तामाङ समुदायले अमेरिकामा धुमधामका साथ सोनाम ल्होछार मनाउँने   

February 8, 2018

ङिमा पाख्रिन /न्युजर्सी

अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने तामाङ समुदायले सोनाम ल्होछार पर्वलाई धुमधामले मनाउँने भएका छन् । बिभिन्न राज्यहरुमा हप्ता दिनको फरकमा ल्होछार कार्यक्रमको आयोजना स्थानीय तामाङ संस्थाहरुले गरेका छन् । कार्यक्रममा गीत प्रस्तुती गर्न तामाङ कलाकारहरुको दौढधुप उत्तिकै बढेका छन् । निमा रुम्बा, सन्जोक योन्जन, सागर वाईबा लगायतका कलाकारहरुलाई एक पछि अर्को कार्यक्रममा पुग्न भ्याई नभ्याई भएको आयोजकले बताएका छन् ।

यही फेब्रुअरीको १० तारिक टेक्सासको डल्लासमा तामाङ सोसाईटी अफ डल्लास, टेक्सासको आयोजनामा पहिलो पटक ल्होछार मनाईने आयोजक संस्थाले जानकारी दिएको छ । आयोजक सँस्थाका अध्यक्ष छिरिङ लामाका अनुसार गायकद्वय सञ्जोक योन्जन र सागर वाईबा सेलो, म्हेन्दोमाया, लोक तथा पप गीतहरु प्रस्तुतीका लागि सहभागी हुनेछन् । लामा गुरुबाट पूजा गरी शुरु गरिने ल्होछार कार्यक्रममा तामाङ मौलिक सेलो, म्हेन्दोमाया तथा लोक गीतहरुमा बिभिन्न मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरिने छन् । कार्यक्रममा स्थानीय तामाङ समुदायको साथै शेर्पा, गुरुङ, ह्योल्मो र अन्य समुदायको समेत उपस्थित रहने आयोजकको दावी छ ।

फेब्रुअरी ११ तारिक अाईतबार तामाङ सोसाईटी अफ न्युयोर्कको आयोजनामा न्युयोर्कमा ल्होछार कार्यक्रम हुने संयोजक छेमाङ तामाङले जानकारी दिएका छन् । उपलब्ध जानकारी अनुसार क्वीन्स उडसाईडको गुल्सन टेरेसमा हुने कार्यक्रममा लामा गुरुबाट पूजापाठ, शुभकामना आदनप्रदान, तामाङ मौलिक पोशाकको प्रवर्धनात्मक प्रदर्शनी, तामाङ बौध्द तथा साँस्कृतिक केन्द्रको प्रगती विवरण प्रस्तुती लगायत मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम हुनेछन् । आयोजक संस्थाका सदस्य सचिव अमर तामाङका अनुसार बिबिध गीतहरु प्रस्तुतीको लागि गायक सन्जोक योन्जन, गायिकाहरु गोमा योन्जन, अरुणा रुम्बा र कुमारी लामा रहने छन् भने स्थानीय तामाङ युवा युवतीहरुबाट आकर्षक सेलो नृत्यहरु प्रस्तुत हुनेछन् ।

यसैगरी फेब्रुअरी १७ तारिक शनिबार तामाङ सोसाईटी अफ ग्रेटर वाशिङटनले जेविस कम्युनिटी सेन्टर, नर्देन भर्जिनियामा ल्होछार कार्यक्रमको आयोजना गरेको छ । आयोजक संस्थाका अध्यक्ष उत्तर दोङका अनुसार कार्यक्रममा पपगायक निमा रुम्बा र द एन्जेल्स ब्यान्डको प्रस्तुती रहने छन्।यसका साथै मोक्ष ब्यान्ड र स्थानिय अन्य कलाकारहरुबाट समेत गीत सँगीतका साथै बिभिन्न आकर्षक साँस्कृतिक नृत्यहरु हुने कार्यक्रमको शुरुवात भने लामा गुरुहरुसँगै स्थानिय गुम्बाका अमेरिकन बुध्दिष्ट अानीबाट पूजापाठ गरी हुनेछ । अध्यक्ष दोङका अनुसार कार्यक्रममा नेपालका लागि अमेरिकाका पुर्व राजदूत स्कट डेलेसी र उनका पत्नी लगायतका अतिथीहरुलाई उपस्थित गराई ल्होछारको सन्दर्भ र महत्वलाई अमेरिकामा चर्चा गर्न प्रयास गरिनेछ ।

फेब्रुअरी १७ कै दिन क्यालिफोर्नियामा पनि ल्होछार कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष कुमार दोङले जानकारी दिएका छन् । तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको आयोजनामा हुने उक्त ल्होछार कार्यक्रममा साँगितीक मनोरञ्जन प्रस्तुतीका लागि गायकद्वय सन्जोक योन्जन र सागर वाईबा पुग्नेछन् । उनीहरुलाई स्थानिय गायिका नलिना चित्रकारको साथ रहने अध्यक्ष दोङले बताएका छन् । साँस्कृतिक कार्यक्रमको अलवा त्यहाँ पनि लामा गुरुको पूजापाठ सहित शुभकामना आदनप्रदान हुनेछन् ।

ल्होछार / लोसार मनाउँने समुदाय मध्ये गुरुङ, ह्योल्मो र केहि राज्यका तामाङ समुदायले यस अघि मनाई सकेका छन् । शेर्पा र मुस्ताङ समुदायको लोसार कार्यक्रम अागामी दिनमा हुँदैछन् । चन्द्र पात्रो अनुसार हरेक बर्षलाई कुनै एक जनावरले प्रतिनिधित्व गर्ने प्रचलन अनुसार चरा (च्याल्हो) बर्षलाई बिदाई गरी कुकुर (खील्हो) बर्षको स्वागतार्थ यसपालीको ल्होछार हो अर्थात नयाँ बर्षको शुरुवत भएको हो ।

सम्बन्धित समाचार