नेपालमा तेस्रो शक्तिको खाँचो

June 23, 2019

न्हुच्छेनारायण डंगोल-

नेपालमा अहिले दुई तिहाइ सरकारको राज्य आतंक छ । दुई तिहाइको आडमा केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको स्वतन्त्रतापूर्वक बोल्ने, लेख्ने अधिकार खोस्दै छ । उत्तर कोरियाली शासनशैलीको झल्को दिन थालेको ओली सरकार आफूले मस्ती गर्दै आम जनतालाई दुःख दिन थालेको छ । जनताले केही गर्छ कि भनी भ्रममा परेर कम्युनिष्टलाई भोट हाले । अहिले सरकारको व्यवहार र कार्यशैली देखेर बल्ल झस्कन थालेका छन् । घुमाइफिराइ जनताको मुख थुन्ने काम गर्दैछ ओली सरकार । यो सरकारले विपक्षीलाई पनि तह लगाउने, जनताका अधिकार खोस्ने र आफू निरङ्कुश बन्ने सोचले काम गर्दैछ । यस्तो अवस्थामा प्रमुख विपक्षी नेपाली काँग्रेसले कुनै अडान लिन र दवाव दिन सकेको छैन । काँग्रेस कमजोर भएका कारण पनि सरकार निरङ्कुशतातर्फ अग्रसर हुँदै छ । यस्तो अवस्थामा अब नयाँ विकल्पको खोजी गर्र्नुपर्ने बेला आइसकेको छ ।

लेखक

उता नेपाली कांग्रेसले प्रारम्भ गरेकोे राष्ट्रिय जागरण अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम अर्थहीन भएर समापन भएको छ । पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म जानकारी गराउने, पार्टी एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने, कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धि सम्प्रेषण तथा सरकारका गलत कामबारे भण्डाफोर गर्नेलगायत उद्देश्य राखेर अभियान सञ्चालन गरिएको थिया े। तर जागरण अभियानको पहिलो चरण नसकिँदै जिल्ला पुगेका केन्द्रीय नेताहरूलाई आमकार्यकर्ताले एकै खालको सुझाव दिए– पार्टीमा गुट अन्त्य गर, कार्यकर्ता त आफैँ जागृत छन्, पहिला नेताहरू जागृत हुनुपर्यो ।

आगामी महाधिवेशनमा आफ्नो गुट बलियो बनाउने र पार्टी नेतृत्व तहमा रहेका नेतालाई लागेका आरोप र गुनासा छल्ने प्रयासमा जागरण अभियान केन्द्रित रह्यो । पार्टीलाई अलोकतान्त्रिक ढंगले हाँक्न खोज्ने प्रवृत्तिका कारण उक्त अभियानले सार्थकता पाउन सकेन ।
अभियान सफल नहुनाका प्रमुख कारण केन्द्रीय समितिमा घनीभूत ढंगले छलफल गरिएन । पार्टी विधानअनुसार संगठन निर्माणमा लागिएन । वडा, गाउँपालिका, नगरपालिका र प्रदेशमा पार्टी संरचना नहुनु र पार्टीको मेरुदण्डका रूपमा रहेको नेपाल विद्यार्थी संघ नेतृत्वविहीन हुनाका साथै तरुण दललगायतका भ्रातृ संस्थाहरूलाई खुट्टा बाँधेर दौडाउन खोजेकै कारण अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको हो । गाउँपालिका नेतृत्वविहीन छन्।् वडामा दुई÷तीनजना सभापति छन् । क्षेत्रीय सभापति पहिले २४० थिए । नयाँ विधानअनुसार १६५ बनाउनुपर्नेमा त्यसो पनि गरिएन । यसले नेतृत्वमा आपसी झगडा र मनमुटाव निम्त्यायो ।

सधैँ केन्द्र वरिपरि रहने नेताहरूलाई गाउँ तहसम्म जाने बाध्यकारी परिस्थिति जागरण अभियानले सिर्जना ग¥यो । कार्यकर्ताको भन्दा पनि नेतृत्व वर्गको जागरणका रूपमा यसलाई लिन सकिन्छ । विभिन्न जिल्लाका कार्यक्रम नियाल्दा परिणाममुखी नभएर औपचारिकता निर्वाह गर्ने शैलीमा गरेको देखियो । जागरण अभियानको लक्ष्यअनुसार सरकारका गलत क्रियाकलापविरुद्घ जनमत बढ्ने परिस्थिति निर्माण हुन सकेन । ‘नेताको होइन, पार्टीको कार्यकर्ता भएर बाँच्न देऊ’ भन्ने आमकार्यकर्ताको भावनामा नेतृत्व वर्गले उत्साह भर्न सकेनन् बरु आफ्नो गुटगत भेटघाटलाई प्राथमिकतामा राखे ।

जागरण अभियानमा नेतृत्व वर्गको कडा आलोचना हुने सुइँको पाएपछि कार्यकर्ताको मुख बन्द गर्नेगरी अनुशासनको हाउगुजी देखाएर सबै जिल्लामा परिपत्र जारी गरिएको थियो तर उक्त परिपत्रलाई स्थानीय कार्यकर्ताले लत्याइदिए । जागरण अभियानमा नेतृत्व वर्गको कार्यशैलीको आलोचना गर्न नपाइने आशयको परिपत्र जारी हुनु एउटा लोकतान्त्रिक पार्टीका लागि विडम्बना नै हो । जागरण अभियानका हरेक कार्यक्रममा एउटै अनुहार मात्र दोहोरिनु तथा युवा वर्गको उपस्थिति न्यून देखिनुले पार्टीको संगठन मजबुत बनाउन ठूलै कसरत गर्नुपर्ने देखिन्छ । सैद्धान्तिक हिसाबले पार्टीले अवलम्बन गरेकोे बाटो र आमकार्यकर्ताको भावना बाझिएको देखिन्छ । हिन्दुराज्यको अजेन्डा पार्टीले अवलम्बन गर्नुपर्छ भन्ने ठूलो पंक्तिका कार्यकर्ताको भावना नेतृत्व तहले सम्बोधन गर्न नसकेपछि उनीहरूमा निराशा पैदा भएको देखिन्छ । यसलाई गम्भीर रूपमा लिएर आफ्नो स्पष्ट नीति प्रशिक्षणमार्फत तल्लो तहसम्मका कार्यकर्तामाझ समयमै पु¥याउन नसक्ने हो भने नेपाली कांग्रेसका संगठनमा ठूलो संकट पैदा हुने निश्चित छ ।

पार्टीमा निष्ठा र आदर्श बोकेका अधिकतर कार्यकर्ता धनवादी, डनवादी र अवसरवादी कथित नेता, कार्यकर्ताको थिचोमिचोमा रहेको यथार्थ जागरण अभियानका दौरान देखियो । माओवादी द्वन्द्वकालमा आफ्नो र परिवारको ज्यान जोखिममा राखेर पार्टीको अस्तित्व बचाउन गाउँ तहमै बसेर काम गरेका कार्यकर्ताहरूको सही मूल्यांकन हुन सकेको छैन भन्ने गुनासा पनि कांग्रेसका पाका कार्यकर्ताहरूबाट सुनियो । जिल्लामा आमकार्यकर्ताले चुनावमा कांग्रेसले पराजय भोग्नुपर्नाका कारणबारे एकै खालको आवाज र आक्रोश नेताहरूसामु व्यक्त गरे– ‘टिकट वितरण केन्द्रले नगरेर स्थानीय तहलाई नै जिम्मा दिनुपथ्र्ये । कांग्रेसका उम्मेदवारहरूलाई अरूले होइन, कांग्रेसीले नै हराएका हुन् ।’
पार्टीले तोकेका आफ्नै उम्मेदवारलाई हराउन लाग्नु नितान्त गलत र अनुशासनहीन कार्य हो तर टिकट वितरण गर्दा कुनै प्रभावमा नपरी लोकप्रिय तथा पार्टीमा योगदान गरेका नेताहरू छनोट गर्नुपर्छ भन्ने स्थानीय कार्यकर्ताको आवाजलाई नेतृत्व वर्गले गम्भिरतापूर्वक लिन जरुरी छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एकीकरण भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि कार्यकर्तामाझ पूर्ण रूपमा भावनात्मक एकीकरण नभएको जस्तो महसुस जागरण अभियानका क्रममा उनीहरूले व्यक्त गरेका अभिव्यक्तिले पुष्टि गर्छन् । दुई तिहाइको आडमा सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्दै खबरदारी गर्नुपर्ने समयमा खुलेआम आफ्नै पार्टीका नेता र कार्यकर्ताको आलोचना गर्दै हिँड्ने प्रवृत्तिले पक्कै पनि कांग्रेसका संगठनलाई हित गर्दैन ।

पार्टी भनेको पार्टी सभापति मात्रै होइन । पार्टी भित्रका उच्च नैतिकता भएका, शिक्षित र अग्रगामी सोच भएका पुराना पुस्ताका र अग्रगामी सोच राख्ने नैतिकवान र सही नेतृत्व दिन सक्ने युवा पुस्ताका राम्रा व्यक्ति छानेर पार्टी संगठनमा यथोचित स्थान दिन सकियो भने कांग्रेस पार्टीले अग्रगति लिनसक्छ । कांग्रेस नेतृत्व वर्गले आफ्ना कमीकमजोरीहरू स्वीकार गरेर त्यागको संस्कृति अंगीकार गर्दै अगाडि बढ्ने हो भने आफ्नो ह्रास भएको अहिलेको छविमा सुधार आउन सक्छ ।

अतः सत्तारुढ नेकपालाई सत्ताको उन्माद लागेको र कांग्रेस नेतृत्वविहीन,नीतिविहीन अवस्थामा पुगेको यो बेला अब मुलुक बचाउन तेस्रो शक्ति अपरिहार्य भएको छ । यथास्थितिमा अब नेपालको स्वाभिमान रक्षा हुन सक्दैन ।