यसपालीको भाईटीका डेनिस बहिनीबाट

May 18, 2017

ङिमा पाख्रिन

२०७३ सालको तिहारले भर्खरै बिदा लिएको छ । उहिले बाल्यकालको सम्झनालाई साथैमा राखेर मैले पनि तिहारलाई विदा गरें । उहिले गाउँमा ५०–६० जत्था गाउँको पुछारदेखि शिरसम्म घरघरै देउसी खेल्दा स्वर सुक्थ्यो । रातभर देउसी खेलेर दिनभर गाईवस्तुको गोठालो हुनुपथ्र्यो । निद्राँलाई कुल्चेर रातभर जागा हुँँदै देउसी खेलिन्थ्यो । दिदीको हातको टीकाको छुट्टै मजा हुन्थ्यो । सयपत्री फुलको बासना अझै पनि ताजा भए झैं भान हुन्छ ।

तर, बसाईसराईसँगै मेरो तिहारको परिवेश पनि परिवर्तन हुँदै जान थाल्यो । गाउँबाट काठमाडौं आएपछि मादलको तालमा घन्किने देउसीभैलो गितार र क्यासेटको धुनमा हुन गए झै रेडियाबाट घन्किने देउसीका भाकाहरु टेलिभिजन सेटमा हेर्न थालियो । आफु गाउँमा हत्तपत्त पुग्न सकिनँ । दिदी काठमाडौं आउन सक्नु भएन । अतः दिदीको हातबाट लगाउने सयपत्री फुल बारीमा सुकेको खबर पाउँदा मन चसक्क घोच्दथ्यो । निधार खाली राख्नु हुन्न भनेर उहिले आमाले भन्नु भएको याद आइरहन्थ्यो । भावनाले बनाएको दिदीबहिनीको सम्बन्ध पनि रगतकाने नाता जतिकै पवित्र र बलियो हुन सक्दछ भन्ने आधारलाई मनमा राखेर अन्तरजातीय दिदीबहिनीको हाटबाट टीका र फुलमाला लगाउन सुरु भयो ।
मेरी जेठी दिदी म जन्मनु अगावै विवाह भएर दर्जिलिङ बसोवास गर्नु भएकोले जेठी दिदीको हातबाट भाईटीका ग्रहण गर्ने अवसर मैले कहिल्यै पाइनँ । कान्छी दिदीको हातबाट गाउँ बसुन्जेल टीका लगाइयो । जब तिहार आउँथ्यो, भाई गाउँ फर्केला कि भनेर दिदी गाउँमा आशामा बस्नुहुन्थ्यो । भाइहरु गाउँ नफर्के पछि दिदीले फोटोलाई भाईटीका लगाउँनु हुदोरहेछ । म भने सहरमा भावनात्मक तवरमा चेली माइती बनेको बीचमै तिहार मनाउँदै गएँ । यसैबीच विगत तीन वर्षभित्र मेरा दुइटै दिदीले हामीलाई सधैंको लागि छाडेर जानुभयो ।
म अझ टाढा प्रवासको बसाईमा आइसकेको थिएँ । फोनको सुविधा भएकोले दिदीसँग फोनसम्म कुरा हुन्थ्यो । कुनै एउटा तिहारमा गाउँ फर्केर दिदीको हातबाट फेरि भाईटीका लगाउने दिदीको इच्छा र मेरो आशा अब विलिन भइसकेको छ । तथापि तिहार मान्न छाडेको छैन । सयम परिवर्तनसँगै तिहारजस्ता चाडपर्वहरु सामाजिक सञ्जालहरुमा बढी देखिन थाले । कसको चाड अनि कसले मनाउने, कसले नमनाउने भन्ने सन्दर्भमा बहसहरु गर्न थालिएका छन् । मानिसहरु विभाजित हुन खोज्दै गएको महसुस हुन्छ । धार्मिक मान्यताहरु आ–आफ्नै ठाउँमा होलान् । तर सांस्कृतिक र सम्बन्धका हिसाबले चाडपर्वहरु सबै नै महत्वका लाग्दछन् मलाई । गत वर्ष त मैले भाईटीका लगाइनँ । दिदी वितेको आलो घाउ थियो । यो वर्ष पनि भाईटीका लगाउने खास मनमा उत्साह थिएन । भाईटीका लगाउन क्यालिफोर्नियाबाट बहिनी सुष्मा कँडेलबाट निम्ता पनि थियो, तर जान सकिनँ ।

तर डेनमार्कबाट बहिनी मेट्टे लफ्ट्अर भाईटीकाकै दिन तिहार मनाउन भनेर आइपुगिन् । उनीसँग मेरो भेट बीस वर्ष पहिले नेपालमा भएको थियो । उनी विश्वविद्यालयमा सांस्कृतिक इतिहास पढेछन् र नेपालको विभिन्न चाडपर्वबारे अध्ययन गरेछिन् । बीस वर्षसम्म बेलाबेला सम्पर्कमा रहँदा उनले मलाई दाई भन्थिन्, म बहिनी भन्थें । यसपालि उनले मलाई भाईटीका लगाएर त्यो आस्था र सम्बन्धलाई बलियो बनाउने जमर्को कसेकी थिइन् । म त खुसी हुने नै भयो । डेनमार्क छाड्नुअघि उनले मलाई एक्कासी खबर पठाईन्, ‘दाइ भाइटीकाको दिन म न्युयोर्क आइपुग्छु । फुर्सद भए र स्विकृत भए म भाईटीका लगाईदिन्छु है’ भनेर । म पनि एक किसिमले दंग भएँ । अनि हुन्छ भनेर खबर पठाएँ । साँच्चै उनी आइन् र मलाई टीका लगाइन् । मैले दिदीहरुले पठाउनुभएको प्रसादको रुपमा ग्रहण गरें ।

सम्बन्धित समाचार