनी “मलाई तामाङ बोल्न आउँदैन” आमाले भन्नुभयो “मैले यसको जिद्दी देखेर मात्रै यसलाई यहाँ ल्याएकी हुँ ।”
हजुरआमाले भन्नुभयो “ल भइहाल्यो नी ” त्यैपनि त्यहाँ उसलाई आफ्नी आमाबिना राम्रो लाग्दैनथ्यो । मेरी प्यारी नातिनी भन्दै हजुरआमाले पेमालाई म्वाइँ खानुभयो ।
हजुरबुबाले भन्नुभयो, “तिमीलाई तामाङ बोल्न आउँदैन भने तिमी चुपो लागेर बस तर याद राख यदि तिमीले अरु भाषा बोल्यौ भने पूजा सफल हुने छैन । पेमाले हस् भनी ।
भोलिपल्ट सबैजना बिहानै ६ बजे उठेर नुवाइधुवाइ गरे । सात बजेतिर झाँक्री र लामा दुवै जना पूजा गर्न आए । पेमाले त्यो झाँक्रीलाई देखेर आफ्नो शिक्षकले पढाउनुभएको सम्झी । पेमाले आफ्नी हजुरआमालाई भन्न चाहन्थी तर उसलाई तामाङ बोल्न आउँदैनथ्यो । त्यसैले उसले आफ्नो हजुरआमालाई इशारामा भन्न खोजी तर हजुरआमाले बुझ्नुभएन त्यसैले हजुरआमाले तामाङ भाषामा “चुसे तिगालबा” भन्नुभयो । पेमाले केही बुझिन र चुप लागेर बसी ।
झाँक्री र लामाले पूजा गर्न थाले । पूजामा कसैले पनि नेपाली बोलेनन् । सबैले तामाङ बोले । पेमा धेरै कुरा बोल्न चाहन्थी तर ऊ चुप लागेर बसी ।
पूजामा झाँक्रीले ढ्याङ्ग्रो बजाउन सुरु ग¥यो र लामाले मन्त्र भन्न सुरु ग¥यो । सबैले बुझिरहेका थिए, तर पेमाले चाहिँ बुझेकी थिइन । ऊ मनमनै आफ्नो हजुरआमाले तामाङमा के भन्नुभएको होला भनेर सोचिरहेकी थिई ।
पेमा नबोलिकन पूजा पनि सकियो । पूजामा बोल्न नपाएर उसलाई नराम्रो लाग्यो । रातभरि पूजामा हजुरआमाले तामाङमा उसलाई के भन्नुभएको होला भन्ने उसले सोची रही ।
पूजा सकिएको भोलिपल्ट पेमाकी आमा र सीता बिहानको बसमा काठमाडौँ जान चढे । गाडीमा पनि उसले आफ्नो हजुरआमाले तामाङमा उसलाई “चुसे तिगा लाबा” भन्नुभएको के होला भनेर सोची रही । त्यो सोच्दा सोच्दै ऊ घर पुगी तर उसले हजुरआमाले भन्नु भएको कुरा बुझ्न सकिन । त्यसैले उसले आफुले आफुलाई नै अर्को पाली पूजामा तामाङ सिकेर मात्रै जान्छु भनी ।

-लामा कीर्तिपूरस्थित शुभकामना एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छिन् ।

सम्बन्धित समाचार