थारु राष्ट्रको ‘बडी पोलिटिक्स’ सत्ताले निरन्तर प्रहार गर्दै आएको छ : चौधरी

January 6, 2019

काठमाडौं । एस.सि.आर.सि. डिस्कोर्स सेरिजको १३ औं शृङ्खला पुस २१ गते सम्पन्न भएको छ । सेरिजमा राजनीतिशास्त्रको अध्ययता तथा राजनीतिज्ञ सि.एन. थारुले ‘बडी पोलिटिक अभ थारु नेसन’सम्बन्धी सामग्री प्रस्तुत गरेका छन् ।

मधेस मिडिया हाउस अनामनगरमा आयोजित सेरिजको माइजन भने डा. ललन चौधरी रहेका थिए । प्रस्तोता थारुले प्रस्तुतिको पहिलो खण्डमा बडी पोलिटिकको अर्थ, उत्पत्ति, परिभाषा, क्षेत्र साथै महत्त्वबारे स्पष्ट पारेका छन् । दोस्रो खण्डमा भने थारु राष्ट्रको बडी पोलिटिकमाथि केन्द्रित रहेका थिए ।

उनले थारु राष्ट्र भएको वैधानिक रूपमा प्रमाणित गरेका छन् । थारु राष्ट्र र तिनको बडी पोलिटिकमाथि राज्यसत्ताले निरन्तर प्रहार गर्दै आएको देखिन्छ; यद्यपि थारुले आफ्नो बडी पोलिटिकलाई जोगाउनुको साथै निरन्तर अभ्यास गर्दै आएको छ । पूर्वमा ब्रह्मपुत्रदेखि पश्चिमको कुमाउ, गढवालसम्म थारु राष्ट्रको आवादी रहेको छ । आफ्नै विशिष्ट साथै मौलिक आस्था र विश्वास पद्दतिले थारु राष्ट्रलाई अझै बलियो बनाएको छ ।

आवादी भूक्षेत्र ठूलो रहेकोले यो राष्ट्रको संस्कार संस्कृतिमा विविधता स्वाभाविक मान्नुपर्दछ । यति हुँदा-हुँदै पनि थारु राष्ट्रमा हामी थारु भन्ने भाव बलियो रहेको छ । थारु समाज सञ्चालनको आफ्नै मौलिक व्यवस्था कायम रहेको छ । यसको आफ्नै न्यायप्रणाली पनि रहेको छ; जसलाई स्थान विशेष, महताँवा, भलमन्सा र बडघर आदि भन्दछन् ।

तिनै प्रणालीलाई नै पछिल्लो समयमा नेपाली राज्यसत्ताले मुखिया, जीमिदार वा पटवारी आदिका रूपमा स्थापित गराएको देखिन्छ । थारुका चौरासी महताँवा, भलमन्सा वा बडघरहरूका एक किसिमको महासङ्घ जस्तो गठन गरिएको थियो । त्यसलाई माइजन भन्दछन् । केही समयअघिसम्म पनि माइजनको अभ्यास कायम रहेको थियो । माइजन भनेको राजा वा सोसरहको मानिन्छ ।

यसप्रकार थारु समुदायको आफ्नै राजनैतिक तथा न्यायिक प्रणाली कायम रहेको स्पष्ट हुन्छ । यसको हजारौं वर्षअघिदेखि प्रचिलत आफ्नै प्रथाजनित कानून रहेको छ । आधुनिक राज्य निर्माणको क्रममा थारु बडी पोलिटिकलाई भत्काएका थिए । जति भत्काएतापनि यो राष्ट्रले आफ्नो पुर्खाद्वारा स्थापित व्यवस्थालाई बिर्सेको छैन ।

बरु राज्यले लादेका व्यवस्थाको विरुद्ध निरन्तर प्रतिकाररत रहेको छ । यसैक्रममा राज्य र थारु बीच एक किसिमको अन्तरद्वन्द्व वा टसल कायम रहेको देख्न सकिन्छ । थारु राष्ट्रसँग राज्यको प्रतिकार गर्न सक्ने क्षमता रहेको छ । त्यो प्रतिरोधको उद्देश्य चाहिँ थारु बडी पोलिटिकको निरन्तर अभ्यास तथा पुनः स्थापना हो । प्रस्तोता थारुले आफ्ना प्रस्तुति तथा दाबीहरूलाई विश्व राजनैतिक अभ्यास तथा बौद्धिक जगत्मा प्रचलित मान्यता, सिद्धान्त तथा दर्शनका आधारमा प्रमाणित समेत गरेका छन् ।

कार्यक्रमका माइजन डा. ललन चौधरीले थारु राष्ट्रमाथि राज्यले ज्यादति गर्दै आएको बताएका छन् । देशको राज्यसत्ताले थारु प्रथम-राष्ट्रलाई पूराका पूरा कमैया बनाएको थियो । जसको अवशेष अझै कायम रहेको समेत उनले दाबी गरेका छन् । ऐतिहासिक रूपमा प्रथम-राष्ट्रमाथि भएको यो एक किसिमको निस्कृष्ट युद्ध अपराध नै हो । डिस्कोर्स सेरिजमा सहमागीहरूले विविध प्रश्न तथा सुझावहरू राखेका छन् ।

सम्बन्धित समाचार