बिदेश पढ्न जाने योजना थाँती क्यान्सर रोगीको आत्मबल बढाउने अभियानमा टेरिसा

October 2, 2019

टेरिसा तामाङले माइक्रोबायोलोजीमा बिएससी सकाउँदैछिन् । क्यान्सर सेलसम्बन्धी पढाई थालेकी उनले कुनै बेला सोचेकी थिइन् ः विदेश गएर अझै राम्रो पढ्नुपर्छ । पढाई र अनुसन्धानको सिलसिलामा विभिन्न देश पुगेपछि भने उनको यो योजना अहिले त्यसै थन्किएको छ ।
अहिले उनी नेपालमै बसेर क्यान्सरी रोगीको मनोबल बढाउने अभियानमा लागेकी छिन् । यस्तो अभियान उनले १७ वर्षको उमेरमा थालेकी हुन् । उनको यो यात्राको टर्निङ प्वाइन्ट थियो बेलायत यात्रा ।

सन् २०१७ मा बेलायतमा भएको क्यान्सर रोगीहरुको मानसिक स्वास्थ्यको बारेमा आयोजित एक कार्यक्रममा संसारका विभिन्न भागबाट छ हजार आवेदकहरूमध्येबाट छनौट भई अनुसन्धान तथा सिक्ने मौका पाइन् उनले । उनले आफ्नो प्रस्तुति लण्डनस्थित संसद भवनमा दिने मौका पाएकी थिइन् । सोही क्रममा बेलायतमा रहेको एक क्यान्सर अस्पतालमा घुम्ने क्रममा क्यान्सर रोगको मानासिक उपचारबारे
बुझिन् । यो उनलाई नौलो लाग्यो ।

किनकि नेपालमा यस्तो अभ्यास थिएन । त्यही विषयलाई उनले कर्मको विषय बनाउने निधो गरिन् र शुरु गरिन् धैर्य क्यान्सर फाउन्डेसन । यसैमार्फत उनी क्यान्सर रोगीको मनोबल बढाउन विभिन्न कार्यक्रम आयोगना गर्छिन् । यसै विषयमा उनै टेरिसा तामाङसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानी:

धैर्य क्यान्सर फाउन्डेसनको स्थापना कसरी भयो ?
पढाईको सिलसिलामा युके जाने मौका पाएको थिएँ । पर्लियामेन्ट हाउसको अन्डरमा प्रतिनिधि भएर त्यहाँ जाने गर्ने मौका पाएँ । त्यहाँ मैले म्यागी क्यान्सर सेन्टरमा पुग्ने मौका पनि पाएँ । त्यहाँ क्यान्सर अस्पतालमा मेन्टर हेल्थमा फोकस गर्ने रहेछ । नेपालमा त्यस्तो थिएन र अझै छैन । यहाँ खाली फिजिकल्लीमात्र ध्यान दिइने रहेछ । किमो थेरापी गर्दा पनि नाफा खाएर बेचेको हुन्छ । नर्सहरुको व्यवहार पनि खासै राम्रो हुँदैन । त्यसैले पनि मलाई यही क्षेत्रमा फोकस भएर काम गर्न मन लाग्यो र केही साथीहरुको साथ लिएर फाउन्डेसन स्थापना गरेकी हुँ ।

यो फाउन्डेसनले के के काम गर्छ ?
मुख्यता हाम्रो फाउन्डेसनको काम क्यान्सर रोगीको आत्मबल बढाउनु नै हो । यसका लागि यसले आर्ट्स थेरापीको कार्यक्रम गर्दै आएको छ । भर्खरै काठमाडौंको कान्ति बाल अस्पतालमा २७ सेप्टेम्बरमा आर्ट्स थेरापी भयो । २० जना क्यान्सर पीडित बालबालिका सहभागी भएका थिए ।

यसको उद्देश्य आत्मबल बढाउनु भन्नुभयो, यो सम्भव छ र ?
मानिसको आत्मबल कमजोर भयो भने रोगसँग जित्न सक्दैन । क्यान्सर यस्तै आत्मबल कमजोर पारिदिने रोग हो । हामीले हाम्रो थेरापीमा क्यान्सरबारे जानकारी दिने र डाक्टरले काउन्सिलिङ दिने गर्नुहुन्छ । ९० प्रतिशत क्यान्सर रोगी एन्जाइटी र डिप्रेसनको सिकार हुन्छ । डिप्रेसन भएर अस्पतालमा काउन्सिलिङका लागि गएमा नेपालमा पागल भनिन्छ । तर, डिप्रेसन भनेको आशा गुमाउनु हो । यसलाई सबै मिलेर काउन्सिलिङ गर्न सकेमा धेरै घटाउन सकिन्छ । जब मानिसको आशा पलाउँदै जान्छ । रोगसँग लड्ने क्षमता बढ्दै जान्छ ।
अर्को कुरा क्यान्सरको दुखाई पनि कम महसुस हुन्छ भनेर बालबालिकालाई आर्ट गर्न लगाएको हौ । जब मानिस व्यस्त हुन्छ तब पीडा पनि कम हुन्छ । काममा इन्गेज भएपछि कामपट्टी लाग्छ । मेन्टल्ली स्ट्रङ भएपछि आत्मविश्वास बढे क्यान्सरसँग जित्न सक्छौ ।

समाजसेवा आफैमा गाह्रो काम हो, त्यसमा पनि तपाई युवा उमेरमा यही क्षेत्रको नेतृत्व गरिरहनुभएको छ, कतिको अप्ठेरो हुनेरहेछ ?
शुरु गर्दा घरमै प्रश्न उठ्थ्यो– यस्तो काम नगर्नु । पहिले पढाईमा फोकस गर्नु भन्नुभएको थियो बाआमाले पनि । तर, आँटे । काम गर्दै गएपछि सहयोग गर्नेहरु पनि भेट्दै आएकी छु । बोस्टनममा बस्नुहुने विजय लामाले गो फन्ड मी मार्फत एक लाख रुपैयाँ कलेक्सन गरी सहयोग गर्नुभयो । उहाँले सहयोग नगर्नुभएको भए काभ्रेमा अवेरनेस कार्यक्रम सफल नै हुन्थेन । न्युयोर्कमा बस्नुहुने नाम्गेल लामा दाईको साथ र सहयोगले अघि बढ्न प्रोत्साहन दिइरहन्छ । उहाँ फस्ट एनुअर डोनर पनि हुनुहुन्छ । सेकेन्ड युकेमा बस्नुहुने कुमार स्याङ्तन हुनुहुन्छ । कोरियामा बस्नुहुने शान्त तामाङको साथ उस्तै छ ।विदेशमा बस्नुहुने धेरैले मलाई यसरी नै सघाएर काममा अघि बढ्न हौसला दिइरहनुभएको छ । अहिले सहयोगी हातहरु भेटिएकोले पनि साहस आएको छ । काम गर्न । नभए शुरुका दिनमा त निकै गाह्रो नै थियो ।

फिल्डमा खटिँदा गाह्रो भएन ?
अस्पतालमा गएर ठुलाठुला डाक्टरहरु भेट्दा धेरै डर लाग्थ्यो । कन्भिन्स गर्न पनि मुश्किल हुन्थ्यो । अहिले सिक्दैछु ।

रोगीहरुले के कस्ता आशा गर्नुहुन्छ ?
हामी काउन्सिलमा जाँदा कतिपयले उपचार खर्च पनि पाइन्छ कि भनेर कतिले आशा गर्नुहुन्छ । म रिसर्च गर्ने क्रममा भक्तपुरको क्यान्सर अस्पतालमा पुगेको थिएँ । त्यहाँ एकजनाले सहयोगको अपिल गर्नुभएको थियो । मैले प्रयास पनि गरे्र । तर सहयोग जुटाउन सकिनँ । एकदमै निराश लाग्यो त्यतिबेला ।

रिसर्चमा प्यासेन्टलाई सोध्न पनि गाह्रो हुन्छ । मलाई पैसा आउँदैन भने किन बोल्ने भन्नेसम्मका क्यान्सर पेसेन्टहरु पनि भेटिन्छ । तर, यस्तो सानो कुरालाई दुख मानेर बसे अगाडि बढ्न सकिदैन नि ।

यसको उद्देश्य के के हुन् र यसले के के काम गरिसकेको छ ?
धैर्य भनेको आशा जगाउनका लागि राखेको शब्द हो । कतिले आफ्नो जीवनको आशा गुमाइसकेको हुन्छ । यसमा आशा जगाउनु नै मुख्य उद्देश्य हो ।

यसले क्यान्सर रोगीहरुका लागि हामी आर्टस् थेरापी कार्यक्रम सञ्चालन गरिरहेको छ । काभ्रेमा क्यान्सर अवरनेस कार्यक्रम गर्‍यौ ।
कुनै पनि गाउँमा यस्तो चेतना फैलाउनका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । र हाम्रो ड्रिम प्रोजेक्ट भनेको क्यान्सर रोगीको मानासिक उपचारसहितको सेवासुविधासम्पन्न क्यान्सर अस्पताल खोल्नु पनि हो । सबैको साथ र सहयोग पाएमा अवश्य त्यो पुरा हुनेमा विश्वस्त छु ।

सम्बन्धित समाचार