तमु सोसाइटीले मौलिक संस्कृति पस्कँदै मनायो ल्होछार

January 3, 2020

–मच्छे गुरुङ

न्युयोर्क– गुरुङ (तमु) सोसाइटी अफ अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०७६ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ । यो वर्ष फो ल्हो अर्थात् मृग वर्गको बिदाइ र च्यु ल्हो अर्थात् मुसा वर्गको स्वागत गर्दै न्युयोर्कमा बसोबास गर्ने गुरुङ जातिले ल्होछार मनाएका हुन् ।

गुरुङ समुदायले हरेक वर्ष पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । ल्हो को अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउँदै आएको हो । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् ।

ल्होछार कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाली कन्सुलेटका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबै नेपालीलाई सहयोग गर्न अनुरोध गरे । उनले भने, ‘नेपालको पहिचानलाई नेपाली भाषा र संस्कृतिको महत्वपूर्ण भूमिका खेलेको छ, त्यसैले नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न आह्वान गर्दै महावाणिज्य दूतावासले गर्ने कार्यक्रममा साथ दिन म आह्वान गर्दछुु ।’ त्यस्तै कागजातविहीन नेपाली आप्रवासीले पनि अमेरिकी जनगणना २०२० मा भाग लिँदा व्यक्तिगत रुपमा कसैलाई पनि असुरक्षा नहुने भएकोले जनगणनामा भाग लिनुपर्ने उनको सुझाव छ ।

 

कार्यक्रममा आदिवासी जनजाति महासंघ (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले नेपालको संविधान आदिवासी जनजातिका सवालमा अझ पनि विभेदकारी रहेको बताउँदै त्यसलाई संशोधन गर्न माग गरे । उनले धर्म, संस्कार, संस्कृति र परम्परालाई जोगाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै ल्हाछारको शुभकामना दिए ।

फिप्ना अध्यक्ष चेम्जोङले नेपाल सबै जाति, सबै भाषीको, सबै धर्मको नेपाल बन्नुपर्ने उल्लेख गर्दै ल्होछार पर्वलाई राष्ट्रिय पर्वको रुपमा नेपाल सरकारले दिइँदै आएको बिदा कटौती गरेको प्रति आपत्ति जनाए ।

कार्यक्रममा एनआरएन एनसिसी यूएसएका उत्तर–पूर्वी क्षेत्रीय उपाध्यक्ष बिआर लामा र एनआरएन एनसिसी न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले जनगणना २०२० मा भाग लिन सबैलाई आग्रह गर्दै फाराममा सबै नेपालीलाई जातको ठाउँमा नेपाली लेख्न आग्रह गरेका थिए । उनीहरुले भने, ‘हामी सबैले जातको ठाउँमा गुरुङ, मगर, अधिकारी आदि नलेखेर नेपाली लेख्यौं भने अमेरिकामा यति नेपाली छन् भन्ने संख्या आउने छ, त्यही जनसंख्याको आधारमा अमेरिकी सरकारले समुदायका लागि बजेट छुट्टयाउने भएकोले जनगणनामा नछुट्टयाउन अनुरोध गर्दछु ।’

सोसाइटीका अध्यक्ष विजय गुरुङले गुरुङ जातिको संस्कार र संस्कृति जगेर्ना गर्न समाजले हरेक वर्ष महान् पर्व ल्होछार आयोजना गर्दै महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गरे । गुरुङ जातिले विभिन्न १२ जीवजन्तुहरूका चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउने गरेको गुरुङ तमु समाजका अध्यक्ष गुरुङले बताए । उनले आप्mनो संस्कार र संस्कृति पुस्तान्तरण गर्नका लागि पनि सोसाइटीले आयोजना गरेको कार्यक्रममा स–साना बालबालिकालाई ल्याउन आग्रह गरेको बताएका थिए । उनले तमु एकताको लागि गुरुङ समाज सधै तयार रहेको पनि बताए ।

गुरुङ सोसाइटीले ‘सम्पूर्ण गुरुङहरू एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौ ’ भन्ने मूल नाराका साथ न्युयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । सोसाइटीले आप्mनो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्युयोर्कसिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पुस १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ । न्युयोर्कमा यो ल्होछार २१ औं संस्करण हो । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, प्रवद्र्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि बर्सेनि तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ ।

कार्यक्रममा गुरुङ समुदायलाई अनवरत रुपमा सहयोग पुर्‌याएको भन्दै समाजका सदस्य तथा पूर्वसल्लाहकार बलबहादुर गुरुङलाई विशेष सम्मान गरिएको थियो । समाजमा आजीवन सदस्य बनेका ४ जोडीलाई पनि प्रमाणपत्र तथा समाजको ब्याज वितरण गरिएको थियो ।

कार्यक्रममा गुरुङ (तमु) हरूको संस्कृति झल्किने सोरठी, कौडा, गुरुङको मौलिक संस्कृति झल्किने गीति नाटक, गुरुङ आमा समूहका आमाहरुको विशेष प्रस्तुति तथा विविध सांस्कृतिक प्रस्तुति रहेको थियो । गुरुङ समुदायका आमाहरु आप्mनै भेषभुषामा सजिएर हिँड्दा, स्टेजमा देख्दा अतिथिहरुको तालीको गडगडाहटले हल नै गुन्जिएको थियो ।

स्थानीय युवा कलाकारहरूको नेपाली पप गीत, संगीत लाइभ प्रस्तुतिले हलमा उपस्थित सहभागीहरुको हुटिङले केही क्षण कुनै कन्सर्टमा पु¥याएको आभास दिलाएको थियो । स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिलाई हलमा उपस्थित भीडले वान्स मोर वान्स मोर भनेपछि कलाकारहरुलाई प्रस्तुति दोहोर्‌याउन समेत बाध्य पारेका थिए ।

नेपाली लोकगीतमा मात्र नाच्ने आमा दिदीबहिनीहरु पनि नेपाली पप गीतको तालमा हलमा कम्मर मर्काईमर्काई नाचेर उनीहरुलाई साथ दिएका थिए । अधिकांश नृत्य गर्ने कलाकारहरुले गुरुङ जातिको भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए । गाउँघरको झल्को दिलाउनका लागि, हललाई गुरुङ जातिको संस्कृति झल्कने गरी मकैको झुत्ता, गुन्द्री, सुकुल, पीरा लगायत सामग्री संकलन गरेर सजाइएको थियो ।

औपचारिक कार्यक्रम सचिव जंग गुरुङ तथा सांस्कृतिक कार्यक्रम, विक्की गुरुङ, अनिता गुरुङ तथा चन्दा गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रमको संयोजन चन्दा गुरुङ तथा ठम्मरसिंङ गुरुङले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका अगुवा, प्रतिनिधिहरु लगायत ५ सय बढी सहभागी थिए ।

सम्बन्धित समाचार