खोलामा टिपरले किचेका दिलीपका परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

January 13, 2020

जनकपुर– धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खनन् गरेको विरोध गर्दा हत्या गरिएका दिलीप महतोको परिवारलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा मिथिला नगरपालिका-५ श्रीनगरका २४ वर्षीय महतोको गत शुक्रबार बिहान टिपरले कुल्चिएर हत्या गरिएको थियो ।

हत्या आरोपमा क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादव पक्राउ परेका छन् ।

चारै जनाविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले धनुषा जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ । हत्याका मुख्य योजनाकार भनिएका विपिन महतोको औरही खोलामा चुरियामाई बालुवा प्रशोधन छ ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले अभियुक्तहरूसित आइतबार बयान लिन सुरु भएकाले घटनामा अरू को–को संलग्न छन् भन्ने खुल्न समय लाग्ने बताए ।

 सरकारलाई आयोगको निर्देशन
 राष्ट्रिय मानवअधिकार आयोगले धनुषाका दिलीप महतोको हत्यामा संलग्नलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गरी यस्ता घटना दोहोरिन नदिन निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । आयोगले पनि उक्त घटनाको आफ्नो तवरबाट अनुसन्धान गर्ने भएको छ ।
यसैबीच राष्ट्रिय सभामा सत्ता र प्रतिपक्षका सांसदहरूले धनुषाका युवक दिलीप महतोको शुक्रबार बिहान टिपरले किचेर हत्या गर्नेहरूलाई कडा कारबाही गर्न माग गरेका छन् । उनीहरूले जथाभाबी सञ्चालित क्रसर उद्योगहरूलाई नियन्त्रण गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार