६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागिर



सल्यान– सल्यानमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन ।

२०७४ को स्थानीयतहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन । तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए ।

शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उतीर्ण भएपछि उनी वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका हुन । ‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजे,’ बुढामगरले भने ।

आगामी दिनमा राजनीतिमा नफर्किने सोचे बनाएको उनले बताए । उनले गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका हुन। सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : १७ बजे