नेपालमा ११ महिनामै भित्रियो १० लाख विदेशी पर्यटक

December 20, 2018

काठमाडौं । सन् २०१८ को नोभेम्बरसम्म नेपालमा १० लाख विदेशी पर्यटक भित्रिएका छन् । यो नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आगमन भएको पर्यटन विभागले जनाएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ ।

सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन् भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

विवरणअनुसार नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत र चीनपछि अमेरिका तेस्रो स्थानमा परेको छ । यो अवधिमा अमेरिकाबाट ८२ हजार ५५५ पर्यटक आएका छन् । बेलायतबाट ५७ र जर्मनीबाट ३४ हजार पर्यटक आएका छन् ।

पर्यटक आवागमन वृद्धि अहिलेसम्मकै ऐतिहासिक भएको र यसले नेपाली पर्यटनमा थप उत्साह जगाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
‘पर्यटकको संख्या ऐतिहासिक रुपमा वृद्धि भएको छ, यसले सन् २०२० को नेपाल भ्रमण वर्षको लागि ढोका खोलिदिएको छ’, उनले भने, ‘पूर्वाधारमा प्रगति भएमा २० लाख पर्यटकको लक्ष्य भेट्न कुनै समस्या हुँदैन ।’

सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले नेपाल भ्रमण वर्षलाई सफल बनाउने तयारी गरिरहँदा पर्यटक आवागमनको उत्साहजनक वृद्धिले नेपाली पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

खुशीयालीमा काटियो केक

नेपालमा पर्यटक आगमन १० लाख नाघेको खुशीयालीमा केक काटिएको छ । मंसिर २८ गते संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा नेपाल पर्यटन बोर्डले केक काटेको हो ।

गत वर्षको ११ महिनामा नेपालमा ८ लाख ५७ हजार २सय ५२ जना पर्यटक आएका थिए ।

सम्बन्धित समाचार